|

काठमाडौं : कथा, विषयवस्तु र पात्रलाई निरन्तरता दिएर त्यही नाममा बनाइने फिल्मलाई सिक्वेल भनेर चिनिन्छ। यस्ता फिल्ममा प्राय अघिल्लो फिल्मको अन्त्यबाटै कथा उठान गरिन्छ भने पात्र पनि दोहोर्‍याइन्छ।

तर नेपाली फिल्मको सन्दर्भमा हेर्ने हो भने सीमित फिल्मबाहेक अरुमा सिक्वेलको अर्थले मेल खादैन। नेपाली फिल्मले कथा वा पात्रलाई निरन्तरता नदिई सिक्वेल भनेर प्रचार गरिरहेका छन्। नाम र सफल फिल्मको ब्राण्ड बेच्न मात्र 'सिक्वेल' नाम दिइएका छन्। 'पहिलो फिल्म सफल भइहाल्यो, अब त्यसैको क्रेडिटले दोस्रो फिल्म पनि चलाउनुपर्छ' निर्माता र निर्देशकको मनसाय यस्तै देखिन्छ।

नेपालमा सर्वाधिक सिक्वेल निर्माण भएको फिल्म हो 'नाई नभन्नु ल'को। चार सिरिज बनेको यसमा कथा र पात्रलाई निरन्तरता दिइएको छैन। चारवटै फिल्मका नयाँ नयाँ कथा छन्। सफल फिल्म 'नाई नभन्नु ल'को नाममा २ थपेर विकासराज आचार्यले 'नाई नभन्नु ल २' बनाए। गीत संगीत उत्कृष्ट थिए, फिल्म सुपरहिट भइदियो। विकासले हौसिएर 'नाई नभन्नु ल ३' बनाए। यसले आशातित व्यापार गर्न सकेन। कारण, दर्शकले 'नाई नभन्नु ल २'को पात्र अनि कथाको निरन्तरता खोजिरहेका थिए।

'नाई नभन्नु ल एकदमै सफल फिल्म थियो त्यही नामलाई लिएर मैले नाई नभन्नु ल २ बनाएँ', विकास भन्छन् 'जति आश गरेर 'नाई नभन्नु ल २' बनाए त्यो भन्दा बढी सफल भइदियो।' त्यसपछि उनले 'नाई नभन्नु ल ३' बनाए। त्यो अघिल्लो फिल्मको निरन्तरता थिएन। फिल्म असफल भयो, उनले पुन: नाई नभन्नु ल ४ बनाए। त्यो पनि सफल ठहरिएन।

यस्ता धेरै 'सिक्वेल' फिल्म छन्, जो कथा र पात्र नभइ नाममात्र दोहोर्‍याएर बनाइएको छ।

यो वर्ष प्रदर्शनमा आएको फिल्म 'ए मेरो हजुर २'ले दर्शकको मन जित्न सफल रह्यो। झरना थापा निर्देशित यो फिल्म व्यापारिक हिसाबले सफल भयो। झरना र नायक श्रीकृष्ण श्रेष्ठ अभिनित फिल्म 'ए मेरो हजुर'को नाम सापटी लिएर बनाइएको थियो 'ए मेरो हजुर २'।

फिल्मले कथालाई निरन्तरता दिएको थिएन। कलाकार अनि पात्र पनि फरक थिए। तैपनि फिल्म सफल भयो। कारण, फिल्मको कथावस्तुलाई दर्शकले मन पराइदिए।

अघिल्लो वर्षको सुपरहिट फिल्म 'छक्का पञ्जा' को सिक्वेल फिल्म 'छक्का पञ्जा २' पनि यसै वर्ष प्रदर्शनमा आयो। कलाकार दोहोरिए, तर कथाले निरन्तरता पाएन। फिल्मका पात्रको नामसमेत दोहोरियो, तर चरित्र दोहोरिएन। त्यसैले फिल्म व्यापारिक रुपमा सफल भए पनि सकारात्मक प्रतिक्रिया पाउन सकेन। निर्माता दीपकराज गिरी आफूले 'छक्का पञ्जा'को ब्राण्ड प्रयोग गरी 'छक्का पञ्जा २' निर्माण गरेको बताउँछन्। 'छक्का पञ्जा सर्वाधिक हिट फिल्म सवित भयो,' दीपक भन्छन् 'मलाई सिक्वेल बनाउनको लागि ब्राण्ड चाहिएको थियो, जुन कुरा 'छक्का पञ्जा'ले स्थापित गराइदियो। त्यसैको ब्राण्ड भ्यालु युज गर्दै मैले छक्का पञ्जा २ निर्माण गरेको हुँ।'

दीपकलाई पनि कथाको निरन्तरतामा मतलब भएन। नामको पछि लागेको 'छक्का पञ्जा २' टिमले पैसा त उठायो तर पैसासँगै गाली पनि पायो। फिल्मप्रतिको प्रतिक्रियाप्रति मतलब नराखेका निर्माता दीपकराज गिरी फिल्मको सफलतालाई व्यापारसँग दाँज्छन्। उनी भन्छन्, 'समीक्षा जस्तो भए पनि नेपालमा बनेका सिक्वेलमध्येको सबैभन्दा सफल सिक्वेल हो छक्का पञ्जा २।'

यसै वर्ष प्रदर्शनमा आएको फिल्म 'प्रेम गीत २' पनि अघिल्लो वर्षको सफल फिल्म 'प्रेम गीत'को सिक्वेलको रुपमा आयो। यी दुवै फिल्ममा नायक प्रदीप खड्का नै दोहोरिए। सायद, प्रदीप भएपछि फिल्म हिट हुन्छ भन्ने भ्रममा थियो निर्माणपक्ष, फिल्मले आशातीत सफलता हासिल गर्न सकेन।

अर्को सिक्वेल फिल्म 'सायद २'मा पनि यही कुरा लागू हुन्छ। 'सायद'को नाम मात्र जोडिएको थियो 'सायद २' मा। न कथाको निरन्तरता थियो न  पात्र नै। त्यसैले 'सायद २' असफल भयो। २०७३ सालमा फिल्मको सुरुवात 'बाटो मुनिको फूल २' बाट भएको थियो। तर फिल्म असफल भइदियो।

अर्को सुपरहिट फिल्म 'लुट'को सिक्वेल 'लुट २' व्यापारिक रुपमा सफल फिल्म मानिन्छ। तर समीक्षात्मक रुपमा 'लुट २' ले राम्रो कमेन्ट पाएन। 'लुट २' ले 'लुट'का कलाकार र कथालाई निरन्तरता दियो। पात्रलाई पनि निरन्तरता दियो, तर 'लुट' हेरेका दर्शकले आश गरेको कुरालाई 'लुट २' ले पूरा गर्न सकेन। यी दुवै फिल्मका निर्देशक निश्चल बस्नेत भन्छन् 'लुट हेरेको दर्शकको 'लुट २' मा गरेको अपेक्षा धेरै हुन्छ। अलिकति हामी कतै चुक्यौं भने दर्शकको मन भड्किहाल्छ। म पनि कतै चुकें होला दर्शक अलिक भड्किनुभयो।'

पहिलो फिल्म सफल भएपछि दोस्रो पनि सफल हुने आशमा सिक्वेल बन्ने गरेको निश्चल बताउँछन्। भन्छन् 'सिक्वेल भनेपछि दर्शकको प्रतिक्षा बढी हुन्छ। खासै पब्लिसिटी नगरे पनि फिल्मको व्यापार राम्रो हुने आशमा सिक्वेल बन्ने गरेका छन्।' फिल्मको व्यापारलाई लक्षित गरेर सिक्वेल निर्माण हुने उनको स्वीकारोक्ति छ।

सिक्वेल फिल्म 'कबड्डी कबड्डी' सफल भयो। 'कबड्डी'मा भएका कलाकार, कथामा भएको केही समानता र फिल्मको पात्रको चरित्रमा भएको समानताले 'कबड्डी कबड्डी' सफल भयो।

१५ वर्षभन्दा अघिको सुपरहिट फिल्म 'दर्पणछाँया'को सिक्वेल बनिसकेको छ। पुराना निर्देशक तुलसी घिमिरेले निर्देशन गरेको फिल्म दर्पणछाँयाको सिक्वेल पनि उनैले निर्देशन गरेका थिए। 'दर्पण छाँया' ले कमाएको चर्चा र गरेको व्यापारको एक छेउ पनि 'दर्पणछाँया २' ले भेट्न सकेन। समीक्षात्मक रुपमा पनि फिल्म असफल नै ठहरियो।

सिक्वेल फिल्महरुमा किस्मत २, होस्टेल रिटर्न्स, पापी मान्छे २, आगो २, हिम्मत २, मिसन पैसा २,  विन्दास २, विन्दास ३ आदि छन्। तर यीमध्ये प्राय: फिल्मले सफल फिल्मको नाम मात्र प्रयोग गरेका हुन्।

नेपाली सिक्वेल फिल्मको समीक्षा र व्यापार खासै राम्रो छैन। निर्माता निर्देशकहरुले फिल्म निर्माण गर्दा नाम र ब्राण्ड भ्यालु मात्र प्रयोग गरेको आरोप सिक्वेल निर्माताहरुलाई लागेको छ। अब, सिक्वेल  फिल्म निर्माण गर्दा नाम बेच्ने मात्र होइन, कथावस्तुमा जोड दिँदा फिल्म चल्छ भन्ने कुरालाई निर्माता र निर्देशकले मनन गर्ने बेला आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.