पुल जोड्ने सडक भने अलपत्र

|

भद्रपुर (झापा) : दक्षिणी झापाबासीको सात दशकदेखिको संघर्ष र दबाबपछि निर्माण कार्य सुरु भएको बहुप्रतीक्षित मेची पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। भारतीय सीमावर्ती नाका जोड्ने झापाको भद्रपुरस्थित मेची नदीमा निर्माणाधीन मेची पुल यही २०७४ माघभित्र तयार भइसक्ने निर्माण कम्पनीले जनाएको छ।

नेपालमै पहिलो पटक बन्न लागेको यस मेची पुलमा ‘पाएर स्ट्रेस पोस्ट टेन्सन्ड’ प्रविधियुक्त सामग्री जडान गरिएको छ। तत्कालीन उपप्रधानमन्त्री एवं भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले २०६६ माघ २१ गते मेची पुलको शिलान्यास गर्दै तीन वर्षभित्र पुल निर्माण हुने दाबी गरेका थिए। पुल बल्ल ९ वर्षमा पूरा हुन लागेको छ। भारतको बंगाल तथा बिहार राज्यसँग जोडिने यो पुलको  लागत करिब ३३ करोड छ। पुलको लम्बाइ ५ सय ६० मिटर र चौडाइ ११ मिटर छ।

के हुँदैछ  निर्माण कार्य ?
लगभग ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेकोले अब दुई महिनामा पुल तयार हुने छ। एक वर्षअघि नै १७ पिलरमध्ये १५ वटा पिलरसहित पुलमाथिको ढलान भइसकेको छ। निर्माणाधीन अवस्थामा पुलको १० र ११ नम्बरको पिलर माटोमुनि गाड्ने क्रममा बाङ्गिएको थियो। सो पिलरमा अहिले धमाधम काम भइरहेको अनक एण्ड सूर्य कन्ट्रक्सनका इन्जिनियर सुरेन्द्र खतिवडाले बताए।

इन्जिनियर खतिवडाले भने, ‘दुई वटा पिलर उठाउने काम सम्पन्न भइसकेको छ, ‘अहिले पिल माथि तयारी अवस्थामा रहेको 'गडर क्रेन'को सहयोगमा चढाउने काम हुदैछ।’ ‘११ वटा गडर चढाइसकेका छौँ। अब एउटा गडर उठाउन बाँकी छ, उनले भने, ‘चढाएको गडर माथि रड बुन्ने काम तीव्र पारेका छौँ। केही दिनभित्र त्यसमाथि ढलान गर्छौँ।’ १०५ मिटर मात्र निर्माण कार्य बाँकी रहेकाले यही माघभित्र पुलको काम सम्पन्न भइसक्ने उनको दाबी छ।

किन भयो निर्माण कार्यमा ढिलाइ
मेची नदीमा पानीको सतह बढदा बर्खाको चार महिना पुल निर्माण कार्य ठप्प नै बन्छ। हिउँदको आठ महिना मात्र निर्माण कार्यले तिव्रता पाउँदै आएको छ। त्यसमाथि निर्माणाधीन अवस्थामै पिलर नम्बर १० र ११ माटोमा धसाउने क्रममा २५ सीएम (टिल) बाङ्गिएको थियो। माटो परीक्षणको गलत रिपोर्टका कारण यस्तो भएको निर्माण कम्पनीले जनाएको छ।

पिलर बाङ्गिएपछि गत २०७२ फागुनमा सडक विभाग र हुलाकी राजमार्ग आयोजनाका इन्जिनियर सहितको टोलीले बाङ्गिएको पिलरलाई रि–डिजाइन बनाउन स्थलगत अनुगमन गरेर गएका थिए। विभागका इन्जिनियरले स्थगलत अनुगमन गरेर गए पनि लामो समय सम्म आधिकारिक पत्र कम्पनीलाई प्राप्त भएन। स्थानीय र राजनीतिक दलको चर्को दबाबपछि सडक विभागले २०७४ साल वैशाख २९ गते 'रि डिजाइन'को आधिकारlक पत्र कम्पनीलाई पठाए।

पत्र पठाएको केही दिनमै निर्माण कार्यले तीव्रता लिएको कन्ट्रक्सनका इन्जिनियर खतिवडाले बताए। उनले भने, ‘आधिकारिक पत्र समयमा प्राप्त भएको भए अहिले काम एक वर्षअघि नै सकिन्थ्यो।’

पुल जोड्ने सडक निर्माणमा ढिलासुस्ती 
मेची पुलको निर्माण कार्य माघभित्र सम्पन्न भए पनि पुल जोड्ने सडक निर्माण कार्यमा ढिलासुस्ती भइरहेको छ। पुलको पूर्व पट्टि अर्थात भारतीय भूमि (१०३ नम्बर सीमा पिलरसँग) जोड्ने सय मिटर सडक र पश्चिमपट्टि १ सय ८० मिटर लम्बाइ र ३० मिटर चौडाइ भएको सडकको निर्माण पुल कम्पनीले निर्माण गर्नुपर्ने हुन्छ।

पूर्वपट्टि भारतको बंगाल तथा बिहार राज्य पर्ने भएकोले सो सडकलाई बिहार सरकारले जोडेर विस्तार गर्ने योजना अघि बढिसकेको छ। बिहार सरकारले सो सडक जोड्नलाई सडकको अनुगमन गरेर ३६० मिटर सडक निर्माणका लागि टेण्डर प्रक्रियामा गइसकेको बुझिएको छ। तर, नेपालको भद्रपुर जोड्ने सडक निर्माण गर्न स्थानमा बसोबास गर्दै आएका नगरबासी र सरकारी भौतिक संरचना अहिलेसम्म खाली गराइएको छैन।

जमिन खाली गराउन ८ करोड रकमको आवश्यक देखिएको छ। भौतिक संरचना हटाउन जमिनको लागि साढे पाँच करोड र घरको मूल्याकंन गर्दा करिब साढे २ करोड रुपैयाँ आवश्यक रहेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनियर उपेन्द्र दासले बताए। उनका अनुसार सडकमा पर्ने २२ घरपरिवारलाई चार करोड वितरण गरिएको छ। जमिनको साढे एक करोड र भवनको गरी अझै साढे तीन करोड रुपैयाँ आवश्यक देखिएको छ।

हिउँदमा बाँसे पुल र बर्खामा डुङ्गाको प्रयोग 
पूर्वी काकँडभिट्टा नाकापछि झापाको दोस्रो नाकामा भद्रपुरमा पर्छ। बिहार तथा बंगालसहित बंगलादेश जान समेत यस नाकाबाट दूरी छोटो पर्ने भएकोले यस नाकाको छुट्टै विशेषता छ। यस नाकामा पर्ने मेची नदीमा पक्की पुल बनाउनु पर्ने भन्दै सात दशकदेखि यहाँका जनताले माग उठाउँदै आएको थियो। बल्ल जनताको सपना पूरा हुन लागेको छ।

बर्खाको चार महिना नेपाल तथा भारत दुवै देशका नागरिक आफ्नो ज्यानको जोखिम मोल्दै डुङ्गाको प्रयोग गरेर आवतजावत गर्न बाध्य छन्। बर्खा सकिनासाथ मेची नदीमा अस्थायी बाँसे पुल बनाएर सर्वसाधारण आवतजावत गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.