|

प्यूठान : ‘खानेपानी भर्न रातभर जाग्राम बसिन्छ। बुढापाका र एकल परिवारको विजोग छ। दिनभर मजदुरी, रातभर पानी बोक्दा हैरान भइयो। पानी आउन छाडेको ५ महिना भयो, कम्ता दुःख छैन’ प्यूठान नगरपालिका ३ दैली सिमलकी अमृता जिसीले भनिन्।

अमृताजस्तै समस्या अरु धेरैको छ। खानेपानी अभावका कारण प्यूठान नगरपालिकाको दैली सिमल, रातामाटा, चिलाउनेडाँडा, जिमुरेबासीले लामो समयदेखि सास्ती भोग्दै आएका छन्। डाँडागाउँमा वर्षायाममै खानेपानीको अभाव हुन्छ। गर्मी र खडेरीमा कसरी गुजार्ने हो भन्ने चिन्ताले स्थानीयलाई थप समस्या परेको छ।

गाउँका १ सय ५० भन्दा बढी परिवारले शुद्ध पिउने पानी त परै जाओस्, पशु चौपायालाई खुवाउने पानीसमेत नपाउँदा समस्यामा परेका छन्। २०५२ सालमा निर्माण गरिएको एउटै धारामा पनि पानी आउन छाडेपछि संकट निम्तिएको हो। ‘खानेपानी कार्यालयलाई पानीको माग गर्दा त्यही धारालाई मर्मत गर भन्दै टार्दै गयो’ स्थानीय मुक्तबहादुर केसीले भने ‘१ लाख ५० हजार स्थानीयले उठाएर बनाएको ट्याङ्की रित्तै भयो, पानी सुक्यो।’

खोल्साको पानी अमृत

गाउँदेखि ७ किलोमिटर टाढा पर्ने सेपुङबाट ल्याएर पानीको गुजारा गरिएको बस्तीमा ३ महिनादेखि पानी नआएपछि खोल्साको पानी नै अमृत बनेको छ। पानी परेका बेला र पशु चौपायाले कुल्चेर दिउँसोको समयमा खानलायक नै हुँदैन। ‘खानेपानी, तरकारी फलफूल खेती, पशु चौपायाका लागि पानीको अभाव वर्षौदेखि छ। तर कसैले हेरेन’ केसीले भने ‘अहिले खोल्साको पानीलाई राति र विहान मात्रै भर्न मिल्छ, तर पानी सानो भएका कारण राति लाइन बसेर भर्नुपर्छ।’

महिला बालबालिकालाई सास्ती

चुनाव जितेका नेता जिल्ला आएका बेला गाउँलेले खानेपानीको माग गर्न छाडेका छैनन्। 'नेताले पनि आश देखाए, जिल्ला खानेपानी कार्यालय र नगरपालिकाका कर्मचारीले पनि नेताको भन्दा बढी आश्वासन बाँड्न भ्याए तर फर्केर हेरेनन्। न नगरपालिकाले हेर्‍यो, न खानेपानीले टेर्‍यो'  स्थानीय हिमबहादुर जिसीले भने।

पानीको लागि महिला, वृद्ध तथा बालबालिकाहरुलाई सास्ती छ। खेतीपातीको समयमा काम गर्ने उमेरका मानिसहरु खेतबारीमा जानुपर्ने भएकाले घरमा बालबालिका, बृद्धबृद्धाहरुले नै पानीको जोहो गर्नुपरेको छ।

सोही गाउँको रातामाटामा २०६८ सालमा जिल्ला विकास समितिले बस्ती विकास कार्यक्रमबाट १० लाख रुपैयाँमा खानेपानी योजना सुरु गरे पनि अलपत्र परेको छ। जुम्री खोलाबाट खानेपानी लिने भनेर नाप जाँच गरेको थियो। जिल्ला प्राविधिक कार्यालयको टोलीले पाइप किन्न लगाएपछि स्थानीयले पाइप पनि किने। पाइप बिच्छ्याएपछि पानीको मूल र क्षमता भन्दा पाइप बढी मोटो भयो भनेर फेरि पछिल्लो प्राविधिकले अस्वीकृत गरेको स्थानीयको भनाइ छ। साढे ९ किलोमिटर टाढाको तारखोलाबाट खानेपानी ल्याउन जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जिम्मा लिएको छ तर स्थानीयहरु यो आयोजना बन्नेमा विश्वस्त हुन सकेका छैनन्।

सम्बोधन गर्ने नगरप्रमुखको पुनः आश्वासन

स्थानीय चुनावमा खानेपानीको समस्या राख्दा राजनीतिक दलका नेताहरुले खानेपानी ल्याइदिइ छाड्ने आश्वासन दिएका थिए। नगर प्रमुख अर्जुनकुमार कक्षपतिले पानी पुर्‍याउने प्रतिवद्धता गरेका छन्। नगर कार्यपालिकाको बैठकबाट उक्त बस्तीमा खानेपानीको ब्यवस्था गर्ने कक्षपतिले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.