|

झापा (दमक) : व्यावसायिक र आधुनिक खेतीतर्फ किसानहरुको आकर्षण बढेसँगै उन्नत बीउ बिजनको प्रयोग बढेको छ। झापाका किसानहको कृषि प्रतिको बढ्दो आकर्षणकै कारण पहिलो पटक समुदायस्तरबाट बीउ प्रशोधन केन्द्र सञ्चालनमा आएको छ।

झापाको गौरादह नगरपालिका वडा नं ७ मा पर्ने महारानीझोडा सानाकिसान कृषि सहकारी संस्थाले आधुनिक प्रविधिबाट विभिन्न कृषि बालीको बीउ बिजन प्रशोधन गर्ने उद्योगनै सञ्चालनमा ल्याएको हो।

यस बीउ विजन प्रशोधन तथा भण्डारणका मुख्य व्यवस्थापक हेमराज विष्टका अनुसार सो केन्द्रले २०७२ माघदेखि बीउ विजनको प्रशोधन सुरु गरेपछि माग क्षमताअनुसार अझै सञ्चालन हुन सकेको छैन।

हाल १४ कठ्ठा जग्गामा स्थापना गरिएको सो बीउ विजन केन्द्रमा आवश्यक उपकरण खरिद तथा भौतिक संरचना निर्माणमा सरकारले ८० प्रतिशत अनुदान उपलब्ध गराएको जनाइएको छ। यहाँ बीउ विजन प्रशोधनका लागि ७० लाख रुपैयाँको लागतमा आधुनिक मेसिन ल्याइएको छ। बीउ विजन केन्द्र कूल २ करोड ९५ लाख रुपैयाँको लगानीमा निर्माण भएको हो।

माग धान्नै मुस्किल

सहकारी संस्थाले पूर्वी भेगका किसानहरुलाई कृषि बालीका लागि उन्नत जातका बीउविजन उत्पादन तथा प्रशोधन गर्ने उद्देश्यले स्थापना गरेको यो केन्द्रमा आधुनिक किसिमका उपकरणहरु रहेका छन्। जसका माध्यमबाट धान, गहुँ, तोरी, मकै र घाँसको बीउ प्रशोधन गर्ने गरिएको व्यवस्थापक विष्टले जानकारी दिए।

उनका अनुसार सो केन्द्रमा संस्थाले गौरादह ४ मा लिजमा लिएर खेतीपाती गर्दै आएको गौरादह ४ र ५ को एक सय विगाहामा   बीउ उत्पादनका लागि लगाइएका बालीको  प्रशोधन गरिँदै आएको छ।

सो केन्द्रले गत वर्ष मात्रै धानको बीउ २ सय ८० , जै घाँस १६, तोरी २ र गहुँ ३२ मेट्रिक टन बीउ प्रशोधन गरी बजारमा पुर्‍याएको थियो। आगामी वर्षदेखि मकैको बीउ समेत प्रशोधनका लागि तयारी भइरहेको छ।

सुरुआती समयमा स्थानीय किसानहरुलाई आपूर्ति गरिएको बिउको माग बढ्दै गए पछि झापा, मोरङ तथा सुनसरीका बजारसम्म यहाँबाट प्रशोधित बिभिन्न बालीका बिउ पुग्ने गरेका छन्। इलाम, पाँचथर, सप्तरी, सिरहा लगायतका जिल्लाबाट पनि उन्नत र प्रशोधित बिउहरुको माग भए पनि आपूिर्त गर्न कठिन भइरहेको व्यवस्थापक विष्टले बताए।

उत्पादन बढाउन अनुदान

प्रशोधित बालीका बीउको माग उच्च भएपछि प्रशोधन केन्द्रले किसानलाई उत्पादन वृद्धिमा प्रोत्साहन गर्न अनुदान पनि प्रदान गर्दै आएको छ। किसानलाई पहिलो पुस्ताको बिउ उपलब्ध गराई त्यसबाट उत्पादिन सबै उत्पादन प्रशोधन केन्द्रले खरिद गर्ने गरेको छ। किसानबाट खरिद गरिएका बालीनै बिउका लागि प्रशोधन गर्ने गरिएको छ। यसका लागि संस्थाले किसानलाई खेती र बिक्रिमा अनुदान दिने गरेको छ।

१० कट्ठाभन्दा बढी क्षेत्रफलमा जैघाँस खेती गर्ने किसानलाई गत वर्ष प्रति कट्ठा २ सय रुपैयाँ अनुदान उपलव्ध गराईएको थियो।

यस वर्ष भने ५ कट्ठा भन्दा बढि खेती गर्नेलाई प्रति कट्ठा १ सय र उत्पादनमा प्रतिकिलो ३ रुपैयाँ अनुदानको व्यवस्था गरिएको छ। माग बढि भएका बालीको बिउ उत्पादनलाई प्रोत्साहन गर्न अनुदानको व्यवस्था गरिएको।

 सहकारीको आफ्नै खेती

किसानलाई व्यावसायिक खेतीतर्फ प्रोत्साहन गर्न र बढ्दो बीउ मागको बजार धान्न सहकारी संस्थाले आफँै किसानहरुलाई संगठित गराई सामूहिक खेतीसमेत गर्दै आएको छ। हाल दुई स्थानमा गरी करिब १ बिगाहा जमिनमा सामूहिक खेती गरिएको सहकारी संस्थाका व्यवस्थापक चिरञ्जीवी भण्डारीले बताएका छन्।

सामूहिक खेतीमा समावेश किसानले आफ्नो जमिनबाट उत्पादित उपजको निश्चित परिणाम पनि पाउँछन् भने बाँकि उपज बिउ प्रशोधनका लागि संस्थालेनै खरिद गर्ने गरिएको छ।

सामूहिक खेती गर्दा यन्त्र तथा उपकरणहरुको प्रयोग गर्न सजिलो हुने, लागत न्युनिकरण हुने र उपज विक्रीका लागि बजारको समेत समस्या नभएकाले सामुहिक खेतीमा किसानको आकर्षण बढि रहेको भण्डारीले बताएका छन्।

किसानले आँफै गर्ने थोरै थोरै खेतीमा यन्त्र तथा औजारहरुको प्रयोगमा कठिनाई हुने तर सामुहिक रुपमा गर्दा सहज र व्यवस्थित हुने गरेको संस्थाकी अध्यक्ष मीना ढकालको अनुभव छ। संस्थाले मेसिन मार्फतनै धान रोप्ने, माटोको उपचार गर्ने, बोरीङ्को बन्दोबस्ति मिलाउने लगायतका काम गरि किसानहरुलाई आधुनिक खेतीतर्फ डोर्‍याएको उनले बताएका छन्।

कृषिमा आधुनिकता बढे पनि उन्नत बिउको अभाव हुने र नेपाल आत्मनिर्भर समेत हुन नसकेकाले बीउको आयात प्रतिस्थापनमा सहयोग पु¥याउन बीउ प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.