|

इलाम : रोगको संक्रमणले सुन्तलाबारी सखाप हुन थाले पनि इलाममा सुन्तला खेती गर्ने किसानहरुको संख्यामा कमी आउन सकेको छैन। गत बर्ष ३४० हेक्टरमा गरिएको सुन्तला खेती यस बर्ष बढेर ३५० हेक्टर पुगेको छ।

सुन्तला खेतीको क्षेत्रफल बढेसँगै उत्पादन समेत बढ्न थालेको छ। यस बर्ष ३५० हेक्टर क्षेत्रफलमा गरीएको खेतीबाट ३ हजार ६ सय २९ मेट्रिक टन सुन्तला उत्पादन भएको छ। जुन गत आवको तुलनामा भन्दा तीन प्रतिशत अर्थात एकसय ६ मेट्रिक टनले बढी हुन आउछ।

गत आवमा तीनसय ४० हेक्टरमा गरिएको सुन्तला खेतीबाट जिल्लामा ३ हजार पाँचसय २३ मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय इलामको तथ्यांकमा उल्लेख छ। सुन्तलाको पकेट क्षेत्र मानिएको जिल्लाका सुम्बेक, नामसालिङ, जिर्मले, सोयाङ, बरबोटमा सुन्तलाको व्यावसायिक खेती हुँदै आएको छ।

यस्तै, सोयाक, गोदक, इलाम नगरपालिका, पशुपतिनगर, कन्याम र लक्ष्मिपुरमा भने सुन्तलाको उत्पादन विगतका बर्षहरुमा जस्तो नभएको कार्यालयका योजना तथा सूचना अधिकारी प्रकाशमणि काफ्लेले बताए।

सुन्तलामा ग्रिनिङ सिट्स जस्ता भाइरल रोगहरु देखा परेपछि जिल्लाका धेरै गाउँका सुन्तलाका बगानहरु सखाप भइरहेका छन्। रोग नियन्त्रणका निम्ति कृषिका प्राबिधिकहरुले फेरेमेन ट्रयाप जस्ता बिषादी प्रयोग गर्न भनेपनि यसबाट रोग नियन्त्रण नभएको कृषकको भनाइ छ।

निर्यातबाट १२ करोड भित्रियो

कृषिको तथ्यांकअनुसार यो वर्ष जिल्लाबाट उत्पादन भएको सुन्तलामध्ये १ हजार ९ सय ९५ मेट्रिक टन निकासी भएको छ। निकासी गरिएको सुन्तला प्रतिकेजी सरदर ६० रुपैयाँका दरले विक्री भएको छ। जसबाट जिल्लामा १२ करोड रुपैयाँ भित्रिएको छ।

यो गत आवको भन्दा डेढ करोड रुपैयाँ बढी हो। गत आवमा एकहजार ७ सय ६१ मेट्रिक टन निकासी भएकोमा १० करोड ५६ लाख रुपैयाँ इलामे कृषकहरुले हात पारेका थिए।

जिल्लामा उत्पादन भएको सुन्तला पहाडी जिल्लाहरुका साथै झापा, मोरङ तथा भारतका विभिन्न सहरहरुमा निकासी हुँदै आएको छ। सुन्तला टिप्ने सिजनबाटै तराईका ब्यपारीहरु इलामे कृषकको बगान–बगान पुग्ने गरेकाले सुन्तला खेती गर्दै आएका कृषकलाई बजारको भने समस्या भने नभएको इलाम नगरपालिका ५ बरबोटे तोरीबारीका कृषक राजु घिमिरेले बताए। तर, मूल्य भने सोचेजस्तो नपाएको उनको गुनासो छ।

नाम्सालिङबाट  मात्रै ३ करोड बढीको निर्यात

सुन्तला व्यापारबाट मात्रै इलाममा हरेक वर्ष करोडौं रुपैयाँ भित्रिरहेको अवस्थामा माइजोगमाई गाउँपालिका वडा नम्बर ३ र ४ स्थित नामसालिङबाट मात्र यो वर्ष करिब तीन करोड रुपैंयाँ बराबरको सुन्तला झापा र मोरङ्गका बिभिन्न बजारमा निकासि भएको स्थानीय व्यापारीहरुले बताएका छन्।

तर, केही वर्षयता सुन्तला खेतीमा रोगको सङक्रमण देखा परेपछि पछिल्लो बर्षहरुमा सुन्तलाका बगानहरु मासिने क्रम पनि बढ्दै गएको छ। जसबाट कृषकहरु चिन्तित बन्दै गइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.