नजिकको बस्तीका सयौं स्थानीयलाई सुरक्षित स्थानमा सारियो

|

वीरगञ्ज : पर्साको वीरगञ्ज महानगरपालिका- २२ स्थित पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा बुधबार बिहानदेखि सुरु भएको भीषण आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। आगलागी नियन्त्रणमा आउन नसक्दा त्यस क्षेत्रको जनजीवन आतंकित भएको छ।

उद्योगमा बिहान सवा ६ बजे अचानक आगलागी भएको र घटनास्थलमा २ जनाको शव भेटिएको प्रहरीले जनाएको छ। आगो नियन्त्रणका लागि बिहानै वीरगञ्ज महानगरपालिकाबाट खटिएका फायरम्यान तथा दमकलका कर्मचारी मधुसुधन मिश्र, यादवप्रसाद अधिकारी, अम्बिका पटेल, अरुण महतो र सविन नेपालमध्ये पटेल, महतो र नेपाल जलेर गम्भीर घाइते भएका छन् भने अधिकारी र मिश्र सम्पर्कविहीन भएको पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले जानकारी दिए। घटनास्थलमा भेटिएको शव मधुसुधन मिश्र र यादवप्रसाद अधिकारीको हुन सक्ने प्रमुख जिल्ला अधिकारी सिंहले बताए।

आगो नियन्त्रण गर्न गएको महानगरपालिकाको दमकलसमेत जलेर नष्ट भएको छ भने घाइते भएका ३ जना फायर म्यान सहितका कर्मचारीलाई वीरगञ्जमा उपचार हुन नसकेपछि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको प्रमुख जिल्ला अधिकारी सिंहले जानकारी दिए।

आगलागी हुँदा उद्योगभित्र कति मजदुर तथा कर्मचारी थिए सोबारे कुनै जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ। उद्योग परिसरमा रहेका ग्यास सिलिन्डरहरु विस्फोट भइसकेको र ठूला ट्यांकहरुमा आगलागी नहुने प्रविधि जडान गरिएको हुँदा अब स्थिति नियन्त्रणमा आउने पर्साका प्रमुख जिल्ला अधिकारी सिंहले बताए।

ग्यासमा लागेको आगो नियन्त्रण गर्ने प्रविधि नेपालमा नरहेको र भारतको रक्सौलबाट प्रविधि सहितको टोली आए पनि ग्यासको आगो तत्कालै नियन्त्रणमा लिन नसक्ने प्रमुख जिल्ला अधिकारी सिंहले जानकारी दिए। आगलागी नियन्त्रणमा लिन  वीरगञ्ज महानगरपालिका, कलैया, सिमरा,र हेटौडा उपमहानगरपालिका, नेपाल आयल निगम अमलेखगञ्ज र चन्द्रपुर नगरपालिकाका दमकलहरु आए पनि प्रयास विफल रहेकोे पर्साका प्रहरी उपरीक्षक डा.गणेश रेग्मीले बताए।

ग्यासको फर्मबाट निस्किएको आगो नियन्त्रणमा लिन नेपाल आयल निगम र इन्डियन आयल कार्पोरेसनको टोलीसमेत घटनास्थलमा परिचालन भइसकेको छ। अहिले घटनास्थलमा बारा र  पर्साका जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रदेश नं.२ का प्रहरी प्रमुख विजयलाल कायस्थ,नेपाल प्रहरी र सशस्त्र प्रहरीका डिआइजी, जिल्लास्थित प्रमुखहरु नेपाली सेनाका महासेनानी सहितको टोली आगो नियन्त्रणका लागि खटिएको छ।

यसैबीच, ग्यास उद्योगनजिकै बाक्लो बस्ती रहेको र वीरगञ्ज महानगरपालिकाको वडा नं. १८, २२ र २३ मा पर्ने सुखचैना, इटियाही, भवानीपुर, पटेलनगर र इनरुवाका १ हजारभन्दा घरपरिवारलाई सुरक्षित स्थानमा पुर्‍याइएको र गाउँलाई हाई अलर्टमा राखिएको पर्साका प्रहरी उपरीक्षक डा.गणेश रेग्मीले बताए।

आगलागीपछि प्रभावित गाउँका १० हजारभन्दा बढी व्यक्तिहरु घर छोडेर सडकमा आएको र उनीहरुलाई खानपीनको व्यवस्था नहुँदा महिला,बालबालिकाहरु प्रभावित भएका छन्।

यसैबीच, ग्यास सिलिन्डर विस्फोटपछि ठूला ट्यांकमा आगलागी नहुने हुदा स्थानीय बासिन्दा आतंकित नहुन सुपर ग्यासका टेकनिसियन टेकनारायण यादवले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.