|

साना राष्ट्रहरू ठूला राष्ट्रबाट प्रताडित छन्। ठूलाहरूको थिचोमिचोले पेलिएको पीडा नेपाल, भुटान वा श्रीलंकाले मात्र भोग्नुपरेको छैन। उदार पूँजीवादको प्रयोग असफल भइसकेको युरोपमा पनि साना राष्ट्रहरू ठूला राष्ट्रबाट प्रताडित नै छन्। त्यसैले शक्तिशालीहरूको उन्माद अहिले बढेको छ र यो अतिवादको तहसम्म पुगेको छ। 

दक्षिण एसियामा भारतमा नरेन्द्र मोदीको आगमनसँगै अतिवाद बढेको छ– हिन्दु धर्मको अतिवाद। यसका बारेमा भारतीय टिप्पणीकारले दर्जनौँ टिप्पणीहरू लेखिसकेका छन्। हिन्दु अतिवादको विरुद्धमा लेख्ने कतिपय पत्रकारको हत्या भएको छ। यो भारतको आन्तरिक कुरा भयो। भारतले हाम्रो आन्तरिक मामिलामा अति हस्तक्षेप गरेजसरी हामीले उनीहरूको आन्तरिक मामिलामा आँखा नलगाउनु नै राम्रो हुन्छ भन्ने लाग्छ मलाई। हामीले उनीहरूको आन्तरिक मामिलामा हस्तक्षेप गर्न थाल्यौँ भने भारतीय शासक वर्ग र हाम्राबीच भिन्नता नै के रहन्छ र!

पछिल्लो समय भारतले आफ्ना छिमेकी राष्ट्रहरूमाथि हस्तक्षेप र दादागिरी धेरै बढाएको छ। एउटा भारतको अस्तित्व नहुँदा पनि नेपाल एउटा स्वतन्त्र र स्वाभिमानी राष्ट्र थियो। त्यसैले  हस्तक्षेप त भारत बेलायती शासनअन्तर्गत हुँदा पनि हुन्थ्यो नेपालमा तर अलिक लाज मानेर। वि. सं. २००४ मा बेलायतीहरूले आफ्ना औरस सन्तानलाई सत्ता सुम्पिएर, भारतलाई राष्ट्रमण्डलमार्फत आफ्नो मातहत राखेपछि दक्षिण एसियामा पाकिस्तान, भुटान, बांगलादेश पनि जन्मिए। तर ती कुनै पनि राष्ट्रसँग दिल्लीको राम्रो सम्बन्ध रहेन र अहिले त भारत झनझन सबैबाट एक्लिँदै गएको छ।

२००७ सालपछि राजदूतमार्फत् हुन थालेको हस्तक्षेप अहिले सिधै दिल्लीबाट हुने गरेको छ। नेपालले संविधान कहिले जारी गर्ने भनेर निर्णय गर्ने अधिकार दिल्लीलाई कसरी दिन सक्छ नेपाल सरकारले? संसारमा कहीँ नभएको काम भारतीय शासकको इच्छाअनुसार गरिनुपर्छ भन्ने हैकमवादी सोच र व्यवहारलाई कसरी स्वीकार गर्न सकिन्छ? मृत्यु उन्माद बोकेको नाकाबन्दीको कारण के थियो? यसको जवाफ अहिले पनि दिल्लीसँग छैन। भारतका छिमेकीहरूले, छिमेकी राष्ट्रको सत्तापलटमा दिल्लीकै हात देख्छन् र हामी नेपालीको अनुभवमा यो स्वाभाविक पनि हो।

माल्दिभ्स, श्रीलंकाको कुरो पनि हामीले उठाइरहनुपर्दैन, स्वयम् भारतीय राजनीतिक टिप्पणीकारले यो मुद्दा उठाएका छन्। मोदी सरकारको आगमनपछि सबै छिमेकीसँग भारतको सम्बन्ध बिग्रिएको सत्यको उद्घाटन पनि उनीहरूले गरेका छन्। 

कथित जनयुद्धकालमा नेकपा माओवादीको उन्माद भूमध्यरेखाको घामभन्दा चर्को थियो। त्यसैले माओवादी सशस्त्र क्रान्ति पनि असफल भयो। अहिले नेकपा एमालेका केपी शर्मा ओलीको देवत्वकरण बढेको छ। देवत्वकरण आफैँमा उन्माद हो। यो उन्मादले नेकपा एमाले र राष्ट्रको हित गर्दैन। 

चीन र भारतको सम्बन्ध पनि अहिले बिग्रिएको छ। सिमानाको सामान्य द्वन्द्व मात्र होइन, परमाणु शस्त्रास्त्रको होडमा भारतले हात हालेको छ। पहिले भारत यति उत्तेजित भएर चीनसँग भिडिरहेको थिएन। हिन्दु अतिवाद बढेसँगै चीनसँग भारतको भौतिक सम्बन्ध पनि नराम्ररी बिग्रँदो अवस्थामा छ। भारतको छिमेकी हुनु हामी नेपालीको दुर्भाग्य त छँदै थियो, भारत र चीनको सामरिक सम्बन्ध बिग्रँदा पनि सबैभन्दा ठूलो नोक्सानी हामी नेपाली र हाम्रो नेपाल भूमिले नै भोग्नुपर्नेछ।
यो हाम्रो क्षेत्रीय चासो हो। अब विश्वको नक्सा पनि हेरिहालौँ।

अमेरिकामा डोनाल्ड ट्रम्पको उदयसँगै ‘अमेरिकी अतिवाद’को उन्माद बढेको छ। कहिले ‘ह्वाइट सुप्रिमेसी’ त कहिले आफ्नो विचारसँग असहमत हुने मुलुकप्रति बाघ झम्टाइ गर्ने अमेरिकी व्यवहार निरन्तर बढेको छ। यसका पछिल्ला उदाहरण हुन्, उत्तर कोरियालाई एक्ल्याउने अभियान र संयुक्त राष्ट्रसंघलाई आफ्नो शक्तिको मातहत राख्ने प्रयत्न। संयुक्त राष्ट्रसंघलाई माध्यम बनाएर अमेरिकाले यो काम गरिरहेको छ। उत्तर कोरियाका विरुद्ध नाकाबन्दी कस्दै लैजाने र जेरुसेलम विवादमा संयुक्त राष्ट्रसंघ महासभामा अमेरिकी प्रस्तावको विरोध गर्नेलाई आर्थिक सहायता रोक्ने धम्की उन्मादको पराकाष्ठा हो। 

यति हुुँदाहुँदैै पनि उत्तर कोरियाले अमेरिकी नाकाबन्दीलाई तिरस्कार गर्दै, अमेरिका तेस्रो विश्वयुद्धको तयारी गर्दै छ भनेर सार्वजनिक आरोप लगाउनु अनि संयुक्त राष्ट्रसंघको महासभामा अमेरिकाको जेरुसेलम प्रस्ताव पारित नहुनु भनेको अमेरिकाका लागि लाजमर्दो कुरा हो। तर अमेरिकी प्रशासनले अहिलेसम्म लाज मानेको देखिएको छैन। अर्थात् ट्रम्प प्रशासनको उन्माद अझै सकिएको छैन। 

विश्वको एक चौथाई जनसंख्या भोकमरीको उपहार बोकेर बाँचेको छ, अर्कातिर सबै शक्तिशाली राष्ट्रहरू पारमाणविक हतियारको होडबाजीमा बुद्धि र विवेक पखालिरहेका छन्। यो पनि उन्मादको एउटा रूप हो।

नेपाल पनि उन्मादबाट बाहिर छैन। कांग्रेसको उन्माद प्रजातन्त्रको ठेकेदारीमा छ। यथार्थमा नेपाली कांग्रेसको ००७ सालको क्रान्ति अपूर्ण थियो। ०१५ सालको संसदमा दुई तिहाई जीतको उन्मादले उसले प्रजातान्त्रिक प्रक्रियाका सहयात्रीसँग रौँ बराबर पनि मैत्रीभाव देखाउन सकेन। उसले आयोजना गरेका सबै सशस्त्र क्रान्तिहरू असफल रहे। कथित जनयुद्धकालमा नेकपा माओवादीको उन्माद भूमध्यरेखाको घामभन्दा चर्को थियो। त्यसैले माओवादी सशस्त्र क्रान्ति पनि असफल भयो। अहिले नेकपा एमालेका केपी शर्मा ओलीको देवत्वकरण बढेको छ। देवत्वकरण आफैँमा उन्माद हो। यो उन्मादले नेकपा एमाले र राष्ट्रको हित गर्दैन। 

अहिलेको उन्मादले नेकपा एमालेलाई नेपाली कांग्रेसको हाराहारीमा पुर्‍याउनेछ। के प्रतिपक्षविनाको राष्ट्रियसभा हुनु बान्छनीय हुन्छ? हुँदैन। ठूलो पार्टी बढी लचिलो हुनुपर्छ। तब मात्र प्रजातान्त्रिक अभ्यासमा अघि बढ्न सकिन्छ। एउटा बृहद् राष्ट्रिय हितका लागि मार्ने र मारिनेहरू त एक ठाउँमा उभिन सक्छन् भने नेपाली कांग्रेसलाई पनि नेकपा एमालेले प्रतिपक्षको अधिकार दिनुपर्छ।

तर नेपालका कुनै ठूला नेतामा यस्तो राष्ट्रिय चेत भेटिँदैन। लोकतान्त्रिक प्रणाली भनेको जित्नेले सरकार चलाउने, हार्ने प्रतिपक्षमा बस्ने भन्ने प्राविधिक कुरा मात्र होइन। सत्ता संचालन गर्ने नेतामा सबैलाई कसरी एउटा झण्डामुनि ल्याउन सकिन्छ, हारेकालाई पनि कसरी विकास निर्माणको अवसर दिनुपर्छ भन्ने सोच हुनुपर्छ। चुनाव भनेको पाँच वर्षको कार्यादेश मात्र हो। पाँच÷पाँच वर्षमा मतदाताले कसरी सजाय र अवसर दिन्छन् भन्ने व्यावहारिक चेतना त हामीसँग पनि छ।

०४८ मा नेपाली कांग्रेसले बहुमत ल्यायो तर त्यो बहुमत सरकार बनाउने प्राविधिक बहुमत मात्र थियो। तर कांग्रेसको व्यवहार यस्तो थियो, मानौँ उसले सिंगै नेपाल जितेको छ र पराजितहरूले त्वं शरणं गर्नुपर्छ। यो लोकतन्त्रजनित व्यवहार थिएन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • आफ्नोको माया छुट्टै