|

बिहीबारको मन्त्रिपरिषद् बैठकमा सचिव सरुवाको विषयमा राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापा र उनकै पार्टीका सहरी विकासमन्त्री दिलनाथ गिरीबीच भनाभन भयो। बैठकमा थापाले मन्त्री गिरीको राजीनामा मागे। आफूले नेतृत्व गरेको मन्त्रालयमा सहरी विकासमा अनुभवी रमेशप्रसाद सिंहलाई सचिव बनाउनुपर्ने प्रस्ताव मन्त्री गिरीले राखेका थिए। उक्त प्रस्ताव सुन्नासाथ पहिला थापाले आपत्ति जनाए। खासमा बैठकमा के भएको थियो? यस विषयमा मन्त्री गिरीसँग थाहाखबरले गरेको कुराकानी :

मन्त्रिपरिषद्को बैठकमै पार्टी अध्यक्ष कमल थापाले तपाईंको राजीनामा माग्नु भएछ, अब के गर्नुहुन्छ?

मेरो राजीनामा कमल थापाभन्दा पनि प्रधानमन्त्रीले माग्नुपर्छ। प्रधानमन्त्रीले मलाई राजीनामा दिनु भन्नुभएको छैन। यदि प्रधानमन्त्रीले राजीनामा दे भन्नुभयो भने म राजीनामा त दिन्छु। तर, मैले राजीनामा दिँदा अरू मन्त्रीहरूलाई चाहिँ बस्ने जनादेश छ कि छैन त्यो विषयमा पनि त गम्भीरतापूर्वक ध्यान दिनुपर्ला।

तर अध्यक्षकै सिफारीसमा तपाईं सरकारमा जानुभएको त हो नि?

अध्यक्षलाई चाहिँ अहिलेको जनादेश छ कि छैन? मैले राजीनामा गर्दा उहाँको नैतिक जिम्मेवारी छ कि छैन। उहाँ जनादेश प्राप्त हो कि मेरै हैसियतको हो। फेरि जनता र देशका बुद्धिजीवीले त मूल्यांकन गर्लान् नि त।

तपाईंको निर्णयमा अध्यक्ष फेरि बाधक बन्नुभो, त्यसमा खास विवाद के हो?

यो चाहिँ एउटा दुर्भाग्य नै भयो। मैले हिजोको बैठकमा भन्न खोजेको के हो भने अधिकांश मन्त्रीहरूले सचिवहरुले सहयोग गरेनन्। असहयोगको वातावरण निर्माण भयो त्यसमा मुख्यसचिवले नै सहयोग नगर्नु भनेर निर्देशन छ भन्ने चर्चामा पनि आयो। मुख्यसचिवप्रति मन्त्रीहरूको गुनासो रह्‍यो।

मुख्यसचिवजीले आफ्नो स्पष्टीकरण दिनुभयो। यो गलत हो मैले कुनै सचिवलाई भनेको पनि छैन र मलाई यही क्याबिनेटले मुख्यसचिव बनाएको हुँदा म सरकारको नेतृत्व र निर्देशनलाई जुनै ढंगबाट पनि पालना गर्छु। भोलि आउनेलाई पनि गर्छु र अहिलेकोलाई पनि गर्छु। मेरो आफ्नो दायित्वबाट विचलन हुन्न।

मन्त्रीहरूलाई सचिवले सहयोग गर्नुपर्ने बाध्यता हुन्छ। मन्त्रीकै सहयोगका लागि सचिव व्यवस्था भएको हो। सचिवहरुले सहयोग गरेनन् भने मन्त्रीले त्यो सचिवलाई हटाउने अधिकार सुरक्षित छ। मन्त्रीहरूले त्यस्तो नाम ल्याउनुहोस् र सचिवले काम गरेनन् भनेदेखि कार्यन्वयन गर्ने काम म गर्छु भनेर उहाँले आफ्नो स्पष्टीकरण दिनुभयो। त्यही सिलसिलामा मैले पनि धेरै मन्त्रालयमा भएको अवस्थाबारेमा यहाँ समीक्षा भयो। मुख्यसचिवजीले पनि त्यसमा आफ्नो स्पष्टीकरण दिइसक्नुभयो।

मेरो मन्त्रालयमा पनि अरू मन्त्रीजीले भनेको जस्तै छ। मेरो मन्त्रालयमा कार्यरत सचिवज्यू हुनुहुन्छ। उहाँले २ वर्षभन्दा ज्यादा भुक्तान गरिसक्नुभएको छ। उहाँ अब सरुवा हुने स्थितिमा हुनुहन्छ। यदि उहाँलाई सरुवा गर्ने हो भने सहरी विकास सम्बन्धमा पिएचडी गरेको एउटा उपयुक्त पात्र छ हामीसँग। उहाँलाई यो जिम्मेवारी दियो भने सहरी विकास मन्त्रालयलाई अझ प्रभावकारी बनाउनका निम्ति सहयोग पुग्नसक्छ भन्ने मलाई लागेको छ मात्रै भैले भनेको थिएँ। उहाँले मलाई तपाई‌‌ले मलाई नसोधी यस्तो प्रस्ताव ल्याउन मिल्दैन भन्नुभयो। मैले चाहिँ मेरो मन्त्रालयको कुरो गरेको हुँ।

यदि म मन्त्रालयको मन्त्री हुँ भने मन्त्रालयको कुरो गर्न पाइन्छ कि पाइँदैन? पाइँदैन भने मैले तपाईंलाई जानकारी गराएको थिएँ तपाईंले सचिवलाई रक्षा गरेर जाने काम गर्नुभयो। मैले क्याबिनेटमा जानकारी गराएँ। जे गर्नुपर्ने क्याबिनेटले निर्णय गरे भइगो नि भन्दा तपाईं राजीनामा गर्नुहोस् भन्नुभो उहाँले। मैले राजीनामा गर्नुपर्छ भने तपाईंले चाहिँ राजीनामा गर्नुपर्छ कि पर्दैन? तपाईंको नैतिकताले दिन्छ? तपाईंलाई जनादेशले दिन्छ कि दिँदैन भनेर मैले भनेँ। यस्तै कुरा भएको हो।

अब के गर्नुहुन्छ तपाईं?

मैले के गर्नेभन्दा पनि प्रधानमन्त्रीले राजीनामा दिनु भन्नुभयो भने म राजीनामा दिन्छु। सत्तामा बसिरहनका निम्ति म समय बिताउन आएको हैन। मन्त्रालयमा काम गर्ने वातावरण भएन भने सत्तामा बस्ने मनस्थितिमा छैन। कि मैले काम गर्न पाउनुपर्‍यो। काम गर्न नदिने भने किन बस्नु?

जनताको मनोभावना, चहानाअनुसार योजनाहरु सञ्चालन गर्ने र निष्कर्ष पुर्‍याउन तथा अधुरा रहेका योजना कार्यान्वयन गर्न हामीलाई पठाएको हो। केही पनि गर्न मिल्दैन भनेर जागिर खाना मात्र हो भने त मलाई खाँचो छैन।

तपाईंहरु एउटै पार्टीमा हुनुहुन्छ, अब पार्टीमा कुरा उठ्ला, पार्टी पङ्त्तिलाई कसरी बुझाउनुहुन्छ?

यिनै कुराहरू हुन्, बनाएर भन्ने कुरा भएन। पार्टीमा जे भएका तिनै घटनाक्रममहरूलाई भन्ने हो मैले। जुन ढंगबाट बैठकमा अध्यक्ष प्रस्तुत हुनुभयो। उहाँप्रति म साह्रै ठूलो श्रद्धा पनि गर्छु, उहाँसँग ४८ वर्षदेखि हामी सँगै हिँडेको हौँ। नेताका रुपमा उहाँलाई स्वीकारेर उहाँको नेतृत्वमा आएको हुँ। भोलि पनि उहाँलाई सम्मान नै गर्छु।

तर, हिजो जुन ढंगबाट उहाँ प्रस्तुत हुनुभयो उहाँको व्यक्तित्व, हाइट हो त्यसको निम्ति व्यवहार चाहिँ भएन। उहाँको प्रस्तुतिलाई सबै मन्त्रीहरुले गलत भन्नुभएको छ। पार्टी पङ्त्तिमा त यसले हित गर्दैन भन्ने त उहाँले सोच्नुपर्यो नि। मैले आफूले केही काम गर्दा त आफ्नो हित र अहित त आफैँले सोच्नुपर्छ नि त। नराम्रो काम गरे भने त सबैले मलाई आलोचना गर्छन् होला। राम्रो काम गर्‍यो भने सबैले प्रशंसा गर्छन् होला।

हाइटमा पुगेको नेताले यति कुरा त थाह पाउनुपर्थ्यो। क्यबिनेटको बैठकमा यस्तो ढंगबाट प्रस्तुत हुनु उहाँको लागि उपयुक्त थियो कि थिएन त अरूले विश्लेषण गरेका छन्। अरू मन्त्रीलाई सोधे भइहाल्यो नि। पार्टीले यत्रो पराजय भोग्नुपरेको छ। हामीमाथि यत्रो अभियोग लागेको छ। नेतृत्वमाथि जनता असन्तुष्ट भएर हामीले उठाएको मुद्दाविरुद्ध मतदान गरेका छन्। यो विषयलाई समीक्षा गर्नुपर्ने टड्कारो आवश्यकता छ।

अर्कोतिर, एउटा घटनाबाट हामी घायल भएका छौँ। त्यो घायल अवस्थाले हामी छटपटिइरहेकै अवस्थामा उहाँ जुन ढंगबाट प्रस्तुत हुनुभयो त्यो त त्यसलाई थप बल पुग्ने किसिमको भयो।

यसलाई सुधार गर्नेभन्दा पनि ध्वस्त बनाउने काममा उहाँको प्रस्तुति रह्‍यो। त्यो दुखद छ र उहाँ कुन ढंगबाट किन यसरी प्रस्‍तुत हुनुभयो। म आफैँ दु:खी छु उहाँलाई त म सम्मान गर्छु श्रद्धा गर्छु। त्यसले गर्दा नहुनु पर्ने कुरा भएको मैले अनुमान गरेर सबै मन्त्रीहरूले त्यही नै गर्नुभएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.