|

डडेल्धुरा : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएसँगै प्रदेश नम्बर ७ को राजधानी कहाँ बनाउने भन्ने बहस सुरु भएको छ।

प्रदेश राजधानीको बहस सुरु मात्र भएको छैन पहाडी जिल्लामै राजधानी हुनुपर्ने मागसहित डडेल्धुरामा दबाब समूह गठन गरी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र पनि बुझाइसकिएको छ। जिल्लाका राजनीतिक दलहरुले पनि प्रदेश ७ को राजधानी पहाडी जिल्लामा र त्यो पनि डडेल्धुरामा नै बनाउनका लागि लबिङ गरिरहेका छन्।

यस क्षेत्रकै बहुचर्चित पञ्चेश्वर र पश्चिम सेती कार्ययोजनामा अन्तर्राष्ट्रिय दातृ निकायको ध्यानाकर्षण गराई तिब्र गतिमा निर्माण अघि बढाउन प्रदेश ७ को राजधानी डडेल्धुरामै बनाइनुपर्ने नेपाली कांग्रेसका जिल्ला पार्टी सभापति तथा नवनिर्वाचित प्रदेशसभा ‘ख’ सदस्य कर्णबहादुर मल्ल बताउँछन्। उनी भन्छन्,‘ प्रदेश नं. ७ देशको समृद्धिका लागि प्रशस्त सम्भावना बोकेको प्रदेश हो। ७ नम्बर प्रदेशको समृद्धि बिना नेपालको समृद्धि अगाडि बढ्छ जस्तो मलाई लाग्दैन। यो प्रदेश जलस्रोतको भण्डार हो।’

डडेल्धुरामा राजधानी बनाउँदा पञ्चेश्वर, पश्चिम सेतीजस्ता आयोजना कार्यान्वयनमा सहयोग पुग्ने मल्लको भनाइ छ। ‘डडेल्धुराको पश्चिमतिर पञ्चेश्वर छ, पूर्वतिर पश्चिम सेती छ। पञ्चेश्वर र पश्चिम सेती कार्ययोजना गर्नका लागि राज्यको ध्यानाकर्षण गर्न, अन्तर्राष्ट्रिय दातृनिकायको ध्यानाकर्षण गर्न र यी परियोनाको सहज ढंगले अगाडि बढाउनको लागि र द्रुतगतिमा कार्यान्वयन गर्नको लागि पनि डडेल्धुरामा राजधानी बनाउनुपर्छ।’

नेकपा एमाले डडेल्धुराका जिल्ला अध्यक्ष डा.ताराप्रसाद जोशीले तराईका जिल्लाहरु कैलाली र कञ्चनपुरले पहाडी जिल्लाका बासिन्दाहरुको भावनालाई बुझेर पहाडमा राजधानी स्थापना गर्न बाधक बन्न नहुने बताए। आफ्नो पार्टीले अखण्ड सुदूरपश्चिम आन्दोलनकै क्रममा २०६३ सालमै साविकको सुदूरपश्चिम क्षेत्रको प्रदेश राजधानी डडेल्धुरामा हुने निर्णय गरिसेकेको पनि जोशीले बताए।

'प्रधानमन्त्री देउवाले गुन तिर्नुपर्छ'

सबैलाई पायक पर्ने एवं अखण्ड सुदूरपश्चिमको आन्दोलनको भावना पनि संवोधन हुने र प्रदेश राजधानीको आकर्षणबाट डडेल्धुरामा ठूलो पूँजी लगानी भइसकेकोले सबै जिल्लाको सुविधाका लागि पनि उपयुक्त रहेको नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य प्रकाश साउद बताउँछन्।

डडेल्धुराका जनताले ६ पटक शेरबहादुर देउवालाई चुनेर सिंहदरबार पुर्‍याएको भन्दै उनले यसपटक देउवाले डडेल्धुरामा राजधानी तोकेर ऋण तिर्नुपर्ने धारणा राखे। उनी भन्छन्, शेरबहादुर देउवाज्यूलाई यहाँका जनातले ६ पटक चुनेर नेतृत्व गर्ने अवसर दिएका छन्। त्यो ऋण देउवाजी लाइ छ। अहिले उहाँलाई ठूलो अवसर छ, यो जिल्लाबाट उहाँलाई जुन ऋण बोकाएको छ। त्यो ऋण तिर्ने ठूलो मौका छ।’ उनले थपे, देउवाजीले डडेल्धुरालाई राजधानी तोके उहाँ ऋणमुक्त हुनुहुन्छ।’

अखण्ड  सुदूरपश्चिम आन्दोलनको मर्म र सात पहाडी जिल्लावासीको भावना सम्वोधनका लागि पहाडमै राजधानी उपयुक्त हुने डडेल्धुरा जिल्लाबासीको भनाइ छ। पहाडी जिल्लाको समुचित विकासका लागि पनि सम्भव भए डडेल्धुरा नत्र विकल्पको रुपमा साविक सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको केन्द्र दिपायलमा हुनुपर्ने स्थानीयहरुको भनाइ छ। यदि तराई केन्द्रित भएर प्रदेशको राजधानी बने पहाडी जिल्ला विकास र विस्तारमा पछाडि पर्ने र विभिन्न अवसरबाट समेत वञ्चित हुनुपर्ने डडेल्धुराका स्थानीय रमेश जोशी उनीहरुको ठम्याइ छ।

अरु कुन जिल्लाको छ राजधानीका लागि दाबी?

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरालगायत डोटी, कैलाली र कञ्चनपुरले पनि प्रदेश राजधानी दाबी गरेको छ। डोटीका स्थानीयले प्रदेश राजधानी नबनाए आन्दोलन गर्ने चेतावनी दिएका छन्। क्षेत्रीय सदरमुकाम भएकाले सबैका लागि दिपायल प्रदेश राजधानीका लागि उपयुक्त हुने डोटीबासीको दाबी छ। कैलालीका वासिन्दाले पनि कैलालीमा हुनुपर्नेमा जोड दिइरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.