|

काठमाडौं : फिल्म 'होस्टेल रिटर्न्स' बाट चर्चामा आएका कलाकार हुन् नाजिर हुसेन। त्यसअघि धेरै नाटक र फिल्म 'पुन्टे परेठ'मा काम गरे पनि 'होस्टेल रिटर्न्स'को रामेश्वर यादवको भूमिकाले उनलाई चर्चित बनायो।  'जंगे', 'वीर विक्रम', 'गाँठो'मा पनि अभिनय गरिसकेका नाजिर पछिल्लो समयका चर्चित कलाकार हुन्। 'राज्जा रानी' र 'तिमीसँग' रिलिजको तयारीमा छ भने उनी फिल्म 'कागज पत्र'को सुटिङमा व्यस्त छन्।

फिल्म क्षेत्रमा सफल अनि व्यस्त बनेका नाजिरले यो अवस्थामा पुग्न धेरै मिहिनेत र दु:ख गरेका छन्। बाराको डुमरवानामा जन्मिएका उनले काठमाडौंमा आफ्नो करिअरका लागि धेरै दिन भोकैसमेत बसेका छन्।

परिवारको कान्छो छोरा नाजिर मायैमायामा हुर्किए। केही काम गर्नु पर्दैनथ्यो। दाइ र दुई दिदीहरु गाइबाख्रा चराउन जाँदा उनलाई पनि रहर लाग्थ्यो, तर आमाले जान दिदैन थिइन्। ठूलो भएपछि दाइ भारत गए, ठूली दिदीको विवाह भयो, कान्छी दिदी कामको सिलसिलामा राजविराज पुगिन्। त्यसपछिमात्रै उनले घरको काममा आमालाई सघाउन थालेका हुन्। 

नाजिरको बाबु उनको परिवारबाट छुट्टै बस्थे। नाजिरलाई बाबुको माया पनि आमाले नै दिइन्। गाउँको स्वास्थ्य चौकीमा अनमी रहेकी आमा पोलियो थोपा खुवाउन जाँदा नाजिर स्वयंसेवक भएर जान्थे। त्यसबेला नाजिरले भविष्यमा डाक्टर बन्ने सपना देखेका थिए। आमा पनि त्यही चाहन्थिन्। 'आमालाई म गाउँको अस्पतालको हाकिम होस् भन्ने चाहना थियो', उनी भन्छन् 'मलाई पनि त्यतै ध्यान गइसकेको थियो।'

नाजिर स्कुलका कार्यक्रमहरुमा नाच्न रुचाउँथे। १० कक्षाको परीक्षा दिएपछि नाजिरले गाउँको विद्यालयमा पढाउन सुरु गरे। अनि त्यही स्कुलमा प्लस टु पढाइ पनि सुरु गरे। 

डान्स सिक्न काठमाडौं आउँदा थिएटरको चान्स

११ को परीक्षा दिएपछि भने नाजिर डान्स (नृत्य) सिक्ने उद्देश्यले काठमाडौं आए। उनकी कान्छी दिदी थिइन् काठमाडौंमा। दिदीले नृत्य प्रशिक्षण कक्षा सञ्चालन हुन लागेको थाहा पाएर नै नाजिरलाई बोलाएकी थिइन्। डान्स सिक्दै गर्दा नाजिरलाई साथीहरुले नाटक खेल्न सुझाव दिए। 'तेरो एक्सप्रेसन पनि यति राम्रो छ। शरीर पनि मिलेको छ किन थिएटर गर्दैनस्' धेरैले उनलाई भन्थे। 

नाजिरलाई पनि अभिनयमा रुची थियो। कक्षा ६ पढ्दै गर्दा बारा पुगेका नाटक निर्देशक राजन खडिवडाले उनीहरुलाई नाटकबारे सिकाएका थिए। नाजिर काठमाडौंमा राजनलाई भेट्न मण्डला थिएटर पुगे। राजन, दयाहाङ राई, सिर्जना सुब्बाहरु नाटकघरको तयारी गर्दै थिए। नाजिरले त्यहीँ पुगेर भने 'मलाई नाटक सिक्नु छ, सिकाइदिनु न !'

मण्डलाले चरनदास चोर नामक नाटकको तयारी गर्दै थियो। त्यसमा कोरस (समूहमा गरिने) को रोल दिए नाजिरलाई। उनी सम्झिन्छन् 'त्यस बेला मैले आफूलाई खुबै भाग्यमानी ठानेँ। गएको केही दिनमा नै मैले नाटक गर्न पाउने भए भनेर हर्षित भएँ।' टिममा उनले गरेको कामको प्रशंसा नै भयो। त्यसपछि नाजिर गाउँ फर्किए। गाउँबाटै कक्षा १२ को पढाइ सिध्याए। फर्केर आएपछि मण्डलामा नै काम गर्न थाले। नाटकमा उनको यात्रा सुरु भयो। 

आमाको निधन, अनि दाइसँगको झगडा

नाजिरको चाहना थियो, आफूले खेलेको नाटक आमालाई देखाउने। एकदिन घरबाट फोन आयो। ‘आमा बिरामी हुनुहुन्छ। छिट्टै घर आइज।' उनी गाउँ गए। ‘वीरगञ्जमा आमाको उपचार भइरहेको थियो। त्यहाँ उपचार सम्भव नभएपछि आमालाई काठमाडौं रिफर गरियो। काठमाडौंका हस्पिटलमा पनि उपचार हुन सकेन’, नाजिर भन्छन् ‘आमाको चाहना गाउँ जाने भयो।' गाउँ लगेको केही दिनमा नै आमाको निधन भयो।

थिएटर यात्रा सुरु हुँदै गर्दा नाजिरले मातृवियोगको पीडा सहनुपर्‍यो। आफन्त र परिवारका सदस्यले नाजिरलाई काठमाडौं नफर्किन सुझाव दिए। दाइ दिदीहरु काम गरेर आफूलाई पाल्न सक्ने भइसकेका थिए, तर नाजिरको अझै नियमित कमाइ थिएन। ‘मलाई अब काठमाडौं नजा, कि यतै स्कुल पढाएर बस कि विदेश जा भन्ने धेरै थिए’ नाजिरले सम्झिए ‘मैले पनि काठमाडौं नआउने सोच बनाइसकेको थिएँ। यहाँ भएको सबै समान पठाउन साथीलाई भनिसकेको थिएँ।‘

तर अभिनयको भूत अनि थिएटर मोहले गर्दा उनले सजिलै काठमाडौं बिर्सन सकेका थिएनन्। उनले आफ्नो निर्णय बदले अनि काठमाडौं आए। ‘काठमाडौं जान्छु भन्दा मेरो दाइसँग झगडा नै पर्‍यो। आउने भाडा समेत दिएनन्’, उनी भन्छन् ‘पल्लो घरको अंकलसँग पाच सय मागेर आएँ।' पाँच सयमा चार सय २५ त गाडी भाडामै सकियो। उनीसँग जम्मा ७५ रुपैयाँ बाँकी रह्यो। 

नाजिर सिधै मण्डला पुगे। राजनले नाजिरलाई देख्नेबित्तिकै अंकमाल गरे। नाजिरको मन थामिएन ‘म राजन दाइको अंगालोमा कत्ति रोएँ रोएँ ‘ उनले भने 'त्यति त म कहिल्यै रोएको थिइनँ।' 

खल्तीमा २५ रुपैयाँ बाँकी थियो। सामाखुसी बस्थे उनी। त्यहाँबाट गाडी चडेर आए पैसा सक्किने डर। उनी भन्छन् ‘म कति पटक सामाखुसीबाट मण्डलासम्म हिँडेर पुगेको छु।‘

नाजिरलाई काठमाडौंमा सबै विरानो लाग्थ्यो। आकाशेपुलको माथि बसेर बत्तीहरु हेर्न खुबै रुचाउथे उनी। ट्राफिक जामको बेला बलेको बत्ती हेरेर घन्टौं बिताउथे।वसन्तपुर मन्दिरमा उनले कति रात ननिदाइ कटाएका छन्। ‘मैले कति रात त वसन्तपुरमा ननिदाई बिताएको छु। म त्यहाँ बालेको बत्ती अनि राति पेन्टरहरुले गरेको पेन्टिङ र मान्छे हेरेर बस्थे‘ नाजिर भन्छन् 'भूकम्पले मन्दिर भत्कायो। म त्यता जान सकिन, त्यो मन्दिरसँग छुट्टै अट्याचमेन्ट थियो।'

पैसाको अभावमा भोको जिन्दगी

घरबाट आउँदा बचेको २५ रुपैयाँले धेरै दिनसम्म टिके उनी। पैसाको अभावमा धेरै तड्पिएका छन्। भन्छन् ‘मैले कति दिन आधा पेट खाएर कटाएको छु।‘

जीवन गुजारा गर्न बेहुलीको घुम्टोमा सीतारा भर्ने कामसमेत गरे नाजिरले। भन्छन् ‘बेहुलीको घुम्टोमा सीतारा भरेको ५५ रुपैयाँ पाइन्थ्यो। अनि टोपीमा भरेको ६०।‘ रातभरीमा एउटा सकिन्थ्यो। त्यो पैसा पाउँदा निकै खुसी हुन्थे उनी। ‘आहा! भोलिको लागि गाडी भाडा र खाजा खर्च पुग्यो।’

साथीहरुलाई घरबाट बारम्बार फोन आइरहन्थ्यो, तर उनलाई फोन गर्ने कोही थिएन। ‘साथीहरुको घरबाट फोन गरेर के खाइस् के गर्दैछस्, राम्रोसँग बस भन्नुहुन्थ्यो। मेरो त कसैले फोन गर्दैनथे।' घरको याद आउँदा खादाखादैको भात छोडेर हिँड्थे उनी। 'पशुपतिमा गएर आरती हेरेर बस्थेँ' नाजिरले भने ‘मनलाई शान्ति होला कि भन्ने आशमा पशुपति गएर बस्थेँ।‘

मण्डलामा अभिनय सिक्दै गर्दा साथीहरुलाई प्राय: बेलुकीको समयमा परिवरको फोन आउँथ्यो। नाजिर भने साथीहरु फोन गरेको बेला मण्डला थिएटरको अगाडि सिँढीमा बसेर वरिपरी पार्किङमा राखेका मोटरसाइकल गनेर बस्थे। भन्छन् ‘मैले त्यो सिँढीमा बसेर गनेको बाइक संख्या पनि याद छ अझै।' संघर्ष सबैले गर्छन्, तर नाजिर आफूलाई सहयोग गर्ने कोही नभएकाले अझ गाह्रो भएको बताउँछन्।

फिल्ममा अवसर

नाटक डिग्री माइला चलिरहेको थियो। नाजिर पनि त्यसमा एक पात्र थिए। त्यही बेला  चलचित्र निर्माता सुवास कोइराला पनि नाटक हेर्न आएका रहेछन्। सुवासको नजरमा नाजिर परिहाले। उनले नाजिरलाई फिल्म ‘पुन्टे परेठ’को को लागि अफर गरे। नाजिर भन्छन् ‘मलाई अफर आउने बित्तिकै दयाहाङ दाइलाई सोधेँ, दाइ मलाई यस्तो अफर आएको छ गरौं, कि नाइ?’

दयाहाङले नाजिरलाई काम गर्न सुझाव दिए। नाजिरले गरे पनि, तर फिल्म सफल भएन। तत्कालै उनले फिल्म जंगेमा काम गरे। प्रदर्शनको हिसाबले दोस्रो भए पनि  उनले गरेकोमध्ये तेस्रो फिल्म हो ‘होस्टेल रिटर्न्स।’ होस्टेल रिटर्न्सबाट उनी धेरै दर्शकको रोजाइमा परे। उनको परिचय नै बदलियो। उनलाई नाजिर भन्दा पनि होस्टेल रिटर्न्सको रामेश्वर यादव भनेर चिन्ने धेरै भए। भन्छन् ‘होस्टेल रिटर्न्स मेरो फिल्म यात्राको टर्निङ प्वाइन्ट बनिदियो।‘

त्यसयता नाजिरले वीर विक्रम, गाँठो लगायतका फिल्ममा काम गरे। वीर विक्रम व्यवसायिक हिसाबले पनि सफल भयो। गाँठो फिल्म उनले मूख्य भुमिका निर्वाह गरेको पहिलो फिल्म हो। तर यो असफल भइदियो। अहिले नाजिर आफ्नो मुख्य भूमिका रहेको फिल्म 'राज्जा रानी'को पर्खाइमा छन्। यस फिल्मबाट निकै आशावादी नाजिर सफल हुनेमा पनि ढुक्क छन्। आफूले आफैलाई मुख्य भूमिकामा पनि फिट हुन्छु भनी प्रमाणित गर्न पनि 'राज्जा रानी' चल्नुपर्ने बाध्यता रहेको नाजिर बताउँछन्। त्यसैले नाजिर पनि 'राज्जा रानी' प्रदर्शन हुने पुस २१ को प्रतिक्षामा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.