|

  • जङ्ग तामाङ-

पाँचथरः पाँचथरको फिदिममा फाल्गुनन्द गोल्डकपको नवौँ संस्करण सुरु भएको छ। शुक्रबार भएको खेलमा ब्वाइज युनियन क्लव काठमाडौंलाई सुनसरी– ११ ले ३–० ले पराजित गर्‍यो।

सुनसरीका लागि खेलको चार मिनेटमै तीर्थ बस्नेतले हेमन्त थापा मगरले कर्नरबाट प्रहार गरेको बललाई गोलमा परिणत गर्दै अग्रता दिलाए। खेलको ३६औँ मिनेटमा पनि बस्नेतले नै थप गोल गरी अग्रता दोब्बर बनाए भने ५६औँ मिनेटमा साजन याख्खाले अग्रतालाई तेब्बर बनाए। 

पहिलो हाफमा कमजोर खेल प्रदर्शन गरेका ब्वाइज युनियन खेलाडीहरूले दोस्रो हाफमा सुधारोन्मुख प्रदर्शन गरे पनि गोल गर्न भने सकेनन्। खेलको म्यान अफ द म्याच सुनसरीका तीर्थ बस्नेत नै घोषित भएका छन्। प्रतियोगिताअन्तर्गत भोलि विर्ता युनाइटेड क्लव झापा– ११ र मिसन युनाइटेड क्लव ताप्लेजुङबीच खेल हुने आयोजकले जनाएको छ। 

‘ए’ डिभिजन लिग खेल्दै आएका क्लवहरूको बाहुल्य रहेको प्रतियोगिताको विजेताले नगद तीन लाख र उपविजेताले दुई लाख रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन्। प्रतियोगिताको सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक, गोल रक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड र उदाउँदो खेलाडीलाई नगद १० हजार रुपैयाँका दरले प्रोत्साहन पुरस्कार दिने आयोजक फिदिम स्पोर्टिङ क्लवका महासचिव पासाङ तामाङले बताए। उनका अनुसार प्रतियोगिताकै उत्कृष्ट खेलाडीलाई भने २५ हजार रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगिताको फाइनल खेल भने १६ मंसिरमा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.