|

  • अनुपम रोशी-

‘गहिरो मौनताको यात्रामा हिँडेको अस्तित्वको आकाश विस्तारै पग्लिँदै जान्छ। जसरी बरफका टुक्राहरू तापमा परेपछि पग्लेर पानी बन्दछन्, त्यसैगरी हृदयको आकाश पग्लेर थोपाथोपा बग्न थाल्छ। 

शारीरिक जीवनको यो वर्णविन्यासमा आउनुभन्दा पहिले म कहाँ थिएँ र के थिएँ? यो चेतनाको शहरमा व्याकुल भइरहने आत्मा कहाँ थियो? किन समयको निरर्थक आवाज बनाएर नियतिले मलाई यस कुण्डमा होमिदियो? मेरो जिन्दगी यसरी बदलिनुपूर्व कुन स्थितिमा थियो? सपनाहरूको बीचबाट हिँड्ने मन, विचारहरूमा उद्वेलित हुने मस्तिष्क, आनन्द, दुःख, प्रेम र घृणाका लप्काहरू सञ्चित गर्ने मुटु, मात्रै आमाको कोखबाट उत्पत्ति हुन्छ या चलिरहेको बतासले उडाएर ल्याउँछ? या, फेरि यो सौर्यमण्डलमा फैलिने विकिरणहरूले उत्पत्ति गर्छन्?’

प्रश्नहरूको भूमण्डलमा एक फन्को लगाएर हृदय पुनः त्यो चट्टानी पहाडमा ठोकिन पुग्छ। र, रगतमा लत्पतिएको अस्तित्वको आकाश सबैतिर रित्तो देखिन्छ। त्यसपछि मन लाग्छ आफ्नै काखमा सुटुक्क मृत्युवरण गरिदिऊँ। बूढो राजपुतको छाती छेडेको यो धारिलो चक्कु आफैँले नदेख्नेगरी हृदयको मझधारमा रोपिदिऊँ। ... मध्यान्तर...

प्रिय पाठक!
समयको एउटा आँखिझ्यालमा उभिएर जीवनका अनगिन्ती अभ्यासहरूलाई हेर्छु। लाग्छ, संघर्षको कथा अझै कति लामो होला? यो यात्रामा अझै कस्ता अनुभूतिहरू थपिने होलान्? आमाको कोखबाट बाहिरिएको दिनदेखि यो निधारमा लेखिएको नियतिको कथाले, जीवनलाई डोहो¥याउँदै यहाँसम्म ल्याइपुर्‍याउँदा बाँच्नुका अनगिन्ती अभ्यासहरू भएका छन्। हाँस्नु, रुनु र जीवनलाई फेरि नयाँ बाटो बनाएर यात्रा गर्नु...। आखिर एउटा अभ्यास त रहेछ जिन्दगी! 

एक्लै, नितान्त एक्लै संसारको पल्लो किनारमा भेडा चराउन पुगेको भेडी गोठालो बिट्से जस्तै, अन्टार्कटिकाको शून्य आकाशमा पनि म खोजिरहेछु अनुभूतिका ती अनगिन्ती सन्दर्भहरूलाई, जो समयका असान्दर्भिक परिचय भएर उभिएका छन् मेरो अगाडि।

आकाशमा ताराहरू देख्छु। जून र घाम पनि देखिरहेकै हुन्छु। फेरि पनि आकाश रित्तो लाग्छ कहिलेकाहीँ, जसरी क्रान्ति, सिद्धान्त र आदर्शको उच्च उपस्थितिमा खाली लाग्छ समयको गति। खाली हुन्छन्, जीवनलाई न्यायको जगमाथि उभ्याउने साहसका एजेण्डाहरू।

प्रिय पाठक! 
हेर्ने दुई आँखामा जीवनको सौन्दर्यशास्त्र बराबर नहुन सक्छ। अनुभूत गर्ने मनले सबैतिर खुसी नभेट्न सक्छ। यसर्थ सपना नदेखेको भन्न मिल्दैन। रहर नभएको पनि ठान्न मिल्दैन। प्रत्येक दृश्यमा भरिँदै, पोखिँदै, भरिँदै, पोखिँदै तिनै संघर्षका नदीहरू बगिरहेका छन्। एउटा, समयको दृष्टिबाट र अर्को, मेरो दृष्टिबाट!

हुनसक्छ, समयको दृष्टिमा जीवन परीक्षणका पात्रहरू छन्। अथवा, अनुभूतिका भ्रामक अभ्यासहरू छन् तर मेरो दृष्टिमा शंकाग्रस्त मस्तिष्क छ। त्यसले हेर्ने सवालका थुप्रैथुप्रै आँखिझ्यालहरू छन्। त्यहाँ बदलिँदै जान्छन् सपनाका रङहरू। फेरिँदै जान्छन् आफैँले महत्त्वपूर्ण ठानेर गरेका निर्णयहरू। समयले अभ्यास, अभ्यास र केवल अभ्यास गराइरहेको छ। म टुक्राटुक्रा अभ्यासलाई साहसले सजाउने प्रयत्न गरिरहेकी छु।

हुनसक्छ, यी सबै निराशाका पुलिन्दाहरू हुन्। भन्न सकिन्छ, यी सब कमजोर मनस्थितिले उत्पन्न गरेका कायरतापूर्ण रुवाइहरू हुन्। तर जिन्दगीले अनुभूत गर्न सक्ने योभन्दा बेग्लै सत्य अर्को छ भने कृपया मलाई बताइदिनुहोला। 

हावामा प्वाँख हालेर माथिमाथि उड्नु। रहरहरूमा उफ्रेर नदीभन्दा तेज बग्नु। उमेरको उत्तेजना र जोश सबै क्रान्तिको आगोमा झोस्नु। आखिर के भएन? सबै त भएको थियो। तर अवतरण खोइ? किन मर्छ ध्वंसको धुवाँमा विचारको शक्ति? ती वर्जित र निषेधित काँचका पर्दाहरूबाट किन चिहाइरहेका देखिन्छन् निर्ममतापूर्वक पिसिएका दृष्टिबिन्दु? 

फेरि पनि समयको भित्तामा उनै पात्रहरू उही स्वार्थ रक्षाका लागि उसरी नै उदाइरहेका छन्। अरूको जिन्दगी टेकेरै खुसी भइरहेको छ समाज। अरूकै सपना टिपेर मुस्कुराइरहेको छ समय। अरूलाई सास्ती खेपाएरै खुसी भइरहेका छन् आफन्तहरू। सभ्यताले मानिस बनायो या मानिसले सभ्यता? समयले मानिसलाई हिँडाएको छ या मानिसले समयलाई? म बुझ्न खोजिरहेछु। तर निकास पाएका छैनन् आफैँसँग युद्धरत मेरा सोचाइहरूले। 

जब ध्वंसको आँधीमा भm्याप्प निभ्यो विश्वासको दियो, अनि विलीन हुँदै गए मुठ्ठीभित्रका संकल्प। गरिवीको कोर्राले जिन्दगीलाई जब थिलोथिलो पारेर चुट्यो, तब पागल भयो चेतनाको बन्दुक अनि सडकमा लखतरान भएर हिँड्न थाल्यो मेरो सिद्धान्तको पृष्ठभूमि। 

‘तपाईंहरूलाई ह्विलचियर थाहा छ? छैन भने सुन्नुहोस्, यतिबेला ममाथि बिराजमान छ एउटा विकलांग शासन व्यवस्था, जो सधैँ गरिवहरूको छातीमा बस्न रुचाउँछ। हो, त्यही ह्विलचियर हूँ म। म मात्रै किन? तपार्इं, तपार्इं र तपार्इं सबै त्यही ह्विलचियर हौँ। हाम्रो छाती, गर्धन र टाउकोमा बसेर हाँसिरहेको छ शासक। हामीमाथि बसेर वर्षौंदेखि त्यो मानसिक दुर्बलताले निसंकोच सम्भोग गरिरहेको छ। र, झनझन् अतृप्त हुँदै छ। 

हेर, तिमीले पनि हेर! (स्कुले युवाहरूतिर इगिंत गर्दै) र भित्रभित्रै कुण्ठाग्रस्त विचारको उत्तेजनालाई बमन गराऊ। किनकि वर्षौंदेखि त्यो अतृप्त सम्भोगको पीतदर्शक हुँ म। पीतदर्शक हौ तिमी र अरू पनि हुनेछन्।’ ...

प्रिय पाठक! 
माथिका अभिव्यक्ति एउटा होनहार युवकको हो, जसलाई समाजले पागल करार गरेको छ। 

जब जिन्दगी, अविश्वासहरूको आँधीबेहरीमा गुट्मुटिएर पल्लो किनारमा पुग्छ, तब प्रत्यक्ष अनुभव हुन्छ कि आफ्ना धेरैजसो अभ्यासहरूले मध्यान्तर अगाडि नै आत्महत्या गरिसकेका रहेछन्। र, ‘मध्यान्तर’ तिनै अभ्यासहरूले आत्महत्या गर्दै गरेको समयको विशेष कालखण्ड हो।

म चाहन्छु, यो कालखण्डलाई तपाईंहरूले पनि नजिकैबाट अनुभव गर्नुहोस्। यसमा मेरा, तपाईंका र तपाईंहरू जस्ताका थुप्रैथुप्रै अनुभूतिहरू छन्। जीवनप्रतिको एउटा कलिलो दृष्टि छ। मलाई विश्वास छ, त्यो कलिलो दृष्टिमा तपाईंहरू सबैका हृदय समावेश हुनेछन्। र, आफैँसँग मुस्कुराउनेछन्।

(रोशीको नयाँ पुस्तक 'मध्यान्तर' यसै साता सार्वजनिक हुँदै छ।)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.