प्रचण्ड र पौडेलको गुनासो, ओलीले पढ्न भ्याएनन्

|
फोटो : रासस

काठमाडौं : राजतन्त्र अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि देश अब आर्थिक समृद्धितर्फ लाग्नुपर्ने उनको धारणा थियो। विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै आर्थिक समृद्धितर्फ अघि बढेर जनतालाई परिवर्तनको महशुस हुने काम गर्नुपर्छ भन्ने उद्देश्य उनमा पलाएको थियो। त्यही इच्छाका साथ एमाले उपाध्यक्ष वामदेव गौतम देश विकासको दरिलो खाका कोरिरहेका थिए। अब सबै नेपालीको ध्यान आर्थिक विकासमा हुनुपर्छ। गौतमले देशको विकासको एजेण्डा पनि तयार पारे। 

२०६७ सालमा एमाले नेता झलनाथ खनाल प्रधानमन्त्री भएका बेला उनले त्यही एजेण्डा लिएर प्रधान्मन्त्री कहाँ गए। सरकार, जनता र विदेशीको सहयोगमा आगामी १० वर्षभित्रमा नेपालको कायपलट हुने गरी विकासको बाटो अबलम्वन गर्ने योजना तत्कालीन प्रधानमन्त्री खनाललाई सुनाए। प्रधानमन्त्रीले उनलाई एउटा कार्यपत्रका रुपमा लेखेर ल्याउन आग्रह गरे। 

शनिबार विमोचन भएको पुस्तक ‘नेपाल नवनिर्माणको महाअभियान’को जन्मबारे सुनाउदै गौतमले भने,‘प्रधानमन्त्रीले भनेपछि मैले कार्यपत्र तायार गर्दै थिएँ। माओवादीका अध्यक्ष प्रचण्डलाई गएर यो मेरो योजनाका बारेमा सुनाएँ। उहाँले धेरै राम्रो योजना रहेछ भनेर मलाई हौसलासमेत दिनुभयो। उहाँले दस्तावेज लेख्नुपर्छ भन्नुभयो।’

यही विषयमा २०६७ साल असार १६ गते गौतमले कार्यशाला गोष्ठीको आयोजना गरे। कार्यक्रममा प्रमुख वक्ताका रुपमा केपी शर्मा ओली थिए। त्यही कार्यक्रममा गौतमले कार्यपत्र प्रस्तुत गरे। ‘मैले कार्यपत्र प्रस्तुत गरेपछि प्रमुख वक्ता रहनुभएका ओलीजीले प्रशंसा गरेपछि मलाई थप हौसाला मिल्यो। गोष्ठीले कार्यपत्रलाई पुस्तकमा निकाल्नु पर्ने निश्कर्ष निकाल्यो’,उनले भने। त्यसपछि उनले यो कार्यपत्रलाई पुस्तकका रुपमा लेख्न सुरु गरे। सरकार परिवर्तनले उनको पुस्तकलाई पनि ठूलै असर पार्‍यो।

‘पुस्तक लेख्न सुरु गरेपछि धेरै सरकार परिवर्तन भयो’,गौतमले भने,‘संविधानसभाबाट संविधान जारी पनि भएन। संविधानसभा नै विघठन भयो र देशको राजनीतिले नयाँ मोड लियो। त्यसले मेरो पुस्तक लेख्ने इच्छ तत्काल पूरा हुन सकेन।’ तर उनलाई पुराना कम्युनिष्ट नेता गोविन्द ज्ञवालीले पटक पटक पुस्तक लेख्न आग्रह गरे। उनले भने,‘गोविन्द दाइको आग्रहपछि किताब लेख्न सुरु त गरेँ। तर एक दिन एउटा लेख्दा अर्को दिन देशको राजनीतिमा अर्कै घटना हुन्थ्यो।’

पुस्तकको सम्पादनदेखि तयार हुँदासम्म प्रकाशक खोजेर पुस्तक छाप्नसम्म ज्ञवालीले नै सहयोग गरेको उनले बताए। ‘पुस्तक छाप्न लगे पनि मलाई चाहिँ मन परेको थिएन। छापामा लगेको किताब फेरि फर्काएर ल्याएँ। त्यसपछि फेरि लेख्न थालेर विद्वानसँग सम्पर्क गरेर पूर्णता दिएँ।’

गौतमले नेपालको इतिहासलाई पुस्तकमा समावेश गरेको बताए। उनले भने,‘मैले नेपालको इतिहासलाई पुस्तकमा समेटेको छु। अब आउँदा दिनमा देशलाई समृद्ध बनाउने योजना पनि किताबमा छन्।’

शनिबार पुस्तकको विमोचन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए। विमोचित पुस्तकमाथि एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले धारणा राखे।

ओलीले पुस्तक पढ्नै भ्याएनन्

पुस्तकमाथि बोल्न भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कार्यक्रममा बोलाइएको थियो। ओलीअघि बोल्ने पौडेल र प्रचण्डले पुस्तकका बारेमा आफ्ना धारणा राखे। तर ओलीले भने आफूले ‘नेपाल नवनिर्माणको महाअभियान’ पुस्तक पढ्नै नभ्याएको बताए। बोल्न सुरु गर्ने बितिक्कै यो पुस्तक पढेकालाई केही नयाँ सोच आउने बताएका ओलीले केही समयपछिआफूले पुस्तक पढ्नै नभ्याएको प्रतिक्रिया दिए। उनले भने,‘एउटा राम्रो कुरा भनौं या नराम्रो जुन किताबका बारेमा मैले टिप्पणी गर्नुपर्ने त्यही किताब मैले पढ्नै पाएको छैन। उहाँले दिनुभएको थियो पढ्नै पाइन। सिरानीमुनि हालेर सुत्दा पनि पढ्न आउने होइन। पढ्न भ्याइन। पूर्ववक्ता साथीहरुको जस्तो मेरो नकारात्मक कमेन्ट त छदैछैन।’ 

उनले अब पछाडि फर्किएर हेर्नुभन्दा पनि अगाडिको बाटोमा ध्यान दिनुपर्ने बताए। ओलीले भने,‘ विगतका कुराहरु समीक्षा गर्दै गरौंला अहिले अगाडि जाउँ। बहुदलीय व्यवस्थामा हेर्ने कोणहरु फरक हुन्छन्। सोचहरु फरक हुन्छन्।’ पुस्तकप्रति बोल्दाबोल्दै ओलीले वर्तमान राजनीतिक विषयमा प्रवेश गरी कांग्रेसको आलोचना गर्न थाले। कांग्रेसलाई गाली गर्न सुरु गरेपछि मञ्चमा बसेका कांग्रेस वरिष्ठ नेता पौडेल कार्यक्रम बाट बाहिरिए। 

बृहत शान्ति सम्झौता समेटिएन

पुस्तकमा सबै इतिहासले राम्रै स्थान पाएपनि माओवादीले गरेको जनयुद्ध र बृहत शान्ति सम्झौताले स्थान नपाएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुनासो गरे। उनले भने,‘मैले पुस्तक सरसर्ती पढेँ तर यहाँ बृहत शान्ति सम्झौतालाई प्राथमिकता दिइएन। इतिहासका सबै घटनालाई राम्रै लेखेको छ। तर शान्तिप्रक्रियालाई दुईलाइन मात्र लेखिएको छ।’

उनले वामदेव गौतमजत्तिको शान्तिप्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेताले आफ्नो पुस्तकमा शान्तिप्रक्रियालाई नसमेट्नु अलिक नसुहाउने बताए। उनले भने,‘पुस्तकमा त्यत्रो जनयुद्धलाई केही नभए जस्तो गरेर राखिएको छ। मानौ सानो आन्दोलन भयो। माओवादीलाई ल्याइयो भनेर सानो राखिएको छ। तर यो यति सजिलो होइन, म वामदेवजीलाई विशेष ध्यानाकर्षण गराउन चाहान्छु। तर किताब त लेखिनै सक्नु भो। तर त्यति धेरै बेवास्ता गर्नु न्यायपूर्ण भएको छैन।’ किताबमा संघीयता पनि गलत भएको भन्ने पाएको भन्दै प्रचण्डले आपत्ति जनाए। उनले भने,‘देशमा संघीयता आयो। संविधान आयो। त्यही अनुसार प्रदेश र संघको निर्वाचन पनि भयो। अहिले आएर संघीयता ठीक होइन भन्नु अलिक सुहाएन कि।’

दासढुंगा दुर्घटनामा कांग्रेसलाई जोडियो

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुस्तकमा २०५० साल वैशाखमा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु हुने गरी भएको दासढुंगा दुर्घटनामा कांग्रेस र गिरिजाप्रसाद कोइरालाई पनि दोष दिइएकोमा गुनासो गरे। उनले भने,‘त्यो दुर्घटनामा कांग्रेस र गिरिजाप्रसाद कोइरालालाई दोष दिने काम भएको छ। यो न्यायोचित भएन। यो घटनामा कांग्रेसको, गिरिजाप्रसाद कोइरालाको कहिँकतै रौंको पनि सम्बन्ध छैन। यति चाहिँ म भन्न सक्छु।’

२०४६ सालको आन्दोलनमा कम्युनिष्ट र कांग्रेसलाई एक ठाउँमा ल्याउने गणेशमान सिंहका बारेमा केही उल्लेख नभएको उनले बताए। २००७ सालको आन्दोलनलाई पनि कमजोर रुपमा प्रस्तुत गरिएको पौडेलको भनाइ थियो। उनले भने,‘नेपालमा सामन्तवादको अन्त्य गर्ने कुरमा विपी कोइरालाले ठूलो योगदान गर्नुभएको छ। उहाँको नेतृत्वमा २०१७ सालमा आन्दोलन अघि बढिरहेको थियो तर यसमा त्यसको श्रेय राजा महेन्द्रलाई दिन खोजिएको जस्तो मैले महसुस गरेँ।’

पुस्तकमाथि प्रा.डा. युवराज संग्रौला डा.सूर्यराज आचार्य, डिल्लिराज खनाल, डा.मोदनाथ प्रश्रित लगायतले चर्चा गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.