|

इलाम : केही वर्ष अघिसम्म भीडभाड हुने पूर्वी पहाडको एक मात्र नाका पशुपतीनगर अहिले सुनसान छ। भारतको पश्चिम बंगाल, सिक्किम र भुटानसम्मका व्यपारीले कारोबार गर्ने पशुपतिगनर बजारमा भारततर्फको भन्सारले आयात निर्यात रोक्दा व्यापरिक कारोबार घटेको हो।

सशस्त्र युद्धअघि भारततर्फ सुकियामा भन्सार कार्यालय सञ्चालन हुँदा सो नाका हुँदै पूर्वी पहाडी जिल्लामा उत्पादित अदुवा, अलैची, अम्लिसो लगायतका कृषिजन्य सामग्रीको निर्यात हुने गरेको थियो। तर, त्यसपछि भारतीय पक्षले भन्सारको कारोबार बन्द गर्दा नेपालका उत्पादन वैधानिकरुपमा भारततर्फ निकासी हुन सकेको छैन। ‘केही वर्षअघिसम्म नेपाल र चीनमा उत्पादित सामग्री खरिद गर्न भारत र भुटानका व्यापारीको घुइँचो लाग्ने गरे पनि अहिले सुनसान छ,’ पशुपतिनगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईले भने, ‘१० वर्षअघिसम्म दैनिक ३ करोडसम्मको कारोबार हुने व्यपारिक केन्द्रमा अहिले मुस्किलले २० लाखसम्मको कारोबार हुने गरेको छ।’

नेपालमा हुने हड्ताल र आन्दोलनभन्दा गोर्खाल्याण्डको प्रभाव

पछिल्लो समय सीमावर्ती भारतीय क्षेत्रमा गोर्खाल्याण्ड आन्दोलन चलेपछि पशुपतिनगरको व्यपारिक कारोबार ठप्प हुनका साथै व्यपारीहरु विस्थापित हुने क्रम बढ्दै जान थालेको हो। २०३६ सालमा स्थापना भएको पशुपतिनगर व्यपारिक केन्द्रमा ९० प्रतिशत ग्राहक भारतीय पर्यटक, व्यपारी र सर्वसाधारण हुने गरेका थिए।
नेपालमा गरिएको आन्दोलन र हड्तालले खासै असर नगर्ने पशुपतिनगर सीमावर्ती दार्जिलिङमा ३ महिनासम्म चलेको आन्दोलनमा सुनसान रह्यो। भारतीय भन्सार कार्यालयले कारोबार नगर्दा चोरबाटो प्रयोग गर्नुपर्ने भएकाले धेरै भारतीय व्यापारी आउन छाड्दा व्यपार सुकेको पशुपतिनगर उद्योग वाणिज्य संघकी पूर्वअध्यक्ष एवम पूर्वसासंद लीलादेवी श्रेष्ठ बताउँछिन्।

चीनबाट सामानहरु सोझै भारतका विभिन्न सहरहरुमा जाने गरेकाले पनि पशुपतिनगरको व्यपार घट्न थालेको श्रेष्ठको बुझाइ छ। उनले भनिन्, ‘अहिले चीनले नुथला बोर्डर हुँदै भारततर्फ आफ्ना उत्पादन हुँदै निर्यात गर्न थालेको छ। २०६४ जेठबाट त भारतीय नाका पूर्णरुपमा नै बन्द भयो। भारत चीन व्यपार सन्धिपछि सोझै चाइजिन सामान भारत जाने गरेको छ।’

व्यापार सुक्दै जाँदा अधिकांश व्यपारीहरु विस्थापित भई काठमाडौं, विराटनगर, विर्तामोड, भारतको शिलिगुडीलगायतका सहरहरुमा जाने गरेका छन्। २५ वर्षदेखि व्यपार गर्दै आएका विर्तामोडका लीलानाथ घिमिरे पशुपतिनगर यस्तै सुनसान नै रहे ताला मारेर हिँड्नुको विकल्प नभएको बताउँछन्। उनी भन्छन्, ‘कारोबार ठप्प छ। यस्तै हो भने ताला मार्नुको विकल्प छैन ।’ भारतबाट कहिलेकाही आउने पर्यटकहरुले कपडा खरिद गर्ने गरेको उनले बताए।

अध्यागमन नहुँदा तेस्रो मुलुकबाट पर्यटक भित्रन समस्या

पशुपतिनगरमा अध्यागमन कार्यालय नहुँदा तेस्रो मुलुकका पर्यटक नेपालका पर्यटकस्थल आउन सकेका छैनन्। पशुपतिनगरमा पर्यटकीय क्षेत्रको प्रचारका लागि पर्यटकीय सूचना केन्द्र निर्माण गरे पनि अहिले सञ्चालनमा आएको छैन। इलाम, पाँचथर र ताप्लेजुङ क्षेत्रमा उत्पादित सामग्री निर्यात गर्न सहज र छोटो बाटो हुने पशुपतिनगर नाकामा भारतसंगको सहकार्यमा सरकारले अध्यागमन, प्लान्ट क्वाराइन्टेन लगायतका कार्यालय सञ्चालनका लागि पहल गर्नुपर्ने स्थानीय मिलन क्षेत्री बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.