|

लमजुङ : गुरुङ समुदायको आदिम थलो मानिएको लमजुङमा ल्होसार (नयाँ वर्ष) को रौनक सुरु भएको छ। बौद्ध धर्मअन्तर्गत महायान सम्प्रदायको सांस्कृतिक पर्व ल्होसार लमजुङका गुरुङ बस्ती भएका विभिन्न गाउँमा विशेष रौनक देखिएको हो। गुरुङ समुदायले मान्दै आएको पात्रोअनुसार च्यल्हो (चरा वर्ग) लाई बिदाइ गरी खिल्हो (कुकुर वर्ग) स्वागत गर्दै शनिवार यस वर्षको तमु ल्होसार मनाइँदैछ। ‘ल्हो’ भन्नाले वर्ष तथा ‘सार’ भन्नाले नयाँ भन्ने बुझाउँछ। प्रत्येक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ।

ल्होसारको अवसरमा गुरुङ समुदायमा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। जिल्लाका विभिन्न गाउँमा विविध साँस्कृतिक कार्यक्रम र प्रतियोगिता, शुभकामना तथा भोज खाने कार्यक्रम आयोजना गरिएका छन्। ल्होसारको अवसरमा सदरमुकाम बेसीशहरसहित जिल्लाका भुजुङ, घनपोखरा, ताघ्रिङ, घेर्मु, पसगाउँ, खुदीको सिउरुङ, ढंगै, राइनास, पाचोक, इलमपोखरी लगायतका गाउँमा धुमधामका साथ ल्होसार मनाउने गरिन्छ।

ल्होसारको अवसरमा रोधी बस्ने, परम्परागत संस्कृति प्रदर्शन गर्ने तथा एकसाथ भोज खाने (सेउ क्यै) गर्ने गर्दछन्। ल्होसार मनाउन घर बाहिर रहेका पनि आफ्नो गाउँघर फर्किएका छन्। गुरुङ समुदायको बाहुल्य रहेको लमजुङमा सामाजिक सद्भावका लागि अन्य समुदाय पनि ल्होसारमा रमाउने गर्दछन्। प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने र यी वर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुकुर र बँदेलका प्रतीकका रूपमा लिइन्छ।

नयाँ वर्षका रूपमा ल्होसार पर्व नेपालमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतका जातिले मनाउने गर्छन्। गुरुङले तमु ल्होसारका रूपमा, तामाङ लगायतका जातिले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारका रूपमा तथा शेर्पा र भोटे लगायतका जनजातिले फागुन शुक्ल प्रतिपदाका दिनदेखि ग्याल्पो ल्होसार मनाउने गर्दछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.