|

काठमाडौं : दाँतलाई स्वास्थ्य र सुन्दरता दुवैको लागि महत्वपूर्ण अङ्गको रुपमा लिने गरिन्छ। स्वास्थ्यको दृष्टिकोणबाट हेर्दा हामीले खाएको खानेकुरा चपाउने र त्यसलाई पाचन प्रणालीसम्म पुर्‍याएर पचाउन सहयोग गर्ने काम दाँतले गर्छ। 

दाँत सौन्दर्यको दृष्टिकोणले पनि महत्वपूर्ण छ। मानव शरीरको प्रमुख भाग अनुहारको सौन्दर्यता बढाउन दाँतको महत्वपूर्ण भूमिका हुन्छ। तर दाँतको स्वास्थ्यमा ध्यान दिन नसक्दा पछिल्लो समयमा कम उमेरमै दाँतमा समस्या देखिने गरेको पाइएको छ। गर्मी मौसममा दाँतको समस्या धेरै देखिने भए पनि जाडो मौसममा केही गम्भीर खालको समस्या देखिने चिकित्सकहरु बताउँछन्। चिसो मौसममा शरीरमा देखिने अन्य संक्रमणको असर दाँतमा पनि पर्छ। 

जाडो मौसममा धेरै मानिसमा दाँत सिरिङ-सिरिङ हुने, गिजा सुन्निएर दाँत दुख्ने समस्या देखिन्छ। किराले खाएर, ब्रस गर्ने तरिका नमिलेर, दाँत माझ्ने मन्जनमा खराबी देखिएर र ग्याष्ट्रिकको समस्या हुँदा मुखमा आउने अम्लीय पानीको कारण दाँतको बाहिरी तहको इनामेल हराउँछ। धेरै चिसो पानी, चिसा खानेकुरा खाँदा पनि दाँतको इनामेल नष्ट भएर दाँत सिरिङ-सिरिङ हुने गर्छ।

कतिपयमा ग्याष्ट्रिकका कारण मुखमा अम्लीय पानी आएर दाँतको इनामेल नष्ट गरिरहेको हुन्छ भने धेरै कोल्ड ड्रिङ्स (चिसो पेय पदार्थ) खाँदा पनि दाँत खिइरहेको हुन्छ। यस्तो बेलामा दाँतमा चिसो पानी वा धेरै गुलियो खाने कुरा पर्‍यो भने सिरिङ-सिरिङ हुने गर्छ।

जाडो मौसममा दाँतमा देखिने यी प्रमुख समस्याबाहेक गिजा सुन्निने, गिजाबाट रगत आउने र दाँतको जरा दुख्ने जस्ता समस्या पनि चिसो मौसममा देखिने गर्छ। जाडोमा धेरै कफी र चिया खाइने हुनाले यसको असर पनि दाँतमा पर्छ। कफी र चिया धेरै खानेहरुमा दाँत कालो हुँदै जाने समस्या देखिन्छ।  

समाधान के?

चिसो मौसममा दाँतलाई जोगाउने सबै भन्दा राम्रो उपाय भनेको यस मौसममा चिसो र अमिलो खाने कुरा नखाने, राम्रोसँग दात माझ्ने नै हो। दात माझ्ने मन्जनमा डिसेन्टिटाइजिङ टुथपेस्टको प्रयोग गर्नुपर्छ। यसले दाँत सिरिङ सिरिङ भएको बेलामा औषधीको काम गर्छ। डिसेन्टिटाइजिङ टुथपेस्ट दाँतमा लेपन गरिदिँदा पनि दाँत सिरिङ सिरिङ हुनबाट बचाउँछ। तर यो स्थायी समाधान भने होइन, स्थायी समाधानको लागि भने दन्त चिकित्सकसँग परामर्श गर्नुपर्छ। 

यस्तै चिसो समयमा धेरैले दाँतको सरसफाइमा ध्यान नदिँदा पनि दाँतमा गम्भीर खालका समस्या देखिने गर्छ। त्यसैले दिनहुँ केही खानेकुरा खाएपछि मनतातो पानीले मुख कुल्ला गर्नुपर्छ। 

चिया र कफी कम खानु राम्रो

जाडो मौसममा धेरैको बानी चिया र कफी धेरै खाने हुन्छ। चिया र कफी धेरै खाँदा दाँतमा दाग बस्ने गर्छ। दाँत कालो हुनुको मुख्य कारणमा धेरै कफी र चिया खानु पनि हो। त्यसैले कफी र चिया खाइसके पछि दाँत माझ्ने गर्नुपर्छ। दाँतमा गम्भीर खालको समस्या र धेरै दाँत नदुखेसम्म दाँतको स्वास्थ्यमा त्यति ध्यान दिइएको पाइदैन। सकेसम्म प्रत्येक ६/६ महिनामा दाँत परीक्षण गर्ने बानी बसाल्नुपर्छ। जसले गर्दा दाँतमा देखिने तत्कालीन र दीर्घकालीन समस्याबाट बच्न सकिन्छ।

वीर अस्पतालमा कार्यरत दन्तरोग विशेषज्ञ डा. प्रकाश बुढाथोकीसंग कुराकानीमा आधारित

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.