|

डडेल्धुराः नेपाली कांग्रेस डडेल्धुराको अनुशासन समितिले नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष एवं कांग्रेस महासमिति सदस्य नैनसिंह महरसहित ४० नेता कार्यकर्तासँग स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ।

प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गर्न विपक्षी उम्मेदवारका लागि भोट मागेको उजुरीका आधारमा अध्यक्ष महरसहित ४० नेता कार्यकर्ताहरूलाई स्पष्टीकरण माग गर्ने निर्णय गरिएको हो।

जिल्ला सदरमुकाममा बिहीबार बसेको अनुशासन समितिको बैठकले महरसँगै प्रदेशसभामा समानुपातिकतर्फका उम्मेदवार गोविन्दराज बोहरा, जिल्ला कार्यसमितिका कोषाध्यक्ष हरिप्रसाद पनेरु, जिल्ला कार्यसमिति सदस्य तथा स्थानीय निर्वाचनमा अमरगढी नगरपालिकामा पार्टीका तर्फबाट प्रमुखका उम्मेदवार डिल्लीराज जोशी, नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य सुरेशराज जोशी, स्वास्थ्यकर्मी संघका पुष्कर पनेरु, क्रियाशील सदस्यहरू सरस्वती खड्का, माया शाही देउवालगायतसँग सात दिनभित्र पेस गर्ने गरी स्पष्टीकरण माग गर्ने निर्णय गरेको अनुशासन समितिका संयोजक अर्जुनबहादुर मल्लले जानकारी दिए।

प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा हँसिया हथौडा र सूर्य चिह्नमा मतदान गर्न भन्दै खुलेआम विपक्षी पार्टीको प्रचार प्रसारमा संलग्न भएको उजुरी जिल्ला अनुशासन समितिमा परेपछि स्पष्पटीकरण माग्ने निर्णय गरिएको संयोजक मल्लले बताए।

निर्वाचनका बेला अन्तर्घात गरेको प्रमाणसहित अनुशासन समितिमा उजुरी परेका नेता कार्यकर्ताहरूले स्पष्टीकरण पेस गरेपछि कारवाही प्रक्रिया अघि बढ्ने अनुशासन समितिले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.