|

नेपाली साहित्यका माध्यमिककालीन कवि मोतीराम भट्ट बहुआयामिक प्रतिभा हुन्। वि. सं. १९२३ भाद्र २३ गते कुसेऔँसीका दिन काठमाडौँको भोसिको टोलमा पिता पण्डित दयाराम भट्ट र माता रिपुमर्दिनी देवी भट्टको सुपुत्रका रुपमा जन्मिएका मोतीरामले आफ्नो छोटो जीवनकालमा निकै राम्रा र ऐतिहासिक कार्य गरेका छन्। भक्ति वन्दनामा सीमित नेपाली काव्यपरम्परालाई शृङ्गारमा प्रवेश गराउने मोतीराम उर्दू, हिन्दी साहित्यमा लोकप्रिय काव्य विधा गजललाई नेपाली साहित्यमा भित्र्याउने प्रथम स्रष्टा पनि मानिन्छन्। त्यसो त मोतीरामले पहिलो पटक जीवनी लेखेका छन्। नाटक लेखन र निर्देशन, मञ्चनमा पनि उनको क्रियाशीलता देखिन्छ।

यति मात्र होइन, नेपाली पत्रकारिताका प्रथम व्यक्तित्व पनि मोतीराम नै देखिन्छन्। पहिलो पुस्तक प्रकाशकका रुपमा पनि उनलाई नै लिइन्छ भने प्रथम पुस्तकालय स्थापक पनि मोतीराम नै भएको पुष्टि भएको छ।

जम्माजम्मी ३० वर्षको मात्र आयु लिएर आएका मोतीराम सयौँ वर्ष सम्झने काम गरेर गएका छन्। ६ वर्षकै उमेरमा अध्ययनका निम्ति भारत (वनारस) पुगेका मोतीरामले त्यहाँ फारसी, उर्दू, हिन्दी र संस्कृत भाषाको राम्रो ज्ञान लिने अवसर पाए। उर्दू, हिन्दीका शायरहरुसँगको संगतले उनलाई थाहै नपाई कवि बनाइदियो।

तात्कालीन जहानियाँ राणा शासकका निकट मित्र रहेका मोतीराम राणा शासनको अन्धसमर्थन गर्दैनन् आफ्ना रचनामा, बरु घुमाउरो पाराले विरोध गर्छन्- असमानता, शोषण र अन्यायको।

२१ को उमेरमा काठमाडौँ फर्किएका मोतीराम राणा दरबारमा कवि, साहित्यकारलाई भेला गराएर कविता, गजल सुनाउन थाले। तात्कालीन प्रधानमन्त्री श्री ३ देवशम्शेरको आग्रहमा उनी कविता, गजल सुनाउँथे। मोतीराम आफैँ राम्रो गाउन सक्थे। कहिलेकाहीँ दरबारमा भारतबाट कलाकार झिकाएर पनि गजल, भजन गवाउने गरिएको पाइन्छ।

मोतीरामका धेरै काम महत्त्वपूर्ण र ऐतिहासिक छन्। उनलाई अमर बनाउने केही कामहरूमा भानुभक्तको जीवनी लेखन, पहिलो नेपाली भाषाको पत्रिका 'गोर्खा भारत जीवन'को प्रकाशन, भानुभक्तीय रामायणको प्रकाशन आदि पर्दछन्। त्यसो त उनी आफैँले पनि केही पुस्तक लेखेका छन्। पिकदूत, मनोद्वेग प्रवाह, गजेन्द्रमोक्ष, पञ्चक प्रपञ्च, गफास्टक, प्रहह्लाद भक्तिकथा, प्रियदर्शिका, उषाचरित्र, कमल भ्रमर संवाद आदि उनका महत्त्वपूर्ण पुस्तक हुन्।

मोतीरामले आफूले मात्र लेखेनन्, आफ्ना समकालीन युवा मित्रहरुलाई समेत कविता, गजल लेखनमा आकषिर्त र प्रोत्साहित गरे। केही समकालीन मित्रलाई समेटेर मित्रमण्डली बनाए, मोतीमण्डली। यही मित्रमण्डलीमार्फत् उनले नेपाली गजलको विस्तार र विकासमा योगदान पनि गरे। त्यस समयका राम्रा कविहरू लक्ष्मीदत्त पन्त इन्दू, गोपीनाथ लोहनी नाथ, नरदेव पाण्डे सूधा, अम्जद हुसैन अञ्जानलगायतका कविहरुलाई भेला गरेर गजल सुन्ने सुनाउने, समस्यापूर्ति गर्ने, कविता काव्यबारे छलफल गर्ने काम समेत उनले गरेका देखिन्छ।

जम्माजम्मी डेढ दशक नेपाली साहित्यसेवामा समर्पण गरेका मोतीराम भट्ट उनले गरेका उल्लेख्य कामका लागि जीवन्त रहे, चीरकालपर्यन्त। वि. सं. १९५३ साल भाद्र कुशेऔँसीकै दिन देहावसान भएका मोतीराम नेपाली साहित्यमा पहिलो शृङ्गारिक कवि, नेपाली साहित्यमा गजल प्रवेश गराउने आदिगजलकार, पहिलो जीवनी लेखक, नाटककार, नाटक निर्देशक, प्रकाशक तथा पत्रकारका रुपमा आफूलाई परिचित गराएर नेपाली साहित्य र पत्रकारितालाई समेत अत्यन्तै ठूलो गुन लगाएका छन्।

'स्रष्टा सिर्जनाले बाँच्छ, स्रष्टा कहिल्यै मर्दैन' भन्ने भनाइलाई सार्थक बनाउँदै आफ्ना अमूल्य कार्यबाट अमर बनेका युवाकवि मोतीराम भट्टप्रति हार्दिक श्रद्धाञ्जलि।

अन्तमा उनै आदरणीय अमर स्रष्टा मोतीराम भट्टको गजल-

म तिम्रा अघी पर्न लायक् कहाँ छू,
त्यसैले अघी सर्न लायक् कहाँ छू।

 

हुकुम हुन्छ तिम्रो त हाजिर छँदैछू,
बिना मर्जि आँट गर्न लायक् कहाँ छू।

 

अरूका ऊपर आँखिभौँ तानि हाने,
म जावो हरे ! मर्न लायक् कहाँ छू।

 

जहाँसम्म मन चल्छ लौ हुन्छ घुर्कुन्,
तिनै झैँ नजर् तर्न लायक कहाँ छू।

 

सहडमै छ मन् हर्न सक्नू हरीले,
सुनीस् मोति त्यो गर्न लायक् कहाँ छू।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.