|

डडेल्धुराः डडेल्धुरा तरकारी उत्पादनका लागि प्रदेश नम्बर– ७ कै प्रख्यात जिल्ला मानिन्छ। जिल्लामा तरकारी उत्पादन राम्रो हुने भएपछि पछिल्लो समय यहाँका किसानहरू परम्परागत र निर्वाहमुखी खेती छाडेर व्यावसायिक तरकारी खेती गर्दै आइरहेका छन्। 

जिल्लाको भागेश्वर गाउँपालिका– ४ एैडुङ्गराका अगुवा किसानहरू तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आइरहेका छन्। तरकारी खेतीका लागि पकेट क्षेत्र मानिने उक्त ठाउँका किसानहरू व्यावसायिक तरकारी खेतीबाटै प्रशस्त आम्दानी गर्न थालेको बताउँछन्। 

आफूहरूले गर्दै आइरहेको तरकारी खेतीबाट आर्थिक उपार्जनमा टेवा पुगिरहेको किसानहरूको भनाइ छ। तरकारी खेतीले राम्रो खान, लाउन, छोराछोरीलाई पढाउन पुग्नुका साथै बचतसमेत हुने गरेको उनीहरू बताउँछन्। 

भागेश्वर गाउँपालिका– ४ एैडुङ्गरामा तरकारी खेती गर्दै आइरहेकी तुलसीदेवी वडले तरकारी खेतीबाट राम्रै आम्दानी भइरहेको बताइन्। ‘तरकारी खेतीबाट धेरै फाइदा छ। तरकारी खेती गरे विदेश जानु पनि पर्दैन’, उनले भनिन्, ‘हामी जसरी बालबच्चाको स्याहारसुसार गर्छौं, त्यसरी नै साग र तरकारीको पनि गर्छौं र राम्रो आम्दानी भइरहेको छ।’ 

उनले तरकारी लगाउँदा व्यस्त पनि भइने साथै खानलाई अनि बेच्नलाई पनि हुने बताइन्। ‘हातमा पैसा पनि आइरहन्छ’, उनले भनिन्।

पहिले आफूहरूले तरकारी खेतीको बारेमा केही नबुझेर धान, कोदो लगाउने गरेको बताउँदै तुलसीदेवीले भनिन्, ‘पहिले हामीलाई तरकारी खेतीको बारेमा थाहा थिएन, अब हामीले बुझिसकेका छौँ।’ यसबाट आम्दानी भएको पैसा समूह बनाएर बचत पनि गरिरहेको उनले सुनाइन्। तरकारी खेतीबाट वर्षमा दुई लाख रुपैयाँ आम्दानी हुने उनको भनाइ छ। उनी आफ्नो पेसाबाट सन्तुष्ट भएको बताउँछिन्। 

पहिले गहुँ, धान, कोदो र मकै खेती गरी परिवारका सबै सदस्यलाई साँझ बिहानको छाक टार्नसमेत समस्या झेल्दै आएका यी किसानहरूले परम्परागत खेती छोडेर तरकारी खेती गर्न थालेपछि सहज ढंगले जीविका चलाइरहेका छन्। 

किसानहरूले अहिले टमाटर, आलु, काउली, फर्सी, प्याज, बन्दाकोपी, सिमला, भन्टा, तितेकरेलालगायतका तरकारी उत्पादन गरिरहेका छन्। उनीहरूले एक वर्षमा २० देखि ३० क्विन्टल टमाटर उत्पादन गरिरहेको बताउँछन्। 

एक सिजनमा उत्पादन भएका तरकारी बिक्री गरी दुई लाख रुपैयाँसम्म आम्दानी गरिरहेको सोही ठाउँका अर्का अगुवा कृषक चन्द्रसिंह बुढाऐर बताउँछन्। बुढाऐर नेपाल प्रहरीका भूतपूर्व प्रहरी सहायक निरीक्षक हुन्। उनले पाँच वर्ष भयो तरकारी खेती गर्न थालेको। उनीसहित सात जनाको परिवारको खर्च उनले तरकारी खेतीबाटै धानेका छन्। अन्य खेतीभन्दा तरकारी खेतीमा फाइदा भएको उनको बुझाइ छ। 

‘मेहनत बाढी चाहिन्छ, तरकारी खेतीमा फाइदा छ’, उनी भन्छन्, ‘नगद पैसा पाइन्छ।’ तरकारी खेती गर्दा आफ्नो ठाउँमा पानीको समस्या रहेको बढाऐरले सुनाए। अन्य खेतीभन्दा तरकारी खेती राम्रो भएको बताउँदै अरूलाई पनि तरकारी खेती गर्न उनको सुझाव छ। तरकारी किन्नका लागि व्यापारीहरू गाउँघरमै आउने पनि उनले बताए।

तरकारीमा लाग्ने रोगहरूले चिन्तित छन् किसान
जिल्लाका ग्रामीण क्षेत्रमा यातायातको पहुँच बढ्न थालेपछि तरकारी उत्पादन गर्ने किसानको संख्यामा वृद्धि हुँदै गए पनि बेलाबेला तरकारी खेतीबाटै सन्तुष्ट रहेका किसानहरू तरकारीमा लाग्ने रोगहरूले भने चिन्तित छन्। बुढाऐर कहिलेकाहीँ तरकारी खेतीमा कीरा लाग्ने हुँदा आफूहरूलाई यसले चिन्तित बनाउने गरेको बताउँछन्।

कैलाली र कञ्चनपुरमा पनि निर्यात हुन्छ यहाँको तरकारी
विभिन्न समयमा लाग्ने रोग र कीराको समयमै समाधान गर्ने, सिँचाइको व्यवस्था र कृषि सडक निर्माण जोडिदिने हो भने डडेल्धुराका हरेक वस्तीहरू कृषि उत्पादनका लागि नमुना बन्नसक्ने अवस्था छ। 

डडेल्धुरा जिल्लामा दुई हजार ४२ हेक्टर क्षेत्रफलमा हिउँदे र बर्खे गरी दुई पटक तरकारी खेती गरिँदै आएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जनाएको छ।

यहाँ उत्पादन गरिएको तरकारी प्रदेश नम्बर– ७ का अन्य पहाडी जिल्लासहित तराईका कैलाली र कञ्चनपुरमा पनि निर्यात हुने गरेको छ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.