|

  • जमुना न्यौपाने-

एक हप्तासम्म दिव्याको नाकमुख देखिएन। ऊ कलेज पनि गइन। खासै मनपेट खोल्ने साथी नभए तापनि मलाई त्यो घटनाले तान्यो अनि अलि नजिक बनायो। के गर्दै होली? अनुरागले भेट्यो कि भेटेन? जान्ने इच्छा पनि जाग्यो। त्यसैले प्रतिसँग बसेर रातभरि कुरा गर्ने मनसायले म फुपूसँग बिदा मागेर अर्को दिन उतैबाट कलेज जाने गरी निस्किएँ।

प्रति खाना बनाउने तरखर गर्दै रै'छे। उसलाई भेट्नासाथै मलाई दिव्याकै बारेमा सोध्न मन लाग्यो अनि सोधी पनि हालेँ, 'ओई, दिव्याको खबर के छ?'

'खै के छ? तँ जस्तो म पनि त्यस्तै। न फोन भा’छ, न त भेट नै।'

दिव्या त प्रतिसँग पनि सम्पर्कमा रैनछे। प्रतिले खाना खाएर सुत्ने बेलामा कुरा गरौँला भनी अनि मैले पनि सहमति जनाएँ। हामी दुवै जना भान्साको काममा लाग्यौँ।

खाना खाएर थालमै चुठेर हामी कोठामा छिर्‍यौँ अनि एउटै सिरकमा गुट्मुटिएर गफ गर्न थाल्यौँ। प्रतिले दिव्यालाई फोन गरी तर उसले फोन उठाउँदै उठाइन। तीनचोटिसम्म नउठाएपछि अनलाइनमा छ कि भनेर चेक गर्‍यौँ। नभन्दै केटी अनलाइनमै रै'छ।

प्रतिले मेसेज टाइप गर्न थाली, 'ओई, के छ तेरो खबर? सम्पर्कविहीन भैस् त! तेरो हिरो कता छ आजभोलि?'

दिव्याले मेसेजको भने रिप्लाई पठाई, 'ठीकै छ मेरो त! उसको त खै के छ, थाहा भएन।'

प्रतिले सोधी, 'गफगाफ, भेटघाट केही भ’को छैन तिमीहरूको?'

च्याटमा भने दिव्याले मजैले कुरा गरी, 'त्यही वर्थडेको दिन मेसेज गरेपछि अहिलेसम्म बोलेको छैन। जेसुकै होस्, म पनि केही मतलब राख्दिनँ अब।'

उनीहरू च्याट गर्न थाले, म हेरेर बसिरहेँ।

प्रति- 'त्यसपछि कुरै भ’को छैन?'

दिव्या- 'उम्!'

प्रति- 'के भा' रै'छ त्यसलाई?'

दिव्या- 'खै के भा' छ? उही जानोस्!'

प्रति- 'कहीँ नभा' घमण्डी रै'छ।'

दिव्या- 'उम्!'

प्रति- 'कस्तो अचम्मको मान्छे यार!'

दिव्या- 'अँ भन्या, नसक्नुको रै'छ। एकछिन मीठो माया देखायो अनि आफैँ हरायो।'

प्रति- 'कस्तो मन होला बैगुनीको?'

दिव्या- 'त्यै त भनेको, दुई दिन रमाइलो गरायो अनि जिन्दगीभरिलाई पुग्ने चोट दिएर गयो।'

प्रति- 'हो है रानी, मन मानेन?'

दिव्या- 'मनाउँछु अब, यो मायाको भोक कहिले पो मेटिन्छ र!'

प्रति- 'त्यसको तन भोकाएको बेला भोक मेट्न नपाएर टाढा भ’को हो कि?'

दिव्या- 'केटाहरूको जातै स्वार्थी, अब म पनि वास्ता गर्दिनँ। मेसेज गर्दिसकेँ मैले।'

प्रति- 'के भनेर गरिस्?'

दिव्या- 'एकछिन पख् ल, म तँलाई फर्वार्ड गर्छु।'

प्रति- 'ओके प्यारी!'

दिव्याले अनुरागलाई पठा'को मेसेज फर्वार्ड गरी, जुन यस्तो थ्यो- 'मैले यति धेरै माया गर्दा पनि तिमीले मेरो मायालाई बुझेनौ। तिमीले मायाको कदरै गर्न जानेनौ। आफ्नै कुरालाई माथि राख्यौ। मलाई बुझ्नै खोजेनौ। मेरो जीवनमा तिमी जस्ता अरू नआएका हैनन् तर पनि मैले सधैँभरि तिमीलाई नै आफ्नो ठानेँ। सायद मेरो गल्ती यही होला! सबै कुरा बुझेर पनि अबुझ बन्यौ। तिमीले जिन्दगीलाई बुझेकै रैनछौ। यात्रा त्यति सजिलो हुन्न साथी। स्वार्थ राखेर माया लाएका रैछौ। तिम्रो स्वार्थ पूरा गरिदिने केटी भेट्यौ होला हैन? ठीकै छ, म तिमीलाई सम्झेरै चित्त बुझाउँछु। तिमीलाई कुनै दिन अतीत सम्झेर पछुताउन नपरोस्! समयले सबैलाई पाठ सिकाउँछ। आज म सिक्दै छु, भोलि तिमीले पनि सिक्नेछौ। मभन्दा राम्री केटी बिहा गर्नू! मलाई सम्झेर कहिल्यै तड्पिन नपरोस्। के गर्नु, मैले तिमीलाई माया गर्नै जानिनँ।

भगवानले तिम्रो रक्षा गरून्!

सदैव खुसी बनाएर राखुन्!

मेरो मन टुट्यो,  म तिम्रो मायाले अघाएँ, अब मलाई पुग्यो, जिन्दगीभरिलाई पुग्यो। मलाई कहिल्यै नसम्झिनू, अलबिदा।”

प्रति- 'किन यस्तो लेखेकी? आवेसमा नआ'की भए हुन्थ्यो नि!'

दिव्या- 'सहन सकिनँ यार, मनमा अटाएन पोखिदिएँ।'

प्रति- 'कलेज आउँदिनस्?'

दिव्या- 'एक दुई दिनपछि मन हल्का भयो भने आउँछु।'

प्रति- 'ओके, आई मिस यु प्यारी!'

दिव्या- 'ओके, मिस यु टु, तैँ त छेस् नि अब मेरो भन्नु।'

प्रति- 'बाई प्यारी!'

दिव्या- 'बाई।'

यसरी उनीहरूले कुरा सकाए, म हेरेर बसिरहेँ। केटाहरू साह्रै स्वार्थी हुँदा रहेछन् भन्ने लाग्यो। उसले भनेको दिव्याले मानिन भनेर त्यो कति ठूलो पल्टेको? साह्रै बैगुनी रै'छ त्यो अनुराग त! मायाको नाटक मात्रै गरेको रै'छ। विचरा दिव्या, मलाई एक्कासि दिव्याको माया लागेर आयो अनि प्रतिलाई पनि सम्झाउन थालेँ- 'कविरको पनि भर नपर है केटी! तँलाई पनि धोका देला नि! तँ भने मरिहत्ते गर्छेस्। उसले खासै भाउ दिएजस्तो लाग्दैन। बेलैमा विचार गर् है।'

प्रतिले पनि उनीहरूको भित्री कुरा खोल्न थाली- 'लगभग धोका दिई नै सक्यो नि! विचार गरी रै'छु। मलाई पनि आजभोलि त्यसको भर लाग्दैन। ऊ गुरुङ, म क्षेत्री हाम्रो जात मिल्दैन रे! तिमीसँग मेरो बिहा नहुन सक्छ भन्दैथ्यो।'

मैले भनेँ- 'जातमा के हुन्छ र? मान्छेहरू अहिलेको जमानामा पनि जातको पछि लाग्छन्। यो समाज कहिल्यै परिवर्तन नहुने भो। मन मिलेसि त भैगो नि! जातले न खान दिन्छ, न लगाउन।'

प्रति मेरो कुरामा सहमति जनाउँदै गई- 'मैले पनि यही कुरा भनेकी हुँ। आजभोलि भेट्यो कि किचकिच गर्न थालिहाल्छ, वाक्क लाउँछ भन्या। उसो भए नभेटुँ, अब नबोलुँ भन्छु, त्यो पनि मान्दैन। सधैँ भेट्न खोज्छ, बोल्न खोज्छ। मलाई भेट्नको लागि जहाँ भनो त्यहीँ आउँछ अनि एकछिन गफ गर्न नपाई अनेक बहाना बनाउँछ, हिँडिहाल्छ। आफूलाई सँगै बसेर कत्ति गफ गर्न मन लाउँछ। आँखामा आँखा जुधाएर घण्टौँ हराउन मन लाउँछ। मुटुभरि भरिएर आएको माया पोखाउन मन लाउँछ। ऊ भने मेरो चाहना अधुरै छाडेर बिच्क्याएर जान्छ।'

विचरा प्रति, संकटमा परिछे। कत्ति न माया बुझे जसरी म उसलाई सम्झाउन तम्सिएँ- 'हेर प्रति, कविरले तँलाई माया नगर्नेचाहिँ होइन तर तँसँग बिहाचाहिँ नगर्ने रै'छ। त्यही भएर धेरै नजिक हुन नखोजेको होला। तँलाई भुल्न नसकेर, तेरो यादले सताएर भेट्नचाहिँ आइरहन मन लागेको हुनपर्छ। अनि फेरि धेरै बेर बस्यो भने धेरै थोक हुन्छ भनेर डराएको हुनपर्छ। उसले भनी नै सक्या रै'छ, तँसँग बिहा हुँदैन भनेर फेरि तँ किन भेट्न गैरकी नि? भो पर्दैन अब नभेट। यस्तो फेद न टुप्पोको मायाले जिन्दगी चल्दैन। त्यसको झूटो मायामा नअल्झी, अब भुलिदे त्यसलाई। भनिदे सबै, बिनापत्तामा के नाटक हेरेर बस्छेस्। त्यस्ता केटा जत्ति पाइन्छन्। आफ्नो कोही नहुँदा त भैरा’छ', मैले रिस देखाए झैँ गरी भनेँ।

प्रति उनीहरूको बीचमा भएका सबै कुरा यसरी भन्दै गई-

'अरूले सम्झाउँदा एकछिन शान्त हुने मात्र न हो, यो मन मान्दै मान्दैन। अब भेट्दिनँ, बोल्दिनँ भन्छु, उसले फोन गरेसि मन बहकिहाल्छ, रोक्नै सक्दिनँ। एकचोटि त बीस दिनसम्म नबोली, नभेटी बसेँ। फेरि उसले फोन गरेको गर्‍यै गर्‍यो, मन थाम्नै सकिनँ। भेटुँभेटुँ लागिहालो अनि सधैँ भेट्ने ठाउँ, उही न्युरोडको कोइलामा गएर भेटेँ। तीन पाथी रिस थ्यो, सबै एकैचोटि पोखुँ जस्तो लागेको थ्यो। ऊ केही बोलेन, मनमा तीन पाथी माया भएजस्तो गर्‍यो, पोख्न सकिनँ। उसलाई चिथोर्न मन थ्यो तर छुन पनि सकिनँ। उसको मौनताले मलाई पनि मौन बनायो। उल्टै मलाई मायामा बहकायो।

भन्दै थ्यो- 'यो मनले तिमीलाई नै खोजिरहन्छ, मलाई तिम्रै माया लागिरहन्छ। मेरो एक्लोपनको साथी बनेर तिम्रो तस्बीर यी आँखामा नाचिरहन्छ। मलाई सधैँ तिम्रै मायाको भोक लागिरहन्छ। यो पागल मन तिमीलाई नै मागिरहन्छ। बीस दिनसम्म कसरी नबोली बस्यौ? एकदिन पनि तिमीलाई मेरो याद आएन? मसँग बोलूँबोलूँ लागेन? बोल न प्रति, किन नबोलेकी, के भयो तिमीलाई? म यस्तै परिबन्दमा छु। न तिमीलाई अँगाल्न सक्छु, न त भुल्न नै, म के गरूँ?'

'यस्ता नामर्दको काम छैन मरे हुन्छ' भन्न मन थ्यो तर सकिनँ। अनि यसो भनेँ- 'सम्झने बाटो राखेको भए पो सम्झनु त! म आउने बाटोमा तगारो लगायौ, कसरी आउनु? भयो, धेरै नाटक नगर। तिम्रो मायाले म अघाइसकेँ। अब धेरै माया नदेखाऊ, मलाई अमन भैसको। साँचेर राख, पछि काम लाग्छ।'

हामी टेबलमा आमुन्ने सामुुन्ने बसेका थ्यौँ। कविर उठेर मेरो छेउमै आएर बस्यो र भन्न थाल्यो- 'प्रति, यो मनले तिम्रै साथ खोजिरहन्छ। म पनि तिमीसँगै यो जिन्दगी बिताउन चाहन्छु। तिमी मेरो मुटुमा छ्यौ, हरेक धड्कनमा धड्किन्छ्यौ। प्रति, तिमी टाढा हुँदा मेरो मुटु नै मसँग नभएजस्तो हुन्छ।'

उसले मेरो मनको कुरा ओकलिरहेको थ्यो। उसलाई साँच्चै त्यस्तो हुन्थ्यो भने त मबाट टाढा हुन खोज्ने नै थेन नि! मायामा मान्छेले दुनियाँ त्याग्छन्। परिवारले त केही समयपछि स्वीकार गरिहाल्थे नि! आखिरमा म ऊभन्दा माथिल्लै जातको केटी हुँ। मलाई त्यो सब नाटक जस्तो लाग्यो। बुझेर पनि बुझ्नै नसकिने लीला जस्तो लाग्यो। अनि उसको त्यो नाटक हेर्न नसकेर मनमा घृणा पनि जाग्यो।

मलाई मायाको नशामा डुबाएर ऊ तैरन लागे जस्तो लाग्यो। अनि उसलाई गाली गर्न थालेँ- 'कविर, तिमी त कलाकारै रै'छौ। नाटक गर्न त खुब आउने रै]छ हई! भयो, पुग्यो मलाई तिम्रो नाटक हेर्नु छैन। जाऊ रंगमञ्चमा गएर गर। लाज लाग्दैन तिमीलाई? यस्ता चिल्ला कुराले केही हुँदैन। मलाई पनि आउँछ गफ गर्न।'

म जुरुक्क उठेर हिँड्न खोज्दै थेँ, कविरले मलाई रोक्यो। उसलाई सधैँ हतार हुन्थ्यो, त्यो दिन मेरो गाली मीठो लागेछ क्यार! मलाई पो रोक्यो। मैले झर्कंदै भनेँ- 'म किन बस्नु फेरि? अब तिमीसँग केही बोल्नु छैन र तिमीलाई भन्नु पनि केही छैन।'

 

उसले भन्यो— “प्रति, मेरो बर्थडेमा चाहिँ एकचोटि जसरी भए पनि भेटौँ है, प्लिज! दुई महिना पछि त मेरो इङ्गेजमेन्ट हुँदैछ। त्यसपछि हाम्रो भेट होला नहोला!”

मलाई अर्को झड्का लाग्यो। उसको त बिहा नै पो फिक्स भैसकेको रैछ। किन हतारिएको त नि बिहा  गर्नलाई भनेर सोधेँ।

उसले भन्दै गयो— “तिम्लाई त थाहा छ नि! मलाई पढ्न आउँदैन। एस.एल.सी. पनि तीन चोटिमा पास गरेको हुँ। एघारमा नि तीनवटा विषय लाइरा’को छ। त्यही भएर घरमा बिहा गर्दिन लाग्नुभा हो। कोसिस धेरै गरेँ तर घरमा कसैलाई बुझाउन सकिनँ। तिम्रो कुरा राख्ने ठाउँ नै पाइनँ। ड्याडिले मेरो कुरै सुन्नु हुन्न। सबै कोसिस खेर गयो। भाग्यमा लेखेको कुरा भोग्नै पर्ने, टारेर नटर्ने रैछ। यस्तै छ मेरो हालत, भाग्यलाई दोष लगाएर बस्न बाध्य छु।”

त्यस्तो समस्या त केटीलाई पर्‍थ्यो, केटा भएर पनि कस्तो लाचार! मैले बोल्ने ठाउँ नै रहेन। बोलेर पनि हुनेवाला केही थेन। टाउको चड्केर आयो। आफ्नो जिउ आफैलाई भारी भो। आँसु आफै बग्न थाल्यो। मलाई बस्न मन लागेन। केही नबोली घर आएँ। सिरकले मुख छोपेर धेरै बेर रोएँ। कति दिन त खाना पनि खाइनँ। बाहिर निस्किन पनि मन लाएन। दिव्यालाई त सबै कुरा भनेकी थेँ। तेरो लभ नै परेको थेन, तैँले मेरो फिलिङ्स बुझ्लिस् जस्तै लागेन त्यसैले तँलाई सुनाइनँ।

प्रतिले उसको अधुरो प्रेम कहानी रुँदै सुनाई। मलाई साह्रै नराम्रो लाग्यो। हुने नहुने सबै भैसक्या रैछ। अनुराग र कविर दुवै मतलवी रैछन्। धन्न म तिनीहरूका पञ्जामा परिनछु, बित्थामा आरिस मात्र गरिछु भन्ने लाग्यो। यो माया पनि बुझेर बुझ्नै नसकिने, लीला रैछ।

प्रतिले सुत्ने कुरा गरी। भोलिपल्ट कलेज नि जानु थ्यो। त्यसैले हामी सुत्यौँ। म भित्तापट्टी सुतेँ। मनमा अनेक कुराहरू खेलिरहे, मलाई धेरै बेरसम्म निद्रा नि लागेन।

(बुलबुल पब्लिेकेसनद्वारा  प्रकाशित जमुना न्यौपानेको 'कैली' उपन्यास शनिबार ललितपुरमा विमोचन हुँदै छ।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.