|

काठमाडौं : कतिपय मानिसको बिहान उठ्दा शरीरका विभिन्न भागमा निलडाम देखिन्छ। यस्तो समस्यालाई गाउँघरमा बोक्सीको टोकाइको रुपमासमेत लिने गरिन्छ। गाउँघरमा बोक्सीले टोकेको भनेर निदानका लागि धामी झाँक्रीकोमा पनि धाउने गरिन्छ। तर रगतमा आउने समस्याका कारण शरीरमा निलो डामहरु देखापर्ने चिकित्सकहरु बताउँछन्। 

लामो समयसम्म शरीरमा यस्ता निलडाम देखिएमा रक्त क्यान्सर (ब्लड क्यान्सर) सम्मको खतरा हुन्छ। भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत रक्त क्यान्सर रोग विशेषज्ञ डा. अजय झाका अनुसार शरीरमा देखिने यस्ता निलडाम रगतमा प्लेटलेट्सको कमीपछि आन्तरिक रक्तश्रावका कारण हु्न्छ। 

विविध कारणले बोनम्यारोमा प्लेटलेट्स बन्न नसकेमा शरीरमा आन्तरिक रक्तश्राव हुने गर्छ। यसले गर्दा नै शरीरका विभिन्न ठाउँमा निलडाम देखिने गर्छ।

उनी भन्छन्, 'रगतमा प्लेटलेट्सको कमीका कारण हाम्रो शरीरमा निलडामहरु देखापर्ने गर्छ। जुन रगत सम्बन्धी गम्भीर समस्या हो।'  डा. झाका अनुसार एउटा स्वस्थ मानिसको रगतमा डेढ लाखदेखि ४ लाखको हाराहारीमा प्लेटलेट्स् हुनुपर्छ। तर कुनै कारणवश रगतमा प्लेटलेट्सको संख्या ३० हजार भन्दा कम भएमा शरीरमा निलडाम देखिन्छ। विशेषत: यस्ता निलडाम पाखुरा र तिघ्रामा देखिन्छ। 

'रगतमा ३० हजार भन्दा कम प्लेटलेट्स भएमा हातको पाखुरा, खुट्टाको माथिल्लो भाग, पेट, मष्तिश्कमा आन्तरिक रक्तश्राव हुने गर्छ। यस्तो बेलामा समयमानै औषधीको माध्यमबाट रगतमा प्लेटलेट्स बढाउनुपर्छ नभए पछि रक्त क्यान्सर हुन सक्छ' उनले भने। 

किन हुन्छ रगतमा प्लेटलेट्को कमी?

रगतको माध्यमद्वारा विभिन्न अंगहरुमा रक्तसञ्चार हुने भएकाले मानव शरीरलाई जिवित राख्न रगतको महत्वपूर्ण भूमिका हुन्छ। रगत निर्माणको लागि राता रक्तकोष, सेता रक्तकोष र प्लेटलेट्स महत्वपूर्ण मानिन्छ। हड्डीको भित्री भागमा बन्ने रक्तमासी ( बोनम्यारो) मा बन्ने यस्ता कोषिकाले शरीरमा रगत बनाउने गर्छ।

यदि विविध कारणले बोनम्यारोमा प्लेटलेट्स बन्न नसकेको अवस्थामा शरीरमा आन्तरिक रक्तश्राव हुने गर्छ। यसले गर्दानै शरीरका विभिन्न ठाउँमा निलडाम देखिन्छ। लामो समयसम्म रगत पातलो पार्ने औषधीको सेवन गर्नु, रगत सम्बन्धी रोगहरु ल्युकेमिया,लिम्फोमिया,माइलाबाइबोसिम, माइलोमाले गर्दा मानिसलाई थ्रोम्बोसाइटोपिनिया हुने गर्छ। जुन रगतमा प्लेटलेट्स कमी हुने एउटा कारण हो।  

रगतमा प्लेटलेट्स कमी भएको कसरी थाहा पाउने?

रगत तीन वटा तत्व मिलेर बनेको हुन्छ। रातो रक्तकोष, सेताे रक्तकोष र प्लेटलेट्स। रातो रक्तकोष अर्थात हेमोग्लोविन कमी भएमा रक्तअल्पता हुन्छ भने सेता रक्तकोषको कमी भएमा शरीरमा रोगसंग लड्ने क्षमताको कमी हुन्छ र रोगले चाँडै आक्रमण गर्छ।

यस्तै रगतमा प्लेटलेट्सको कमी भएमा अनियन्त्रित रक्तश्राव हुने, दातँबाट रगत आउने, नाकबाट रगत आउने र महिलाहरुलाई महिनावारीको बेलामा धेरै रक्तश्राव हुने र शरीरमा चोटपटक लागेर रगत बगेको बेलामा रक्तश्राव नरोकिने लक्षण देखिन्छ। यसको मुख्य लक्षण चाहिँ शरीरका विभिन्न भागमा निलडाम देखापर्नु नै हो। 

शरीरमा निलडाम हुनु पनि रक्त क्यान्सरको लक्षण हो

रक्त क्यान्सर भएकाहरुमा पनि रगतमा प्लेटलेट्सको कमी हुने भएकाले शरीरमा यस्ता निलडाम देखिएमा समयमा नै चिकित्सकलाई देखाउनु राम्रो हुन्छ। धेरै  चलायमान हुने हात खुट्टाको बाहिरी भागमा आन्तरिक रक्तश्राव भएर निलडामहरु देखिने गर्छ। समयमा नै उपचार गरेका सन्चो हुने भए पनि धेरैले यस्ता निलडामलाई सामान्य लिने वा बोक्सीले टोकेको भन्ने जस्ता कुरीतिमा विश्वास गर्दा शरीरमा देखिने गम्भीर समस्या झन् बढ्न सक्ने रक्त क्यान्सर रोग विशेषज्ञ डा. अजय झा बताउँछन्।

यस्तो लक्षण देखिदा देखिदै समयमा नै उपचार गर्न नसक्दा पछि रक्त क्यान्सर हुने वा शरीरमा रगतको कमीले गर्दा मानिसको ज्यानै जाने गर्छ। समान्यतया कहीँ ठोक्किएर वा चोटपटक बिना नै निलडाम देखिनु भनेको गम्भीर समस्या हो, यस्तो समस्या देखिनेवित्तिकै चिकित्सकसँग परामर्श गर्नुपर्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.