|
फोटो : मनहरी तिमल्सिना

काठमाडौं : निर्वाचनपछि पहिलोपटक प्रमुख राजनीतिक दलहरुबीच छलफल सुरु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा छलफलको आयोजना गरेका हुन्। छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको सहभागी छन्।

त्यस्तै, नेताहरु माधवकुमार नेपाल, रामचन्द्र पौडेल, सुवासचन्द्र नेम्वाङ, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा पनि छलफलमा सहभागी छन्।

प्रधानमन्त्री देउवाले छलफलका लागि निर्वाचनबाट पहिलो दल बनेको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र संघीय समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई छलफलका लागि बोलाएका हुन्।

पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री देउवाले दलका नेताहरुलाई ११ बजे बोलाएका थिए। मुख्य रुपमा राष्ट्रियसभा गठनसम्बन्धी छलफल हुने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। उक्त विषयमा पछिल्लो समय दलहरुबीच विवाद बढ्दै गएको थियो।

राष्ट्रियसभा गठनको विषयलाई लिएर दलका नेताहरुबीच सार्वजनिक अभिव्यक्तिहरु आएका थिए। जसमा नेताहरुले एक अर्कालाई आरोप लगाउने र राष्ट्रियसभा गठनसम्बन्धी फरक-फरक धारणा बाहिर आएका थिए।

सरकारले राष्ट्रियसभा गठनका लागि एकल संक्रमणीय व्यवस्था राखेर विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको थियो। जसको वाम गठबन्धनमा सहभागी नेताहरुले बहुमतीय प्रणालीअनुसार राष्ट्रियसभा गठन गर्नुपर्ने भन्दै उक्त विधेयक पारित नगर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए।

राष्ट्रियसभा गठनको प्रणालीबारे सरकार र वाम गठबन्धनको फरक-फरक धारणा आएपछि उक्त विधेयक राष्ट्रपति कार्यालयले जारी गरेको थिएन। राष्ट्रपतिले प्रधानमन्त्रीलगायत दलका शीर्ष नेताहरुलाई विधेयकमा सहमति गरेर आउन आग्रह गरेकी थिइन्।

यो बीचमा राष्ट्रियसभा गठनको प्रक्रिया कस्तो हुने भन्ने विषयमा दलका शीर्ष नेताहरुबीच छलफल भएको थिएन। प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भने निर्वाचन पहिलेदेखि नै भेटघाट भएको थिएन। अध्यक्ष ओलीले निर्वाचनपछि प्रधानमन्त्रीसँग फोनमा समेत वार्ता नभएको बताएका थिए। यता, माओवादी अध्यक्ष प्रचण्डसँग भने प्रधानमन्त्री देउवाको छलफल भएको थियो।

आजको छलफलबाट राष्ट्रियसभा गठनको प्रणाली कस्तो हुने भन्ने विषयमा सहमतिमा पुगिने बताइएको छ। बैठकमा राष्ट्रियसभाको निर्वाचनबारे देखिएको विवादमा सहमति खोजी जारी गतिरोध हटाउने प्रयत्न हुने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.