|

काठमाडौं : ‘वारी जमुना पारी जमुना…’ लगायत चर्चित गीतका गायक खेमराज गुरुङको भदौ ९ गते बिहीबार निधन भयो। ४३ वर्षकै उमेरमा भौतिक संसारबाट बिदा भएका यी श्रष्टाको अन्तिम श्रद्धाञ्जली सभामा उपस्थित कला साहित्य क्षेत्रका व्यक्तित्वहरु खेमराजको मृत्यु ‘पत्याउनै गाह्रो भएको' अनुभव सुनाउँदै थिए।

तर वास्तविकता त्यही थियो, नेपालले एक कुशल सर्जक गुमाएको थियो।

जीवनमा उनको एउटै कमजोरी रह्‍यो- रक्सी।

उनलाई साथीसंगति भेट भएपछि रक्सी खानैपर्ने हुन्थ्यो। कार्यक्रममा पनि पिएरै जानुपर्ने। पिउने बानीले कतिपय कार्यक्रम निर्धारित समयभन्दा ढिलो सुरु हुन्थे।

खेमराजलाई केही समय पहिले ओम अस्पताल लगिएको थियो। 'रक्सी छुँदै नछुनु’, डाक्टरको सुझाव थियो।

रक्सी नखाँदा उनको जिउ काप्थ्यो, उनलाई रिंगाटा लाग्थ्यो।

पिउने बानीले उनको स्वास्थ्य नराम्ररी बिग्रियो। यतिसम्म कि उनी औषधिसँग पनि रक्सी नै खाइदिन्थे।

सुरुमा खेमले रक्सीलाई जिते, पछि रक्सीले बदला लियो। रक्सीले उनलाई जित्यो।

बुबाको मृत्यु, परिवारबेगरको बसाई र एक्लोपना। पीडा भुलाउने नाममा रक्सी सेवन। गीतसंगीतबाहेक खेमराजको जीवन यस्तै थियो। खेमराजको पिउने बानीबारे उनका बालसखा समेत रहेका गायक कमलीकान्त भेटवालले थाहाखबरसँग विस्तृत कुराकानी गरेका छन्।

नेपाली सांगीतिक क्षेत्रमा रक्सीको लतले अल्पायुमै लगेका सर्जक खेमराज गुरुङ एक उदाहरणमात्र हुन्। खोज्दै जाने हो भने नारायणगोपाल, अरुण थापा, झलकमान गन्धर्व लगायत कयौँ अब्बल गायक, संगीतकार र लेखक रक्सीको लतमा परेको भेटिन्छ।

ती कलाकारबारे उनीहरुका समकालीनहरु कहानी जस्ता लाग्ने घटना सुनाउँछन् भलै गायक, संगीतकार र लेखकका रुपमा समाजमा स्थापित उनीहरुको जीवनको त्यो अध्याँरो पाटोबारे उनीहरु मिडियामा खुल्न चाहँदैनन्। नेपालका चर्चित १० गायक/संगीतकार/लेखकको जीवनको अध्याँरो पाटो थाहाखबरले खोज्ने प्रयास गरेको छ।

नारायणगोपाल, ५१ वर्ष

मन्दिरमा बसेर पिएँ, मशानमा लडेर पिएँ (२)

नाचेर पिएँ, हाँसेर पिएँ (२)

एकान्तमा कहिलेकाहीँ रुदैँ पिएँ

आजभोलि हरेक रात रक्सिन थालेछ

जिन्दगीदेखि जिन्दगी आत्तिन थालेछ.....

नारायणगोपालले गाएका सयौं कालजयी गीत मध्ये यो एउटा चर्चित गीत हो। भीम विरागले लेखको यो गीतजस्तै थियो नारायणगोपालको जीवन। नेपाली सांगीतिक क्षेत्रमा 'स्वरसम्राट' उपाधि पाएका नारायणगोपाललाई पिउने बनाएको थियो पारिवारिक तनावले। दार्जिलिङकी पेमलासँग उनको विवाह भए पनि त्यो विवाहलाई परिवारले स्विकारेन। नारायणगोपाल आफ्नो परिवारलाई अति माया गर्थे तर परिवारले आफ्नो विवाह अस्वीकार गरेपछि उनी चिन्तित थिए।  

पेमलालाई लिएर पोखरा पुगेका नारायणगोपालले परिवारले दिएको पीडा भुल्न साथीसंगतिको साथमा लागेर रक्सीको साथ लिएको नारायणगोपालका समकालीन गीतकार कालीप्रसाद रिजालले एक अन्तर्वार्तामा बताएका छन्। रिजालका अनुसार नारायणगोपाल आर्थिक अभावले गर्नुपरेको संघर्षले पनि 'फ्रस्ट्रेड' थिए।

नारायणगोपाललाई 'स्वाभिमानी गायक' मान्ने नाटककार अशेष मल्ल त्यसबेलाका लेखक साहित्यकार र कलाकारहरु रक्सीप्रेमी भएको बताउँछन्। 'त्यतिबेलाका धेरै कवि कलाकार रक्सीप्रिय हुनुहुन्थ्यो। कवि कलाकार भनेपछि रक्सी खानैपर्ने', नारायणगोपालका समकालीन समेत रहेका अशेष भन्छन्, 'सडकमा पल्टिने गरि जहाँपायो त्यहाँ खानुहुन्नथ्यो।'

नारायणगोपालले गाएका धेरै गीत लेखेका यादव खरेल भन्छन्, 'उहाँ पिउनमा खुबै शौखिन हुनुहुन्थ्यो।'

नारायणगोपालको निधन मधुमेहका कारण भएको थियो। तर उनलाई नजिकबाट चिन्ने एक गायक 'रक्सी पिउने बानीले मधुमेहलाई थप बल पुगेको' बताउँन्। 'उहाँलाई मधुमेह थियो तर उहाँ औषधि खानुहुन्नथ्यो', उनी भन्छन्, 'रक्सी चाहिँ पिइरहने। जसले मधुमेह झन् बिग्रियो। मधुमेह भएका बेला रक्सी पिइदिँदा मृत्युको कारण बन्यो।'

नारायण गोपालको २०४९ सालमा ५१ वर्षको उमेरमा निधन भएको थियो।

अरुण थापा, ४७ वर्ष

चोट के हो व्यथा के हो (२)

मजस्तो घाइतेलाई सोध

मिलन के हो खुसी के हो (२)

मसँग कहिल्यै सोध्दै नसोध....

गीतमा भनिएजस्तै अरुणको पनि जीवन चोटै चोटले भरिएको थियो। अरुणका समकालीन एक गायकका अनुसार अरुण रक्सी र धुम्रपानबाटमात्र नपुगेर ड्रग्स समेत लिने गर्थे।

२० वर्षसम्म गायक थापासँग संगत गरेका राजु थापालाई दीपक सापकोटाले उद्‍धृत गरेका छन्- 'अरुणदाइ ड्रग्स खान नपाएर छट्पटिएको बेला कसैले १५/२० रुपैयाँ दियो भने पनि गीत गाइदिनुहुन्थ्यो। पाएको पैसा रक्सी, ट्याब्लेट, हेरोइनमा सक्नुहुन्थ्यो।’ 

आफन्तको सहमतिबिना २०३४ सालमा अरुणले पोखराकी विमला पालिखेसँग विवाह गरे। तर पछि विमलाको परिवारले उनीहरुलाई जबर्जस्ती विछोड गराइदिए। त्यतिमात्र होइन, विमलाको परिवारले उनको अन्तै विहे गराइदियो। पछि अरुणको मुनासँग दोस्रो विवाह भयो तर सम्बन्ध दिगो हुन सकेन। मुनाले अन्तै विहे गरिन्।

एकपछि अर्को विछोडको पीडा सहन नसकेर अरुणले पुनः लागूपदार्थको सेवन गर्न थाले। ४५ सालमा लागूपदार्थको दुर्व्यसनीको अभियोगमा १५/१६ महिना जेल जीवन बताएका अरुण जेलबाट छुटेपछि गायनमा फर्किए। तर उनको एउटै सहारा फेरि पनि लागूपदार्थ नै बन्यो। अत्यधिक लागूपदार्थको सेवनले कलेजोमा हेपाटाइटिस बिको संक्रमण हुनपुग्यो। प्रेम, विवाह र बिछोडको चोटले विछिप्त बनेका अरुण हेपाटाइटिस बिबाट थलिएपछि आफ्ना मित्र अमृत गुरुङ, ईश्वर गुरुङ र बहिनी मीना थापाको सहयोगमा लगभग ५/६ वर्ष कष्टपूर्ण जीवन बिताए। अन्ततः बागबजारस्थित कान्तिपुर गेस्ट हाउसमा ५६ साउन ५ गते नेपालको एउटा सांगीतिक नक्षत्र अस्तायो। विस्तृत पढ्नुस्: मुटु रेटेर गीत गाउने अरुणका कहिल्यै नभुलिने चोटहरु

हरिभक्त कटुवाल, ४५ वर्ष

पोखिएर घामको झुल्का भरी संघारैमा

तिम्रो जिन्दगीको दुःख खोलुँखोलुँ लाग्छ

सयपत्री फूलसित फक्री आँगनीमा

बतासको भाका टिपी बोलुँबोलुँ लाग्छ…

यी शब्द हुन् हरिभक्त कटुवालका। १९९२ मा भारतको आसाममा जन्मेका हरिभक्त २०२२ सालमा नेपाल आएका थिए। नेपाली भाषामा गीत, नाटक र कविता लेखेका हरिभक्त हरिभक्त नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानकै मुखपत्र ‘प्रज्ञा’ को प्रबन्ध सम्पादक थिए। तर पछि उनङ्को जागिर खोसियो। त्यसपछि उनको सहारा भयो रक्सी।

जीवनको अन्तिमतिर रक्सीका कारण उनको स्वर नै भासिएको थियो भन्छन् नाटककार मल्ल। हरिभक्तको रक्सी लतबारे मल्ल भन्छन्, 'जहाँपायो त्यहीँ सुत्नुहुन्थ्यो। २०३५/०३६ सालतिर रक्सी भनेको हरिभक्त, हरिभक्त भनेको रक्सी जस्तो भएको थियो।'

कविता र गीतबाट त्यतिबेला प्रख्यात बनेका हरिभक्तले पटकपटक रक्सी छाड्ने गरेको तर नसकेको सम्झदै मल्ल भन्छन्, 'पशुपतिनाथमा गएर बाचा गर्ने अनि दुईतीन दिनमै खाएर आउने। 'ए दाइ तपाईँले बाँचा गर्नुभाथ्यो', भन्दा, 'मैले फेरी गएर आज्ञा लिएर आइसकेँ भन्थे।'

कविता, गीत, मुक्तक, कथा र नाटकमा कलम चलाएका कटुवाल अन्ततः भारत फर्किए रक्सीको लत र त्यसैले गालेको शरीर बोकेर। २०३७ साल भदौमा ४५ वर्षको उमेरमा उनको निधन भयो।

तीर्थ गन्धर्व, ६० वर्ष

मेरो माया लाग्दछ भनेँ

अलि वर आइदेउ न साननानी

बल्ल पर्‍यो माकुरी जालैमा

बल्ल पर्‍यो निर्माया माकुरी…

सरल भाकाको यो चर्चित झ्याउरे गीतका गायक थिए तीर्थ गन्धर्व। सामान्य परिवारका उनले केही वर्ष सारंगी रेटेरै गुजारा चलाए। उनले २०४३ सालमा रेडियो नेपालमा गायक र संगीतकारका रुपमा काम गरे। सुगर र ब्लप्रेसरका रोगी गन्धर्वको मृत्युको कारण नै रक्सी बनेको गन्धर्वसँगै रेडियो नेपालमा काम गरेका गायक कृष्ण गन्धर्व बताउँछन्।

हाल पोखरामा रहेका कृष्णले थाहाखबरसँग फोनमा भने, 'उहाँको मृत्यु विषालु रक्सीका कारण भएको थियो', उनले भने,  'उहाँहरुको रक्सी खाने समूह नै थियो जसले उहाँलाई मृत्युको मुखमा पुर्‍यायो।

उनको लतबारे कृष्ण भन्छन् 'उहाँमा रक्सीको लत धेरै थियो। दवाइ र रक्सी सँगसँगै खाने गर्दथे।' तीर्थका 'तानसेन घमाइलो...' लगायत गीत चर्चित छन्। 

तीर्थको निधन छाउनी अस्पतालमा ६० वर्षको उमेरमा २०६९ सालमा भएको थियो।

कृष्णविक्रम थापा, ६५ वर्ष

सिन्धुली गढी घुमेर हेर्दा

सुन्तली माइ कतिमा राम्रो दरबार

मार्‍यो नि मायाले मार्‍यो…

राष्ट्रिय लोकगीत प्रतियोगितामा प्रथम भएको यो गीतका गायक हुन् कृष्णविक्रम थापा। जनजनको मनमा गढेको यो गीत सिन्धुली गढी दरबार भत्केको र त्यही दरबार छेउमा काम गर्ने एक 'माइ' को बारेमा थियो।

कृष्णविक्रमका भतिजा अधिवक्ता डोरविक्रम थापा उनको निधनको कारण मध्ये रक्सीसेवन पनि रहेको स्वीकार्छन्। 'उहाँलाई ग्यास्ट्रिक, अल्सर र हेपाटाइटिस भएको थियो। तर अत्यधिक रक्सी सेवन पनि कारण बन्यो', डोरविक्रम भन्छन्।

गीतमा भनेजस्तो उनलाई मायाले नभइ रक्सीले मार्‍यो। २०६९ साल वैशाखमा ६५ वर्षको उमेरमा उनको निधन भएको थियो।

रामबहादुर थापा, ५० वर्ष

कति बस्छ्यौ माइतिकै कौसीमा (२)

लाग्छ आँखा पाकेकै लौसीमा

मैले के गरुँ?

तिमी आउँछ्यौ कि, अर्कै बिहे गरुँ?...

राम थापा नामले चर्चित गायक तथा संगीतका रामबहादुर थापा निकै मिलनसार रहेको उनका समकालीन सर्जकहरु बताउँछन्। बहुमुखी प्रतिभाका धनी राम थापाले नेपाली गीति क्षेत्रलाई ४२ एल्बम र ३०० भन्दा बढी गीतमा स्वर दिएका छन्। थापाले संगीतसम्बन्धी पुस्तक पनि लेखेका छन्। उनी संगीत प्रशिक्षण पनि दिन्थे।

उनलाई नजिकबाट चिन्ने एक लेखकका अनुसार छोराको मृत्यु वियोगले चिन्तित उनले त्यसैलाई भुल्न रक्सी सेवन गर्थे। तर उनले यस्तो बेला रक्सी पिइदिए जतिबेला उनी जन्डिसबाट थलिएका थिए। 'उहाँका छोराको निधन भएको थियो। पीडा भुल्न उहाँले रक्सी सेवन गर्नुभयो', ती लेखकले भने, 'जन्डिस लागेको बेला समेत रक्सी पिउनाले निधन हुनपुग्यो।'  

२०१५ मा जन्मेका राम थापाको २०६५ सालमा ५० वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भयो।

पाण्डव सुनुवार, ५४ वर्ष

तिम्रो घर चाँचरी त्यहीँ तल हैन र?

तिम्लाई हाम्ले चाँचरी चिनेका छैन र

बाबरी फूलको बोट

आयौं ढल्काउँदै झम्मझम्म इस्टकोट…

यो चर्चित झ्याउरे भाकाका गायक हुन् पाण्डव सुनुवार। उनी लोक गायकमात्र थिएनन्, रेडियो नेपालका चर्चित प्रस्तोता पनि थिए।

पाण्डव सुनुवारको खानपान अव्यवथित थियो भन्छन् उनका समकालीन एक गायक। बढी रक्सी पिउने भएकोले उनलाई कलेजोको संक्रमण भएकोले गीती एल्बमको तयारी गर्दागर्दै उनको निधन भएको उनले बताए।

उनको जन्म २००९ सालमा ओखलढुंगामा भएको थियो। सयौँ लोकप्रिय गीतका गायक सुनुवारको २०६३ सालमा ५४ वर्षको उमेरमा लन्डनस्थित किङ्स हस्पिटलमा निधन भयो।

गोपाल योन्जन, ५३ वर्ष

मेरो टोपी कैलाशको शिरजस्तो

हिमाली भीरजस्तो

कहिल्यै पनि झुक्न नजान्ने,

कहिल्यै पनि रुक्न नमान्ने

मेरो टोपी…नेपाली वीरजस्तो…

यो गीतका अलवा सयौँ गीतका गायक/लेखक/संगीतकार योञ्जन नेपाली गीत संगीतमा अति रुचाइएका श्रष्टा हुन्। उनीसँग नजिकबाट संगत गरेका एक गीतकार 'भावुकता, पारिवारिक बेमेल र मद्यपानका कारण' उनको मृत्यु भएको बताउँछन्।  

'उनको मृत्युका तीनवटा कारण भावुकता, मद्यपान र परिवारिक बेमेल थिए', उनी भन्छन्। उनका अनुसार ससाना कुरामा पनि भावुक बन्ने गोपाल योन्जनको बानी थियो। 'परिवारमा राम्रो सम्बन्ध रहन सकेन', ती लेखक भन्छन्, 'ती कुरालाई भुलाउन उनले रक्सीको सहारा लिए।'

योञ्जनको जन्म २००० भारतको दार्जिलिङमा भएको थियो। उनको ५३ वर्षको उमेरमा २०५३ सालमा भारतको दिल्ली मृत्यु भएको थियो।

झलकमान गन्धर्व, ६८ वर्ष

बाबाले साध्लान् नि खै छोरा भन्लान्

रण जित्दैछन् भन्दिए

आमाले सोध्दिन् नि खोइ छोरा भन्लिन्

रज है खुल्यो भन्दिए…

सारंगीको भाकामा माथिका पंति सुन्दा जो कोहीको दिमागमा पनि झलकमान गन्धर्वको नाम आउने गर्छ। उनले गन्धर्व गीतको प्रचारप्रसारमा जर्मनी, फ्रान्स, बेलायत, भारत लगायत विभिन्न देश भ्रमण गरे।

झलकमानलाई नजिकबाट चिनेका एक रेडियोकर्मीले उनको अन्तर्वार्ता गर्दाको दुःख सम्झिए। 'उहाँको बेलुका अन्तरवार्ता लिनुपर्ने छ भने दिउँसै किडन्याप गर्नुपर्थ्यो', उनले भने, 'उहाँ दिउँसो २ बजेदेखि नै पिउन सुरु गर्नुहुन्थ्यो।' उनका अनुसार बाह्रैमासे रक्सीसेवनले उनको स्वास्थ्य कमजोर थियो।

१९९२ सालमा जन्मेका झलकमानको ६८ वर्षको उमेरमा २०६० सालमा निधन भएको थियो।

खोज्दै जाने हो भने सूची अझ लामो बन्न सक्छ।

नाट्यकर्मी अशेष मल्ल 'नेपाली गीतसंगीत र कलासाहित्यको एक युग नै रक्सीले खतम बनाएको' बताउँछन्। रक्सीको लतले श्रष्टाको व्यक्तिगत र पेशागत जीवन बर्बाद भएका घटना पहिला भन्दा घटेपनि समस्या अहिले पनि रहेको उनको अनुभव छ।  

'नेपाली कला एक युग नै रक्सीले खत्तम पार्‍यो', मल्ल भन्छन्, 'अहिले पनि रक्सी खाएर रातबिरात घर जाने महान साहित्यकार छन्। रक्सीले धेरैको घर बर्बाद भएको छ तर बाहिर हामी उनैलाई ठुल्ठुला पुरस्कार दिएर अभिन्नदन गरिरहेका छौँ।'

समाजमा कलाकारको नाम हुने तर व्यक्तिगत जीवन भने ध्वस्त हुने 'डबलस्ट्यान्डर्ड' स्थिति अहिले पनि कायम रहेको उनी बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.