|

पाँचथर : उत्तर–पूर्वी क्षेत्रको स्थानीय तह फालेलुङ गाउँपालिकाको केन्द्र मतदान गरी टुङ्ग्याइएको छ। मच्छेबुङ कि थकेबुङलाई केन्द्र बनाउने भन्ने विषयमा गाउँसभामा छलफल हुँदा सहमति नभएपछि मतदान भएको हो।

मतदानमा सहभागी गाउँ कार्यपालिकाका ४० जना सदस्यमध्ये २४ जनाले थकेबुङलाई केन्द्र बनाउने पक्षमा मतदान गरेका थिए। १६ जनाले भने मच्छेबुङलाई केन्द्र बनाउने पक्षमा मतदान गरेको निर्वाचन अधिकृत तथा गाउँपालिकाका कार्यकारी अधिकृत मौसम ढुंगेलले जानकारी दिए। यससँगै गाउँपालिकाको केन्द्र थकेबुङ हुने भएको छ। 

स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश,२०७३ मा कुनै गाउँपालिका वा नगरपालिकाको नाम वा केन्द्र परिवर्तन गर्नु परेमा सम्बन्धित गाउँपालिका वा नगरपालिकामा निर्वाचित जनप्रतिनिधि बहाल भएपछि ६ महिनाभित्र गाउँसभा वा नगरसभामा तत्काल कायम भएका सदस्य संख्याको सामान्य बहुमतको निर्णयबाट त्यस्तो नाम वा केन्द्र परिवर्तन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने र सरकारले सिफारिस प्राप्त भएपछि नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संशोधन गर्न सक्ने प्रावधान छ।

यही प्रावधानमा टेकेर गाउँपालिकाको केन्द्र सार्नेबारे छलफल गर्न गाउँसभा आह्वान गरिएको अध्यक्ष सञ्चकुमार केरुङले बताए। यसअघि पुस ५ मा सो गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष श्री जवेगूले, २ का वडाध्यक्ष तिलवहादुर खत्री, ४ का वडाध्यक्ष बुद्धि साउदेन,६ की वडाध्यक्ष सुजाता राई, ८ का वडाध्यक्ष पविन्द्र फागोसहित कार्यपालिकाका सदस्यहरुले हाल गाउँपालिकाको केन्द्र रहेको मेमेङ अधिकांश गाउँपालिकावासीलाई अपायक परेको भन्दै केन्द्र सार्ने विषयमा छलफलका लागि  गाउँसभा आह्वान गरेका थिए। 

यस्तै जिल्लाको हिलिहाङ गाउँपालिकाको केन्द्र पनि पञ्चमी कि गोपेटार भन्ने विषयमा सहमति नजुटेपछि मतदान भएको थियो। मतदानपछि पञ्चमी केन्द्र कायम भएको छ। फाल्गुनन्द गाउँपालिकाको पनि केन्द्र सार्न मतदान हुने भएको छ। हाल केन्द्र रहेको घुर्बिसे पञ्चमी सबै गाउँपालिकावासीका लागि अपायक भएको बताइन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.