|

कपिलवस्तु : विश्व सीमसार क्षेत्रमा सूचीकृत कपिलवस्तुको जगदिशपुर तालमा विदेशबाट आउने चराको संख्या वृद्धि भएको छ। जाडो मौसम सुरु भएसंगै यहाँ पाहुना चराहरु आउन सुरु गरेका हुन्। यस तालमा साइबेरिया तथा अन्य मुलुकबाट समेत चराहरु आउने गर्छन्। जाडो छल्न र बच्चा कोरल्नका लागि विदेशी चराहरु आउने गरेको चराविद्हरु बताउँछन्।

तराईतिर चिसो शुरु हुन साथ विभिन्न देशबाट पाहुना चराहरु तालमा आउने गर्छन्। चराचुरुङ्गीहरु असोजदेखि फागुनसम्म यहाँ बसेर फर्किन्छन्। साँझ र बिहानको समयमा आगन्तुक चरा बथानका बथान आउने गरेको स्थानीय रामलाल शर्माले बताए। 

साइबेरिया, रुस, चीन, मंगोलिया, मध्य एशियाका तुर्केमिस्तिान र किर्गिस्तान लगायतका देशहरुबाट तालमा चराहरु आउने गरेको नेपाल पंक्षी संरक्षण संघले जनाएको छ। ती देशहरुमा बढी जाडो हुने भएकाले चराचुरुङ्गी जाडो छल्न नेपालको तराई तिर आउने गरेको संघको भनाइ छ। जाडोका बेला सो क्षेत्रमा हिमपात हुने र आहारा नपाइने हुँदा पनि चराहरु यहॉ आउने गरेको चराविद डा. हेमसागर बराल बताउँछन्। चराहरु ७ देखि १० दिन लगाएर यहाँ आइपुग्ने गरेका छन्। करिब ४ देखि ५ हजार माइल उडेर चराहरु यहाँ आउने वरिष्ठ चराविद् डा. बरालले जानकारी दिए।

सदरमुकाम तौलिहवादेखि करीब ११ किमी उत्तर कपिलवस्तु नगरपालिका वडा नम्बर ११ मा पर्ने जगदिशपुर तालमा वार्षिक ५० हजार बढी चराचुरुङ्गीहरु आउने स्थानीय अनन्ता न्यौपानेको भनाइ छ।

तालमा सिमसारमा आश्रित ६१ प्रजातिका र अन्य ५७ प्रजातिका चराचुरुङ्गीहरु पाइन्छन्। त्यस्तै विश्वमै दुर्लभ मानिएका ७ प्रजातिका चराहरु पाइने नेपाल पंक्षी संरक्षण संघले जनाएको छ। तालमा पेकिङ डग, निल टाउके, माल्टाज, फिस्टा, खट्खटे र विभिन्न जातिका पानी हाँस प्रशस्त देखिन्छन्। त्यस्तै तालमा सारस, सुनजुरे, भुँडीफोर, ध्यानी, बकुल्ला र सेतो गरुड लगायतका चराहरु पनि देखिन्छन्।

एक सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको ताल कृत्रिम रुपमा बनाइएको नेपालकै ठूलो ताल हो। यो ताल सन् २००३ मा अन्तर्राष्ट्रिय सिमसार क्षेत्रमा सूचीकृत भएको थियो। नेपालमा सबैभन्दा बढी संख्यामा चरा पाइने स्थान संखुवासभा जिल्लामा पर्ने अरुण उपत्यका पछि यस जगदिशपुर तालमा चराको संख्या रहेको चराविदहरु बताउँछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.