|

पाल्पा : पाल्पाली दलित अगुवा भरत परियारको ६५ वर्षको उमेरमा निधन भएको छ। क्यान्सरले ग्रस्त परियारको सोमबार राति साढे एघार बजे निधन भएको छोरा सुनिल परियारले बताए। परियार गएको नौ महिनादेखि क्यान्सर र जण्डिसले विरामी परेका थिए।

उनी हाल नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि, नेपाल दलित संघको केन्द्रीय सदस्य समेत थिए। परियारले यसअघि तत्कालिन जिल्ला विकास समिति अन्तर्गत दलित समन्वय समिति पाल्पाको सदस्य पदमा रहेर झण्डै दश वर्ष जिम्मेवारी बहन गरेका थिए। दलित अधिकारका लागि साझा अभियान पाल्पाको सल्लाहकार समेत रहेका उनले जिल्लाका विभिन्न दलित आन्दोलनमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

दलित अधिकारका लागि साझा अभियान पाल्पाका निवर्तमान अध्यक्ष तीर्थप्रसाद गौतमले परियारको निधनले सिंगो पाल्पाली दलित समुदाय स्तब्ध भएको बताए। जीवनभर जिल्लाका दलित समुदायको हक अधिकार प्राप्ति र अन्यायका विरुद्ध सशक्त भूमिका निभाउँदै आएका परियारको निधनले पाल्पाली दलित आन्दोलनलाई अपुरणीय क्षति भएको गौतमको भनाइ छ।

परियारको मंगलबार राम्दी घाटमा अन्त्येष्टी गरिएको छ। यसअघि परियारको शवलाई बजार परिक्रमा गरी कांग्रेसको जिल्ला पार्टी कार्यालयमा राखेर पार्टीको झण्डा ओढाइएको थियो।

परियारको पार्थिव शरिरमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य हरिप्रसाद नेपाल, जिल्ला सभापति बीरबहादुर राना, नेपाल दलित संघका विभागीय प्रमुख दलबहादुर राजपुत, निवर्तमान अध्यक्ष लक्ष्मण हिताङ लगायतले झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए। कांग्रेस केन्द्रीय सदस्य नेपालले पार्टीले असल र निस्वार्थ भावनाले आफ्नो जिम्मेवारी बहन गर्दै आएका एक कुशल दलित नेता गुमाएको प्रतिक्रिया दिए। स्वर्गीय परियारका चार भाइ छोरा र एक छोरी रहेका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.