|

दमक (झापा): साउन अन्तिम साता आएको हावाहुरीका कारण ढलेका रतुवामाई वृक्षारोपण आयोजना क्षेत्रका सयौँ रूखसमेत अझै त्यसै छन्।

आयोजनाले रूख व्यवस्थापन गर्न नसक्दा कतिपय त्यसै सड्न लागेका छन् भने कतिपयका हाँगाबिँगा स्थानीयले लगिसकेका छन्। उक्त हावाहुरीका कारण एक हजार ८०० भन्दा बढी रूख ढलेका र ती हटाउनुपर्ने अवस्था रहेको आयोजना प्रमुख खेमलाल विश्वकर्माले जानकारी दिए। रूख निकाल्न ढिलाइ हुँदा कतिपय त ढलेकै अवस्थामा कटान गरी चोरिनसमेत थालेका छन्। 

हावाहुरीका कारण आयोजना क्षेत्रभित्रका एक हजार ८०२ वटा रूख ढलेका र ती हटाएर बिक्री गरिने जनाइएको छ। ती रूखको बिक्री मूल्य भने बिक्री गर्दा निर्धारण गरिने प्रमुख विश्वकर्माले बताए। दुई हजार ७५३ हेक्टरमा फैलिएको आयोजनाको वन क्षेत्रमा अधिकांश मसलाका रूखहरू रहेका छन्। 

केही मात्रामा सालका रूख रहेको र तीसमेत हावाहुरीले ढालेकाले निकाल्नुपर्ने अवस्था रहेको उनले बताए। हावाहुरीले करिव ५०० वटा सालका रूखसमेत ढालेकाले तिनलाई संकलन गरी बिक्री गर्ने गर्ने तयारी रहेको उनले बताए। 

आदेश लिनै ४ महिना
हावाहुरीले ढालेका रूख निकाल्न र बिक्री गर्न आदेश लिने प्रक्रिया नै लामो रहेका कारण ढिलाइ भएको आयोजना प्रमुख विश्वकर्माले जानकारी दिए। 

तथ्यांक संकलन, क्षेत्रीय वन निर्देशनालयमा पत्राचार र अनुगमन र त्यसपछि वन विभागमा पत्राचार गर्नुपर्ने लामो प्रक्रियाका कारण ढलेका रूख निकाल्न ढिलाइ भएको उनले बताए। ढालिएका रूख संकलन र कटानका लागि पाँच महिनापछि कटान आदेश आएको रतुवामाई वृक्षारोपण आयोजनाले जनाएको छ। 

लामो कार्यालयीय र कागजी प्रक्रिया पूरा गर्न पाँच महिना लागेको कार्यालय प्रमुख विश्वकर्माले जनाएका छन्। भर्खरै मात्र कटान आदेश प्राप्त भएकाले अब तुरुन्तै ढलेका रूख संकलन थालिने उनले बताए। त्यसपछि कार्यालयले नै आफ्नै निगरानीमा ती रूखहरू बिक्री गर्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.