|

जाजरकोट : जिल्ला सदरमुकाममा पुस १२ गतेदेखि दोस्रो जाजरकोट महोत्सव (कृषि पर्यटन तथा व्यापार मेला २०७४) हुने भएको छ। जाजरकोट उद्योग वाणिज्य संघको आयोजना र भेरी नगरपालिकाको सहआयोजनामा पुस १६ गतेसम्म महोत्सव सञ्चालन हुनेछ।

जाजरकोटका वासिन्दाको आयस्तर वृद्धि गरी जीवनस्तर वृद्धि गर्ने परिकल्पनासहित गर्न लागिएको महोत्सव सदरमुकाम खलंगाको त्रिभुवन माध्यामिक विद्यालयको प्रांगणमा सञ्चालन हुनेछ। मेला सफल बनाउन जिल्ला समन्वय समिति लगायतका सरकारी तथा गैरसरकारी निकायहरुको सहयोग रहने महोत्सव आयोजक मूल समारोह समितिका संयोजक तथा जाजरकोट उद्योग वाणिज्य संघका अध्यक्ष कर्णबहादुर खत्रीले बताए। जाजरकोटको पर्यटन, उद्योग तथा व्यावसायको प्रचार प्रसार गरी यसको दिगो विकासका लागि दोस्रो जाजरकोट महोत्सवले सहयोग पुर्‍याउने उनले आशा व्यक्त गरे।

पाँच दिनसम्म सञ्चालन हुने महोत्सवको कम्तीमा ५० हजार दर्शकहरुले अवलोकन गर्ने तथा १ करोड भन्दा बढीको कारोबार हुने मेला आयोजकको अनुमान छ। मेलामा स्थानीय उत्पादन, वहुमुल्य पत्थर, घरेलु उत्पादन, फोटो प्रदर्शन, सांस्कृतिक तथा पौराणिक झाँकी, स्थानीय कला र संस्कृति झल्काउने नाचहरु पनि देखाइनेछ। त्यसैगरी महोत्सवमा स्थानीय कलाकारसँगै बद्री पंगेनी, प्रिती आले, नवीन पौडेल लगायतका राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारको पनि प्रस्तुति रहने संयोजक खत्रीले जानकारी दिए।

महोत्सवमा लोक दोहोरी गीत, स्थानीय लोक संस्कृति झल्काउने झाँकी, खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता पनि सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.