|

काठमाडौं : जेवी दर्लामीको उपन्यास ‘यात्री’ सार्वजनिक भएको छ। उपन्यसाको कवि श्यामल, पत्रकार बसन्त बस्नेत, निबन्धकार कुमारी लामा र समिक्षक रुपक अलङ्कारले अनामनगरस्थित मण्डला थिएटरमा संयुक्तरुपमा विमोचन गरेका हुन्।

उपन्यासबारे बोल्दै कवि श्यामलले नेपाली साहित्यमा गम्भीर विषयमा लेख्ने उपन्यासकार थपिएको बताए। उनले 'यात्री' उपन्यासको प्रवाहमयता लोभलाग्दो रहेको र विषयवस्तु नौलो रहेको बताए। उनले भने, 'यहाँदेखि मंगोलियासम्मको जुन भौगोलिक यात्रा गर्नुभएको छ, त्यसमा गरेको ‘डकुमेन्टसन’ र ‘काल्पनिकी’ सजिव छ।’ उनले थपे, ‘यो किताब उद्देश्यको खोजीमा होइन, गन्तव्यको खोजीमा हिँडेको रुमानी सभ्यताको चित्रण छ। मूल, पहिचान, रुटको आदिकालदेखि हालसम्मको व्याख्या गरिएको गैह्रआख्यान कृतिजस्तो लाग्छ।' उपन्यासमा मंगोलजाति र प्रकृतिबीचको गहिरो सम्बन्धबारे लेखिएको छ। बसाइँसराइ हुँदैगर्दा संस्कृति र नाममा आउने परिवर्तनबारे लेखिकएको छ।

'यात्री' उपन्यास नामजस्तै यात्रामा रहेको र त्यो यात्रा आध्यात्मिक रहेको पत्रकार वस्नत बस्नेतले बताए। उनले भने, ‘उपन्यासले एउटा आध्यात्मिक यात्राको परिकल्पना गरेको छ। यसको आकर्षक पक्ष भनेको यात्रीहरु छुट्दै जान्छन्। यसमा ‘पहिचानको राजनीति’लाई परस्पर सहअस्तित्वको दावीसँग जोडिएको छ।' बस्नेतले थपे, ‘किताबले भन्छ – प्रेम त सबैलाई गर्नुपर्छ, आफ्नै नश्ललाई मात्र किन? बरु यसो भनौं न हामी भन्दा भिन्न रुपरङ्गका मानिस अनि तिनका परम्परा र संस्कृतिलाई बुझ्ने मौका पाइन्छ।’

उपन्यासमा मनोवैज्ञानिक यात्रा रहेको निबन्धकार कुमारी लामाले बताइन्। उनलेभ भनिन्, ‘यस किताबमा बाह्य मात्र होइन, मनोवैज्ञानिक यात्रा छ। किताबमा विभिन्न ठाउँमा दार्शनिक बसहका साथै यसको माध्यमबाट अहिलेको समयलाई हेर्न सकिन्छ।' उपन्यासमा विस्थापितहरुको पीडा रहेको उनको भनाइ थियो। समीक्षक रुपक अलङ्कारले उपन्यासको पात्रले प्राचीन वंश खोज्दै हिँडेको बताए। उनले भने, 'उपन्यासमा समाज विकासको चरणमा देखा परेको आर्य सभ्यता र मंगोल सभ्यताको कथा छ।’

लिपी बुक्सले प्रकाशन गरेको उपन्यास शनिबार विमोचन गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.