|

  • जङ्ग तामाङ-

पाँचथरः साविक विजेता विर्ता युनाइटेड क्लव झापा– ११ लाई ट्राइ ब्रेकरमा पराजित गर्दै मोरङ– ११ पाँचथरको फिदिममा जारी नवौँ फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। 

फिदिम माविको खेल मैदानमा शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलमा झापा– ११ लाई ५ को विरुद्ध ६ गोल गर्दै मोरङ– ११ फाइनलमा प्रवेश गरेको हो। मोरङका लागि मिक्चेन तामाङ, अशोक खवास, बुद्धिमान राई, अभिषेक लिम्बू, मीन धिमाल र सुरेन्द्र खवासले गोल गरे। 

झापाका लागि कर्ण लिम्बू, दिलेन लोक्ताम, विक्की चौधरी, योगेश गुरुङ र सुमित मैनालीले गोल गर्दा आशिष चापागाईंले प्रहार गरेको गोल भने मोरङका गोल रक्षक सूर्य अधिकारीले बचाउ गरे। 

झापालाई कर्ण लिम्बूले खेलको २३औँ मिनेटमा गोल गर्दै खेलमा सुरुवाती अग्रता दिलाएका थिए। तर खेलको ७६औँ मिनेटमा मोरङका अशोक खवासले गोल गर्दै खेललाई बराबरीमा ल्याए। खेलको अन्तिमतिर झापाका खेलाडीहरूले मोरङविरुद्ध आक्रामक खेल प्रदर्शन गरे पनि गोल गर्न भने सकेनन्।

पराजयसँगै अब झापा प्रतियोगिताबाट बाहिरिएको छ भने मोरङ उपाधि नजिक पुगेको छ। मोरङले आइतबार उपाधिका लागि सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ। सुनसरीले फाइनलको यात्रा तय गर्दा डिभाइन व्वाइज युनियन क्लव, विभागीय टिम एपीएफ र अग्नि रूपन्देही– ११ लाई पराजित गर्‍यो। 

मोरङले पनि विभागीय टिम त्रिभुवन आर्मी र झापा– ११ लाई पराजित गर्‍यो। प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले दुई लाख रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन्। 

प्रतियोगिता समाज सुधारक तथा १६औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको स्मृतिमा फिदिम स्पोर्टिङ क्लवले आयोजना गरेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.