महिला तथा बालबालिका कार्यालय भन्छ, 'जानकारी नै छैन'

|

भद्रपुर (झापा) : भारतीय मजुदरमा निर्भर झापाका अधिकांश इँटा उद्योगले बाल मजदुर प्रयोग गर्दै आइरहेको पाइएको छ। भारतीय मजुदरका परिवारसँग श्रम गर्न नेपाल आएका बालबालिकालाई पनि इँटा उद्योगले श्रममा लगाउने गरेका हुन्।

झापामा दुई दर्जनभन्दा बढी इँटा उद्योग सञ्चालनमा छन्। झापाको सदरमुकाम भद्रपुरनजिकै रहेको हल्दीबारी गाँउपालिका–२ देउनिया खोलानजिकै रहेको झापा इँटा उद्योग, भद्रपुर नगरमा रहेको केबीआई, डीभीआई, नायक, कचनकवल गाउँपालिकामा रहेको एसबीआई, ज्योति लगायत इँटा उद्योग भारतीय मजुदरमै निर्भर छन्।

नेपालमा इँटा बनाउने मजदुर अभावले उद्योग सञ्चालकले प्रत्येक वर्ष भारतबाट मजदुरका परिवार बोलाउने गर्छ। तर भारतीय मजदुरका परिवारसँग आएका बालबालिकालाई पनि उद्योग सञ्चालकले श्रमशोषण गराउँदै आएका छन्। विद्यालय पढ्ने उमेरका ८ देखि १५ वर्ष सम्मका बालबालिका अहिले हिलो माटो समाउन बाध्य भएका छन्। 

राज्यले बालबालिका सम्बन्धी ऐन २०४८ बालबालिकासम्बन्धी नियमावली २०५१, बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ कमैया श्रम (निषेध) ऐन, २०५८, बाल न्याय कार्यविधि नियमावली २०६३ एवं नेपालको संविधान २०७२ भाग ३ को धारा ३९ मा उल्लेख भएअनुसार कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पाइँदैन।

बालबालिकासम्बन्धी ऐनको उपधारा ९४०, ९५०, ९६० र ९७० विपरीतका कार्य कानुनबमोजिम दण्डनीय हुनेछ र त्यस्तो कार्यबाट पीडित बालबालिकालाई पीडकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भनी उल्लेख छ। 

बालबालिकालाई श्रमशोषण गराउनु कानुनी अपराध होइन भन्ने थाहाखबरकर्मीको प्रश्नमा नेपाली भाषा नबुझ्ने मजदुरका परिवार हिन्दी र बंगाली भाषामा भने,  'छिटोछरितो काम सिध्याउन बालबालिकाले आमाबुबालाई सघाएका हुन्। 'यहाँ हरेक मजदुरका छोराछोरी विद्यालय जान्छन्। अहिले हामीसँग आएकोले काम गरेका हुन्', उनले भने।

‘आर्थिक अवस्था कमजोर भएकोले पैसा कमाउन भारतबाट परिवारसहित नेपाल आएका हौं', मजुदर सन्तोष दासले भने,  'एक हजार इँटा तयार पारेको साढे ५ सय भारतीय रुपैयाँ कमाउँछौँ।'

यता झापा इँटा उद्योगका सञ्चालक जनार्दन न्यौपानेले यस उद्योगमा बाल मजदुर शून्य रहेको दाबी गरे। चार वर्षसम्म उद्योग परिसरमै बालवालिका हेरचाहको लागि शिक्षण संस्था सञ्चालन गराएको सञ्चालक न्यौपाले भने, ‘बालबालिका  श्रमशोषण गराएको छैन। छिटफुट त्यस्तो फेला परेमा बालबालिकाको गन्ती नहुने र ज्याला पनि पाउँदैनन्।' 

महिला तथा बालबालिका कार्यालय झापाका निमित्त महिला अधिकृत उमा अधिकारीले झापामा भर्खरै सरुवा भएर आएकोले यसबारेमा आफूलाई जानकारी नभएको बताइन्। ‘इँटा उद्योगले त्यसरी बालबालिकालाई श्रमशोषण गर्न पाउँदैनन्, अधिकृत अधिकारी भन्छिन्, ‘उद्योग सञ्चालकले उद्योग परिसरमै शिक्षण संस्था खोलेर बालबालिकालाई शिक्षा दिनुपर्ने हुन्छ।’

अहिले झापा लगायत मोरङ र सुनसरी जिल्लामा सञ्चालित इँटा उद्योगमा भारत पश्चिम बंगला कुचविहार, सिलगुढी, जलपाईगुढी र दिनहाटाका मजदुर परिवार काम गर्छन्। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.