|

काठमाडौंः सीमावर्ती बासिन्दाले भोग्नुपरेको समस्या र त्रासदीलाई आधार बनाएर लेखिएको रवीन्द्र कार्कीको उपन्यास ‘बोर्डर’ सार्वजनिक भएको छ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँला, कवि विप्लव प्रतीक, पत्रकार फणीन्द्र संगम, डोलेन्द्र थापालगायतले पुस्तकको विमोचन गरे।

पुस्तकमाथि धारणा राख्दै पूर्व कुलपति काइँलाले मेची सिमानाको सामाजिक कथालाई लेखकले मिहिन ढंगले औपन्यासिक रूपमा प्रस्तुत गरेको बताए। सीमावर्ती भूगोलका मानिसहरूको हिमचिम अर्को देशका सिमानाकै मानिससँगै हुने भएकाले त्यहाँ सम्बन्धको विस्तारसँगै अप्रत्यक्ष त्रासको सिर्जना रहने उनको भनाइ थियो।

‘पूर्वी नेपालको झापाका गाउँहरूलाई परिवेश बनाएर चार दशकअघिको सामाजिक, साँस्कृतिक, राजनीतिक विषयलाई उपन्यासमा चित्र जस्तो बनाएर देखाएका छन् लेखकले’, उनले भने, ‘चोरी, लुटपाट र डकैतीको समस्याबाट आजित बासिन्दाको मनोदशा त्यो बेला जस्तो थियो, अहिले पनि त्योभन्दा फरक छैन।’

कवि विप्लव प्रतीकले हराइसकेको पाण्डुलिपि खोज्न लगाईकन प्रकाशनसम्मको अवस्थाबारे चर्चा गरे। ‘चालीस वर्षअघि लेख्न थाल्नुभएको रहेछ। पाण्डुलिपि थन्किएर बसेको थाहा पाएपछि खोजी गर्न लगाएँ’, उनले भने, ‘नेपाली साहित्यका लागि यतिको महत्त्वपूर्ण कृति आवश्यक छ भन्ने लागेरै प्रकाशनको तारतम्य मिलेको हो।’ उपन्यासले सिमानामा चलिरहने घटनाका सूक्ष्म कथाहरू खोतलेको उनको भनाइ थियो।

अर्का वक्ता पत्रकार फणीन्द्र संगमले सिमानामा रहेका नेपालीले वर्षौंदेखि भोग्दै आएको त्रासदीको सग्लो चित्र उपन्यासले कोरेको बताए। पुस्तकको औपन्यासिक संरचना अब्बल रहेको उल्लेख गर्दै उनले पाठकलाई तत्कालीन समाज र इतिहास बुझाउन पुस्तक सफल रहेको चर्चा गरे। ‘सिमानामा हुने लुटपाट, चोरी डकैतीका साथै चार दशकअघिको सामाजिक संरचनाको सग्लो चित्र उपन्यासले उतारेको छ’, उनले भने, ‘पञ्चायती समाज व्यवस्था र नेपाली समाजको विगत खोतल्न पनि उपन्यास निकै सहयोगी बनेको छ।’

मिर्गौलाको रोगबाट पीडित लेखकको भने पुस्तक प्रकाशनको चरणमै निधन भएको थियो। उनकी छोरी कलिना कार्कीले लेखकको निजी जीवन र साहित्यिक रुचिका बारे चर्चा गरिन्।

पुस्तकलाई इन्डिगो इंकले प्रकाशन गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.