|

  • जङ्ग तामाङ-

पाँचथरः पाँचथरको फिदिममा जारी नवौँ फाल्गुनन्द गोल्डकपअन्तर्गत बिहीबार भएको सेमिफाइनल चरणको पहिलो खेलबाट सुनसरी– ११ फाइनलमा प्रवेश गरेको छ। सुनसरीले अग्नि रूपन्देही– ११ लाई ३–१ गोल अन्तरले पराजित गर्‍यो। 

सुनसरीको जीतमा तीर्थ बस्नेतले १४औँ, सौजन याख्खाले ७४औँ र हेमन्त थापा मगरले ८२औँ मिनेटमा गोल गरे। रूपन्देहीका छिरिङ गुरुङले खेलको अतिरिक्त समयमा सान्त्वना गोल फर्काए। खेलको म्यान अफ द म्याच सुनसरीका क्याप्टेन विष्णु सुनुवार घोषित भए। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पनि पाए। 

शुक्रबार डिफेन्डिङ च्याम्पियन विर्ता युनाइटेड क्लव झापा– ११ र मोरङ– ११ बीच प्रतिस्पर्धा हुनेछ। यी दुई टिमबीचको प्रतिस्पर्धाबाट विजयी टिमले सुनसरीसँग १६ पुसमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। झापाले यसअघि मिसन युनाइटेड क्लव ताप्लेजुङ र फिदिम स्पोर्टिङ क्लव तथा मोरङ– ११ ले त्रिभुवन आर्मीलाई पराजित गरेको छ। 

प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले दुई लाख रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन्। प्रतियोगिता समाज सुधारक तथा १६औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको स्मृतिमा फिदिम स्पोर्टिङ क्लवले आयोजना गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.