७ लाख पुर्‍याएर प्रधानमन्त्रीलाई बुझाइने

|

धनकुटा : धनकुटालाई एक नम्बर प्रदेशको राजधानी माग गर्दै धनकुटामा हस्ताक्षर अभियान तीव्र बनाइएको छ। पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकामसमेत रहेको धनकुटालाई सरकारले प्रदेश राजधानी नबनाउने षड्यन्त्र गरेपछि धनकुटाबासी जनता लामो समयदेखि आन्दोलनमा गरिरहेका छन्।

यसैक्रममा धनकुटामा संकलन गरिएको हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउन हस्ताक्षर अभियान चलाउन थालिएको छ। सो अभियान सुरु भएको एक हप्तामा झण्डै ७ लाख जनताले हस्ताक्षर गरेका छन्।

धनकुटालाई प्रदेश राजधानी बनाउन दबाब दिन आन्दोलन सुरु गरिएपछिको तेस्रो चरणमा हस्ताक्षर अभियान सञ्चालन गरिएको धनकुटालाई प्रदेश राजधानी बनाऊ अभियानका संयोजक तथा धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले जानकारी दिए।

धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउन माग गर्दै तेस्रो चरणको अभियानअन्तर्गत गरिएको हस्ताक्षर कार्यक्रममा ७ लाखभन्दा बढीले हस्ताक्षर गरेको र सो हस्ताक्षर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने तयारी भइरहेको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले जानकारी दिए।

१ नम्वर प्रदेशको राजधानी धनकुटालाई घोषणाको माग गर्दै पहिलो र दोस्रो चरणको अभियान सम्पन्न गरी तेस्रो चरणको कार्यक्रम अनुसार जिल्लाका सात वटै स्थानीय तहमा र काठमाडौंमा हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ। धनकुटालाई प्रादेशिक राजधानी बनाउने विषयमा जिल्लावासी र अन्य जिल्लावासीले पनि हस्ताक्षर अभियानमा सहभागी बनेको प्रदेश राजधानी बनाऊ अभियानका संयोजक घिमिरेले बताए।

उनले हस्ताक्षर अभियानमा धेरै जनताहरु सहभागी भएकाले सरकारले बाध्य भएर प्रदेशको राजधानी बनाउने बताए। धनकुटा राजधानी बनाउन जिल्लामा क्रियाशील राजनीतिक दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), संघीय समाजवादी फोरम लगायतका दल र विभिन्न सामाजिक संस्थाहरु लागेका छन्।

काठमाडौंमा पनि अभियान तीव्र

धनकुटालाई प्रदेशको राजधानी बनाउन काठमाडौंमा रहेका धनकुटेली र धनकुटाबाट काठमाडौं आएको प्रतिनिधि मण्डलले पनि आफ्नो अभियानलाई तीव्र बनाएका छन्। काठमाडौंमा समेत थप धर्ना, अन्तरक्रिया, छलफल र ज्ञापन पत्र बुझाउने कार्य भइरहेको छ।

धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउन निर्णय गर्न माग गर्दै अब चौथो चरणको कार्यक्रम अझ सशक्त ढंगले संचालन गर्ने पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले बताए।

१ नम्वर प्रदेशको राजधानी बनाउन उद्योगमन्त्री सुनिलबहादुर थापा, धनकुटाका प्रदेश सांसदहरु इन्द्रमणी पराजुली, निरन राई, पूर्व सांसद हेमराज भण्डारी, मनोहर नारायण श्रेष्ठ, उदय नेपाली श्रेष्ठ, अभियानका संयोजक तथा धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरे, नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, नेकपा एमाले धनकुटाका सचिवलय सदस्य अर्जुन राई, नेकपा माओवादी केन्द्र धनकुटाकी नेतृ कुशुम कुमारी श्रेष्ठ, नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य गोपाल बराइली, धनकुटा

शाखाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, अभियान्त बिदुर सुवेदी लगायतका टोलीहरु अहिले काठमाडौमा दैनिक रुपमा मन्त्रीहरु र विभिन्न राजनीतिक दलका नेताहरुसँग छलफलमा व्यस्त रहेको माओवादी केन्द्र धनकुटाकी नेतृ कुशुम कुमारी श्रेष्ठले जानकारी दिइन्। उनीहरूले आइतबार राजधानीको माइतीघर मण्डलामा धर्ना र सोमबार प्रधानमन्त्री निवास घेराउ तथा धर्ना गर्ने कार्यक्रम तय गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.