|

  • मनोज भट्टराई-

ओखलढुंगा : कमाइ गर्न कहीँ जानु पर्दैन दुःख गरे आफ्नै गाउँमा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने कुराको गतिलो उदाहरण बनेकी छन् ओखलढुंगाकी एक महिला। विगत ३ वर्षदेखि आफ्नै गाउँमा चना चटपटे बेचेर गाउँकै उदाहरणीय महिला बन्न सफल भएकी छन् ओखलढुंगा लिखु गाउँपालिका-६ की सीता थापा पौडेल।

उनी आफूले अध्ययन गरेको विद्यालय नजिकै  रहेको एक घरको छेउमा बसेर ३ वर्ष अगाडिदेखि चटपटे व्यापार गर्छन्। चटपटेको राम्रै व्यापार हुने गरेकोमा उनी खुसी देखिन्छिन्। भन्छिन्, ‘दैनिक कमाइ १ हजार ७ सयदेखि २ हजार माथिसम्म हुन्छ।’

राजनीतिमासमेत सक्रिय उनी ०७४ असारमा भएको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट महिला सदस्यमा निर्वाचित भएकी थिइन्। स्थानीय निर्वाचनमा माओवादी केन्द्रको महिला उम्मेदवारको रुपमा आएकी पौडेल  निर्वाचित जनप्रतिनिधि भए पनि काम गरेर खान केहीले नछेक्ने बताउँछिन्। भन्छिन्, ‘काम गरेर खान कोही पनि सानो हुँदैन सबैभन्दा ठूलो त इज्जत हो।’

उनी आफू जनप्रतिनिधि भएपछि आफ्नो व्यवसाय अझै बढेको बताउँछिन्। ‘मैले पहिले त विद्यालयका छात्र छात्राहरुलाई मात्रै खाजाको रुपमा टिफिन समयमा बेच्दै आएकी थिएँ तर अहिले निर्वाचित जनप्रतिनिधि भएपछि चिनजान पनि बढ्यो गाउँका सबैले विद्यालय तथा वडा कार्यालय आएको वेला चटपटे खाएर जान्छन् जेहोस् चुनावपछि व्यापार राम्रै भएको छ’ उनले सुनाइन्।

मास्टरको जागिर छाडेर चटपटे व्यापार

केही समय अघि उनी गाउँकै बोर्डिङ स्कुलमा पठाउने काम गर्थिन्। बोर्डिङको तलबभन्दा व्यापारबाट कमाइ हुने देखेपछि आफूले चटपटे बनाए। बेच्न थालेको उनको अनुभव छ। आफूले कक्षा १२ सम्मको अध्ययन सकेर रोजगारीका लागि धेरै भौतारिएको र कहीँ कतै रोजगारको अवसर नपाएपछि  चटपटे बनाएर बस्न थालेको उनको अनुभव छ।

 पढेर शैक्षिक प्रमाणपत्र पाएको तर त्यो कतै नबिकेको प्रति उनको दुखेसो छ। भन्छिन्, ‘शैक्षिक प्रमाण पत्रहरु बोकेर धरै भौतारिएँ तर कहीँ पनि बिकेनन् त्यसपछि एकहजार रुपैयाँ गाउँकै आफन्तबाट सापटी लिएर यो व्यवसाय थालेकी हुँ।’

अहिले भने शैक्षिक प्रमाण पत्र नबिके पनि आफू सन्तुष्ट रहेको उनी बताउँछिन्। ‘शैक्षिक योग्यताको केही काम भएन, मैले सरकारी तथा गैरसरकारी जे जागिर खाएको भए पनि अर्काकै निगरानीमा गर्नुपर्‍थ्‍यो तर अहिले जागिर नपाएकोमा विस्मत छैन किनकि मैलै मासिक ५० हजारभन्दा माथि कमाइ रहेकी छु सन्तुष्ट नै छु।’

चटपटेको व्यवसायबाट आफूले राष्ट्रिय वाणिज्य बैंक र गाउँकै सहकारीमा १० लाखभन्दा बढी बचत गरेको पनि उनले सुनाइन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.