|

काठमाडौं: ‘समस्याको त कुरै नगरौँ। यहाँको धूलो घरमा गएर बसिसक्नु हुँदैन। पाँच वर्ष हुन लाग्यो यो बाटो बनाउन थालेको, त्यस बेलादेखि हामी धूलो खाएर बसेका छौं’, शुक्रबार दिउँसो कोटेश्वर चोकमा भेटिएकी कल्पना दाहाल (५५) आफ्नो समस्या सुनाउँदै थिइन्। उनी मात्र होइन, चक्रपथ विस्तार परियोजनाअन्तर्गत कलंकी–कोटेश्वर सडक विस्तारमा ढिलाइ हुँदा त्यस क्षेत्रका यात्रुदेखि व्यवसायीले समेत दैनिक सास्ती भोग्नुपरेको छ।

सन् २०१३ बाट विस्तार सुरु भएको उक्त सडक खण्डअन्तर्गतको सडक तोकिएको समयमा निर्माण सम्पन्न हुन नसक्दा स्थानीयले सास्ती भोग्नुपरेको हो। ‘घरमा लुगा सुकाएको हुन्छ। लुगामा यहाँको धूलो गएर लाग्छ’, दाहालले भनिन्, ‘भान्सासम्म धूलो पुग्छ। यो निर्माण हुन थालेदेखि खाना पनि राम्ररी खान सकिएको छैन। सधैँ धूलोसँगै खाना खानुपरेको छ।’ धूलोका कारण घरमा बस्नसमेत समस्या भएको उनी बताउँछिन्। भन्छिन्, ‘काठमाडौंकै सबैभन्दा धेरै समस्या कोटेश्वरमै होला। यो सडक बनाउन थालेदेखि त यहाँ बस्न मन नै लाग्न छाड्यो।’

काममा ढिला गर्दा धेरै समस्या भएको उनले बताइन्। उनले भनिन्, ‘काम सुरु गर्दा त दुई वर्षमा सक्छौँ भन्थे तर अहिलेसम्म सकेनन्। कामको ताल हेर्दा अहिले पनि छिट्टै सक्छन् जस्तो लाग्दैन।’ समयमा काम नसक्दा बाटो काट्न पनि समस्या हुने गरेको उनले बताइन्। ‘काम धमाधम भएको ठाउँबाट बाटो काट्न पनि मिलेन, बाटो काट्नलाई आकाशे पुल भएको ठाउँसम्म हिँडेर जानुपर्छ’, उनले भनिन्।

चीन सरकारको सहयोगमा विस्तार भइरहेको कोटेश्वरदेखि कलंकीसम्मको १० दशमलव ३९ किलोमिटर सडक सन् २०१३ बाट सुरु भई २०१६ मा सम्पन्न गर्ने योजना थियो। तर भूकम्प, नाकाबन्दीलगायत समस्या देखाउँदै निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपले सन् २०१८ जुलाईलाई म्याद थप्न आग्रह गरेको थियो। यो सडक विस्तार भइसक्दा कोटेश्वरदेखि कलंकीसम्मको चक्रपथ आठ लेनको हुनेछ।

चक्रपथ विस्तारले पूर्णता नपाउँदा सवारी चलाउन समेत समस्या भएको ट्याक्सी चालक राम श्रेष्ठले बताए। ‘आजकाल त यात्रु नै पाइँदैन। यो बाटोमा धेरै जाम हुन्छ। दिनभर पर्खियो, कोही आउँदैनन्', उनले भने, ’बाटो विस्तार नहुँदा धेरैलाई समस्या त भएको हो तर सबैभन्दा धेरै समस्याचाहिँ हामीलाई छ।' तर, अबचाहिँ काम छिटै होला भन्ने आशा लागेको उनले बताए। 'काम धमाधम हुँदै छ। यस्तो समस्या अब धेरै भोग्नुपर्दैन होला’, श्रेष्ठले भने।

सडक विस्तारमा ढिलाइ हुँदा समस्या त सबैलाई नै छ। सडकमा यात्रा गर्ने यात्रु, बटुवादेखि व्यापारीसम्मलाई समस्या छ। तर फुटपाथमा व्यवसाय गर्नेको समस्या भने छुट्टै छ। बाटोको भीड, त्यहीँमाथि पार्किङको समस्या। जतातै सवारी पार्किङ गर्दा फुटपाथका व्यवसायीलाई धेरै समस्या भएको फुटपाथ व्यवसायी हरिमाया नेपालीले बताइन्। ‘अरू पसलेलाई त खासै समस्या नहोला, उनीहरूले त घरभित्र व्यापार गर्न पाउँछन्’, उनले भनिन्, ‘हामीले त धूलोको समस्या उस्तै भोग्नुपरेको छ। त्यहीँमाथि पार्किङ नहुँदा हामीले राखेको पसल छेउमै गाडी रोक्छन्। यहीँबाट मान्छे हिँड्दा हामीलाई बस्न धेरै समस्या भएको छ।’

पसलमा रहेका सबै सामानमा धूलो लागेर हेरिनसक्नु हुने गरेको बालकुमारीका व्यवसायी उपेन्द्र मानन्धर बताउँछन्। भन्छन्, ‘धूलोले सबै पसलको सामान बिगार्छ। बरु सडक विस्तार नहुँदा धूलो त आउँदैनथ्यो।’ उनले सडक विस्तार भइसक्न लागेको भए पनि जाम भने नघट्ने बताए। उनले भने, ‘सडक राम्रो बनाएर मात्र हुँदैन। यहाँदेखि कलंकीसम्म कति ठाउँमा ओभर हेड ब्रिज छ? त्यसमा पनि भर पर्छ।’

अरू ठाउँमा त धूलोको मात्र समस्या होला तर उनको पसल अगाडि त हिलोको पनि समस्या छ। पसल अगाडि सडक विस्तारका क्रममा खानेपानीको पाइप फुटेर हिलाम्मे भएको छ। उनी भन्छन्, ‘पसल अगाडि पानीको पाइप फुटेर यस्तो हिलाम्मे भएको छ। कसैले पनि हेर्दैन, व्यापार त घटेकै छ, हामीलाई ओहोरदोहोर गर्न पनि समस्या छ।’ 

सडक विस्तार समयमा सम्पन्न नहुँदा स्थानीयले फरक फरक खालका समस्या भोग्नुपरेको छ। सडको पेटीमा रहेका ढललाई ढकनीविना नै छाड्दा आवतजावत गर्नै समस्या भएको कोटेश्वरकी स्थानीय व्यावसायी भगवती उप्रेती थापाले बताइन्। उनले भनिन्, ‘धूलोको समस्या त छँदै छ। सडक पेटीमा रहेको ढलको ढकनी त्यसै छाडिँदा केटाकेटी खेल्न जाँदा डुब्छन् कि भन्ने चिन्ता छ।’ सडक विस्तारमा समय लागे पनि ढलमा चाहिँ तत्काल ढकनी लगाउनुपर्ने उनको भनाइ छ।

६० प्रतिशत काम सकियो

कोटेश्वर-कलंकी सडको विस्तारको ६० प्रतिशत काम सकिएको चक्रपथ विस्तार परियोजनाले जनाएको छ। परियोजनाका प्रमुख ज्ञानेन्द्र झाले तोकिएको समय जुलाई ३१ सन् २०१८ मा नै सम्पन्न हुने बताए। काम धमाधम भइरहेको भन्दै उनले तोकिएको समयमा नै सकिने बताए। सडक विस्तारमा जटिल काम सकिएकाले अब खासै समय नलाग्ने उनले बताए।

अहिले उक्त सडकमा नाली निर्माण, सडकको मध्यभागमा फाइनल लेयर राख्ने काम भइरहेको प्रमुख झाले बताए। २०१३ बाट निर्माण सुरु भएको उक्त सडक विस्तारको काम ४० महिनाभित्र सक्ने संझौता भएको थियो।

‘४० महिनाभित्र सम्पन्न गर्ने संझौता त भएको थियो तर अघोषित नाकाबन्दी महाभूकम्पलगायत कारणले काम रोकियो। समयमा सम्पन्न हुन सकेन’,उनले भने,‘त्यसपछि फेरी दुई वर्षको म्याद थपेको हो। आशा गरौं यसपटक भने समयमा नै सम्पन्न हुनेछ।’ उक्त सडक विस्तारका लागि चीन सरकारले करिब ५ अर्ब र प्रविधिक सहयोग गरेको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.