पीडित भन्छन्: वर्षायाममा कसरी बाँच्ने?

|

दमक (झापा) : कमल खोलाको डिलैमा छ, गौरीगंज गाउँपालिका– २ दासचौरीका सुफल हस्दाको घर। विपन्न आदिवासी समुदाय सन्थालको झुरुप्प परेको सानो वस्तीमा सुफल जस्ता सबैको हरेक वर्षायाममा उठिवास लाग्ने गरेको छ। 

नेपाल–भारत सिमाना नजिकै रहेको यस वस्तीका सबैको एउटै चिन्ता हो, वर्षायाममा कसरी बाँच्ने?

चुरे क्षेत्रबाट सुरु भएको कमल खोलाले इलामको सीमावर्ती क्षेत्रदेखि भारतको सीमावर्ती क्षेत्रसम्मका सयौँ परिवारको वर्सेनि उठिबास लगाउने गरेको छ। तिनैमध्येका हुन्, सुफल। ‘अहिले हिउँदमा जाडोको मात्र पीर हो, घरभित्रै बसे पनि हुन्छ’, वर्षायामको चिन्ता सुनाए उनले, ‘पानी पर्न थालेपछि त साना नानीहरूलाई कसरी जोगाउने भन्ने पीर हुन्छ। कतिखेर खोलो घरमा पस्छ, थाहै हुँदैन।’

यही वस्तीका लुखिराम हेमरम पनि उस्तै गुनासो गर्छन्। हरेक चुनावमा आउने नेताहरूले घरबारको व्यवस्था मिलाइदिउँला भनेको उनी सुनाउँछन्। तर घरबारको त के गाउँ पुग्ने बाटोसम्म बनाउन नसकेको उनको भनाइ छ। नेताहरूसँग अरू कुनै आश नभए पनि उठिबास नलाग्ने गरी बस्न पाए पुग्ने उनले बताए। पुस्तौँदेखि बसोवास गर्दै आएको भए पनि आफूहरूको बसोवास व्यवस्थापनका लागि कसैले पनि ध्यान नदिएको सोही वस्तीकी मंजु किस्कुले बताइन्।

वस्तीका सबै परिवार विपन्न भएका कारण दिनभरि मजदुरी नगरे साँझ बिहान छाक टर्दैन। उनले भनिन्, ‘खाई नखाई वर्षभरि जोहो गरेको सामान पनि वर्षामा आउने भेलले एकै छाक पारिदिन्छ।’ घर र भएका सबै समान वर्सेनि बगाए पनि बालबालिकाहरू जोगाउन सबैभन्दा कठिन हुने गरेको उनको दुखेसो छ। 

समस्या यहाँको मात्रै होइन, झापामा उत्तर दक्षिण ३० किलोमिटरभन्दा लामो खोला किनारमा रहेका धेरैको चिन्ता उस्तै छ। कमल– २ की सुनिता मर्डीको पीर पनि उस्तै छ। वर्षायामका असारदेखि भदौसम्म बाढीसँग लुकामारी खेल्दै बाँच्नुपरेको उनले गुनासो गरेकी छन्। 

विकासमा पनि उपेक्षा
बाढीबाट पटक पटक विस्थापित हुनुपर्ने स्थानमा बसोवास गरिरहेका वासिन्दाहरूले विकासका पूर्वाधारको उपयोग पनि गर्न पाएका छैनन्। गौरीगंजको दासचौरीका सुफल हस्दा गाउँसम्म पुग्ने बाटोसमेत वर्षायाममा थुनिने गरेको बताउँछन्। बिरामी भई हालेमा उपचारका लागि पुर्‍याउनसमेत नसकिने अवस्था आउने गरेको उनले बताए। बाटो ग्राभेलसमेत स्तरीय छैन। यस क्षेत्रबाट जित्नेलाई अरूले जस्तै भोट हाले पनि विकासका लागि आफूहरूलाई कहिल्यै नेताहरूले नसम्झिएको भन्दै उनले चित्त दुखाइरहेका छन्। 

यस्तै, विद्युत त पुगेको छ तर बाँस र काठे पोलमार्फत गएको छ। हावाहुरी आयो भने ज्यानै जोगाउन कठिन हुने गरेको छ। सिमेन्टका खम्बा गाडिदिन आफूहरूले भने पनि हुन नसकेको लुखिराम गुनासो गर्छन्। यस्तै, हिउँद याममा यो वस्तीका अधिकांश विद्यार्थी विद्यालय जान पनि सक्दैनन्। न्यानो कपडा र जुत्ता चप्पल नै नभएका कारण विद्यार्थीहरूलाई विद्यालय पठाउन नसकिने अभिभावकहरूको गुनासो छ। 

विभेद हुँदैन : जनप्रतिनिधि
विभिन्न कारणले सबै क्षेत्रमा समानुपातिक विकास पुग्न नसके पनि अब कुनै पनि प्रकारको विभेद नहुने जनप्रतिनिधिहरूले बताएका छन्। झापाको पश्चिम दक्षिणवर्ती क्षेत्र समेटिएको झापा क्षेत्र नं.– ५ ‘क’बाट प्रदेशसभामा निर्वाचित हिक्मत कार्की अब कुनै पनि बासिन्दाले विकासका पूर्वाधारबाट टाढा रहनु नपर्ने बताउँछन्। ‘कहाँ कुन क्षेत्रमा केको आवश्यकता छ, मैले पनि बुझेको छु’, उनले भने, ‘अब विना पूर्वाग्रह र विभेदरहित ढंगबाट विकासको गति अघि बढाइनेछ।’

यस्तै, कमल खोलाका कारण पीडित बनेको क्षेत्र कमल गाउँपालिका प्रमुख मेनुका काफ्ले पनि गाउँपालिकाले खोलाको कटान नियन्त्रणलाई प्राथमिकतामा राखेको बताउँछिन्। यदि गाउँपालिकाको बजेटले नभ्याउने हो भने माथिल्लो निकायसँग समन्वय गरी कटानको समस्या समाधान गर्ने उनको भनाइ छ। 

हेर्नुहोस् फोटा :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.