|

सिन्धुपाल्चोक :  १२  वैशाख ०७२ को भूकम्पले क्षति पु‍र्‍याएको अस्पतालको भवन पुनर्निर्माण नहुँदा सिन्धुपाल्चोक जिल्ला अस्पताल भने अझै जस्तापाताकोे टहाराकै भरमा छ। अहिलेसम्म पनि अस्पताल पुनर्निर्माणको काम नहुँदा जस्ताको टहराकै भरमा जिल्ला अस्पताल सञ्चालन भइरहेको हो।

चिसोको कारण अहिले सिन्धुपाल्चोक जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ। बिरामी अस्पतालमा भर्ना भएर बस्दा झन् बिरामी भइने हो कि भन्ने त्रासमा छन्। जस्तापाताको चिसोमा बालबालिका, महिला, पुरुष र वृद्धवृद्धालाई त्यहाँ भर्ना लिइन्छ। एकै ठाउँमा राखेर उपचार गरिन्छ। 

भूकम्पले क्षति पु‍र्‍याएको साढे दुई वर्ष बितिसक्दासमेत अस्पताल टहरामै सञ्चालन गर्नुपर्ने बाध्यता छ। घामपानी, बर्खे भेलबाढी, हिउँदे जाडो र हावाहुरीसँगै स्वास्थ्यकर्मी उपचारमा लागिरहेका छन्। जाडोमा जस्तापाताको शीतले बिरामी भिझ्ने गरेको जिल्ला स्वास्थ्य का‍र्यालयका प्रमुख डा. सुरेन्द्र चौरसियाले बताए। अस्पतालका अनुसार उपचार गराउन दैनिक १ सय ४० को हाराहारीमा बिरामी आउँछन्। आकस्मिक सेवामा आउने ८/१० जना बिरामी गम्भीर प्रकृतिका हुन्छन्। दैनिक ६/८ बिरामी भर्ना हुन्छन् । ‘जटिल बिरामी तुरुन्तै रेफर गर्छौं। साँघुरो टेन्ट र टहराभित्र सबै सेवा उपलब्ध गराउन धेरै समस्या छ’,उनले भने।

ठाउँ अभावमा अस्पतालमा भएका सबै मेसिन उपकरण सञ्चालनमा छैनन्। दिसा, पिसाब, खकार, रगत परीक्षण र सामान्य एक्सरेसम्म हुन्छ। भूकम्पपछि ठूलो एक्सरे मेसिन थन्किएको छ। बिरामीको रोगको प्रकृति छुट्याएर छुट्टै उपचारको व्यवस्था छैन। सबै बिरामी एकै ठाउँमा राखेर उपचार गर्नु पर्दा संक्रमण हुनबाट जोगाउन हम्मे-हम्मे परेको डा. चौरसियाले बताए। अस्पताल चलाउन विश्व स्वास्थ्य संगठनले टेन्ट उपलब्ध गराएको थियो। भूकम्पबाट जोगिएका भवनबाट अस्पतालले परिवार नियोजन, खोप, मातृशिशु, अल्ट्रा साउन्ड र ल्याव सेवा उपलब्ध राउँदै आएको छ। ती संरचना सामान्य मर्मत गर्नुपर्ने अवस्थाका भए पनि गरिएको छैन।

भूकम्पले क्षतिग्रस्त जिल्ला अस्पताल भवन बनाउन चीन सरकारले चासो दिएको छ। चीनबाट आएको प्राविधिकको टोली केही महिनाअघि मात्र क्षतिग्रस्त भवन र नयाँ बन्ने संरचनाको प्रारम्भिक अध्ययन गरेर फर्केको छ। क्षतिग्रस्त भवन भत्काएर नयाँ बनाइदिन चीन सरकारले चासो दिएको अस्पतालका प्रमुख डा. चौरसियाले बताए। ‘अस्पताल जस्तो संवेदनशील निकाय भएकाले प्राविधिक टोलीले क्षतिग्रस्त भवन मर्मतको सट्टा भत्काउनै सुझाव दिएको थियो’,उनले भने।

उनका अनुसार प्राविधिक टोलीले चीन सरकारलाई प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाएपछि भवन डिजाइन र सम्झौता प्रक्रिया अघि बढ्ने बताएको भएपनि अहिलेसम्म प्रक्रियानै सुरू हुन सकेको छैन। २०६३ वैशाख १० गते तत्कालीन बिद्रोही समूह माओवादीले सदरमुकाम चौतारा आक्रमण गर्दा जिल्ला अस्पताल ध्वस्त भएको थियो। आक्रमणपछि अस्पतालले खुला चौरमा लामो समय बिरामीलाई उपचार सेवा दिएको थियो।

शान्ति प्रक्रियापछि निर्माण थालिएको अत्याधुनिक अस्पताल भवनले चार वर्षअघि मात्र पूर्णता पाएको थियो। करोडौं रूपैयाँ खर्चेर निर्माण गरिएको भवन हस्तान्तरण गरिएको दुई वर्ष नबित्दै भूकम्पले नराम्ररी क्षति पु‍र्‍यायो । तीन वटा भवनमध्ये पहिलो दबिएको छ। अहिलेसम्म सो भवनको मर्मतसमेत गरिएको छैन । दोस्रो र तेस्रो भवनको पाँचवटाभन्दा बढी पिलरमा क्षति पुगेको छ भने सबै भवनको गाह्रो चर्किएको छ। जीर्ण भवनकै वरिपरि टेन्ट र जस्तापातमा अस्पताल सञ्चालित छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.