|

डडेल्धुराः दायाँ हातमा हथौडा, बायाँ हातमा फलामको पाता अनि त्यहीँ जस्ताको झुपडीमा धमाधम फलाम पिट्दै छन् उनी। नाम पनि महादेव, काम पनि भगवानको मूर्ति बनाउने। उनी हुन्, महादेव ताम्राकार। 

विगत २२ वर्षदेखि आरन पेसा गर्दै आएका छन् महादेव। बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म महादेव ताम्राकारको दिन बित्छ, डडेल्धुरा सदरमुकामको तुफानडाँडामा रहेको एक सानो जस्ताको झुपडीमा। 

काठमाडौं, भारतको पिथौरागढ, अलमोडालगायतका विभिन्न ठाउँमा पनि काम गरेका ताम्राकार आफ्नो पुख्र्यौली पेसालाई जोगाउँदै कामलाई निरन्तरता दिएको बताउँछन्। यो पेसा गर्ने उनी चौथो पुस्ताका हुन्। 

आफ्ना पुर्खाको पेसा भएको कारण आफू १८ वर्षको उमेरदेखि यस पेसामा लागेको महादेव बताउँछन्। गरिवीका कारण सानो छँदा स्कुल जान नपाएको र त्यसकारण पनि यो पेसा अँगालेको उनी बताउँछन्। उनी भन्छन्, ‘गरिवीको कारणले सानो छँदा स्कुल जान पाइनँ, त्यसपछि यो पेसा अँगालेको हुँ।’

आरनमा बसेर भगवानका मूर्ति, मन्दिरको गजुर, कलश, पानस, रुइसिङ, दमाहा, कुटो, कोदालो, मानालगायतका भाँडाकुँडा बनाउने उनलाई आरन पेसाले न घर परिवार पाल्न धौधौ छ, न त आर्थिक स्थिति मजबुत होला भन्ने आशा नै। सामान्य जीवन धान्नमै सीमित बनेको छ उनको पेसा। उनी भन्छन्, ‘रोजगारीको बाटो केही देख्दिनँ, छोडौँ भने खान लाउन मात्र पुग्ने पेसाले पनि के गर्ने?’

किसानलाई चाहिने धेरैजसो कृषि सामग्री आफूले बनाउने भएकाले आरन पेसा छोडेमा कृषि सामग्रीको अभाव हुन्छ भन्ने डर छ उनलाई। अर्कोतिर मन्दिरमा चाहिने मूर्ति तथा अन्य सामग्रीको अभाव हुँदा संस्कृति हराउँछ भन्ने चिन्ता पनि छ।

चाडपर्वको बेला महिनाको १५ हजारदेखि १८ हजार रुपैयाँसम्म कमाइ हुने सुनाउँदै उनी भन्छन्, ‘चाडपर्वबाहेकका महिनामा पनि आठ हजारदेखि १० हजार रुपैयाँसम्म कमाउँछु।’

चाडपर्वका बेला आफूले निर्माण गरेको मूर्तिलगायत मन्दिरका सामग्रीे प्रदेश नम्बर– ७ का सबै जिल्लामा पुग्ने गरेको भए पनि प्रतिस्पर्धीको रूपमा बजारमा पाइने अन्य ‘रेडिमेट’ सामानले गर्दा आफ्नो पेसा धरापमा पुगेको ताम्रकारले चिन्ता व्यक्त गरे।

‘प्रधानमन्त्री, चार सांसद, त्यसमा पनि दुई जना दलित समुदायका।’ ताम्राकारले भने, ‘जिल्लामा दलितका लागि आएको रकम सदरमुकाममा कार्यक्रम गरी भत्ता बाँडेर सक्छन् तर संकटमा परेको यो पेसा जोगाउने चिन्ता कसैलाई छैन।’ 

सरकारले आरन पेसालाई व्यवस्थित र व्यावसायिक बनाउन सके यो पेसाले धेरैलाई रोजगारीको वातावरण सिर्जना हुने ताम्राकारको भनाइ छ। अबका नवनिर्वाचित प्रनितिधिले आफ्नो पेसाका लागि केही गर्र्नेमा उनी आशावादी छन्।

कलिलो उमेरदेखि नै यो पेसा गरेका महादेवले कमाएको पैसाले खान लाउन मात्र ठिक्क छ। ‘न त राम्रो घर नै बनाउन सकेँ, न बैंक व्यालेन्स नै छ’, उनी भन्छन्, ‘अहिले ४० वर्ष लाग्नै लागेँ तर उपलब्धि भने केही देखिएको छैन।’

‘सम्पत्तिको नाममा एक आनाजति जमिन मात्र छ’, ताम्राकारले भने, ‘स्वदेशमै भारतभन्दा न्यून मूल्यमा मूर्ति पाइने भए पनि भारतबाट महँगो मूल्यमा मूर्तिहरू आयात हुँदा दुःख लाग्छ।’

सडकको छेउमा बनाएको झुपडीलाई नगरपालिकाले दुईचोटि भत्काइसकेको विगतको सम्झना गर्दैै महादेवले भने, ‘सरकारले यो पेसालाई व्यावसायिक बनाउन तालिम तथा आफू जस्तालाई ऋण दिने वातावरण बनाए हराउँदै गरेको यो पेसा पनि जोगिने र स्वदेशमै युवाहरू रोजगार बन्नेमा विश्वस्त छु।’ यदि यो पेसा नजोगिने हो भने भोलिका दिनमा भगवान कसले बनाउने भन्ने चिन्ता छ उनमा। भन्छन्, ‘पेसै जोगिएन भने भगवान् कसले बनाउला?’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.