|

बागलुङ :  बागलुङमा पानी उपभोग गर्ने विषयलाई लिएर दुई गाउँका वासिन्दाबीच विवाद भएको छ। बागलुङ नगरपालिका–४ र ५ को सिमाना भएर बग्ने पांग्रेखोलास्थित भुते छहराको पानी प्रयोग गर्ने विषयमा कँडुलेको छाप र बान्द्रे तथा फेदीका वासिन्दाबीच विवाद भएको हो।

वडा नम्बर–४ कुँडुले छापका १ सय ९ र ५ नम्बर वडाका १२ घरधुरीले खानेपानी लैजान गाडेको १ हजार ५ सय मिटर पाइप ४ नम्बर वडाको फेदीका वासिन्दाले रातारात टुक्राटुक्रा पारिदिएपछि विवाद झन् चर्किएको हो। पानी अन्यत्र लैजादा आफूहरुलाई अपुग हुने भन्दै विरोधमा रहेका फेदीवासीले पानी लैजान गाडेको पाइप कटेर सयौं टुक्रा पारिदिएका हुन्।

शुक्रबार गाडिएको पाइप त्यही रात काटिएपछि पानी विवादले उग्र रुप लिएको छ। फेदीका बासिन्दाले परापूर्वकालदेखि खानेपानी र सिञ्चाइको रुपमा प्रयोग गर्दै आएको पानी अन्यत्र लैजान नदिने अडान राख्दै आएका छन्।

छाप र बान्द्रेका स्थानीयको भने आफूहरु एउटै वडाका बासिन्दा भएको र पहिलेदेखि प्रयोग गर्दै आएको पानी भएकाले उपभोग गर्न पाउनुपर्ने दावी छ।

खानेपानी विवाद नमिलेपछि समस्या समाधान गर्नका लागि बागलुङ नगरपालिकाको नगर न्यायिक समितिको रोहवरमा दुबै पक्षबीच छलफलसमेत भइसकेको छ। तर दुवैपक्षले आफ्नो अडान नछोडेपछि विवाद समाधान हुन सकेन।

गाडिएको पाइप फेदीका वासिन्दाले रातारात टुक्रा पारेर अमानवीय व्यवहार देखाएको खानेपानी उपभोक्ता समिति कुडुलेका अध्यक्ष विवेक हमालले बताए। तर फेदीका स्थानीय मुरारी शर्माले भने आफूहरुको जग्गा र आसपासको ठाउँमा रहेको मुहानबाट बग्ने पानीले फेदीवासीलाई नै नपुग्ने हुँदा बाहिर लैजान नदिने बताउँछन्।

लामो समयदेखिको विवाद समाधान गर्न गठित समितिले तत्कालका लागि खोलाबाट २५ एमएमको पाइपबाट छापामा र १६ एमएमको पाइपबाट बान्द्रेमा खानेपानी लैजाने सहमति गरेको छाप र बान्द्रेतर्फका स्थानीयको भनाइ छ। विवाद समाधानका लागि वडा नम्बर ४ का अध्यक्ष ध्रुवबहादुर केसीको संयोजकत्वमा भएको समितिले प्रयास गरिरहेको छ।

खानेपानी अपुग भएको ठाउँमा स्वभाविक रुपमा मुहान भएको ठाउँबाट लैजानुपर्ने भएकाले दुवै पक्षबीच सहमति गरेर पानी उपयोग गर्नुपर्ने बागलुङ नगरपालिकाका उपमेयर तथा नगर न्यायिक समितिका संयोजक सुरेन्द्र खड्का बताउँछन्।

‘खानेपानी जस्तो अनिवार्य आवश्यकताको वस्तु प्रयोगको विषयमा छिमेकी गाउँबीच विवाद गर्नु राम्रो होइन', संयोजक खड्काले भने, ‘आपसी छलफल र समन्वयबाट दुवै पक्षको न्युनतम आवश्यकता पूरा गर्ने गरी व्यवस्थापन गर्न जरुरी छ।’ उनले विवाद समाधानको प्रयास भइरहेको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.