|

कपिलवस्तु : जिल्लामा विगतका वर्षहरुमा निरन्तर ओरालो लागेको तोरी उत्पादनमा चालुवर्षमा भने वृद्धि हुन थालेको छ। विगतका वर्षमा तोरी खेतीको सिजनमा बीउ, मलको अभाव सिर्जना हुने गरेको भए पनि यसवर्ष भने तोरी खेतीका लागि पर्याप्त सुविधा भएसँगै उत्पादनमा वृद्धि भएको हो।

तोरीको फूल फूलेर फल लाग्ने मुख्य समयमा मौसम अनुकूलताले यस वर्ष जिल्लामा तोरीको उत्पादनमा १० प्रतिशतले वृद्धि हुने कृषि कार्यालयको अनुमान छ।

पर्याप्त जग्गा हुँदा पनि सिँचाइ सुविधा नहुँदा विगतका वर्षमा तोरी उत्पादनमा कमी आउने गरेको थियो। तोरी खेतीको समयमा बीउ बिजनको अभाव, शीतलहर, रासायनिक मलको अभाव लगायतका समस्याले गर्दा प्रशस्त खेतीयोग्य जमिन हुँदाहुँदै पनि तोरी उत्पादन नहुँदा बजारबाट तेल किनेर खान बाध्य भएको स्थानीयको भनाइ छ।

अहिले कपिलवस्तुमा तोरी खेतीको क्षेत्रफल बढेर २ हजार ८ सय ४५ हेक्टर पुगेको छ। त्यसबाट वार्षिक २ हजार ५ सय ६५ मेट्रिक टन तोरी उत्पादन हुने जिल्ला कृषि विकास कार्यालयका निमित्त वरिष्ठ कृषि विकास अधिकृत खुर्सेद अहमद खाँले बताए। ‘गतवर्ष भन्दा यस वर्ष तोरीको उत्पादनमा १० प्रतिशतले वृद्धि हुन्छ, मौसम अनुकूलताले गर्दा यो सम्भव भएको हो’, उनले भने। विगतका वर्षमा तोरी खेतीको समयमा पाल लागेर बाली फस्टाउन नसकेको उनको भनाइ छ।

कार्यालयका अनुसार चालु आर्थिक वर्ष ०७४÷०७५ मा जिल्लामा तोरी उत्पादनको परिमाणमा ८ देखि १० प्रतिशत सम्म वृद्धि हुने अनुमान गरिएको छ। जिल्लाको पूर्वोत्तर भाग मोतीपुर, कोपवा, बाणगंगा, पटना, निग्लिहवा, पश्चिमको शिवपुर, खरेन्द्रपुर, इमिलिया, बुड्डी, महाराजगञ्जलगायत दक्षिणी क्षेत्र वसन्तपुर, सौराहा, मर्जादपुर, बैदौली लगायतको स्थानलाई तोरीको पकेट क्षेत्र मानिन्छ।

पशुपालन तथा तरकारी खेतीमा जस्तै आकर्षण तत्कालै बढेको पाइँदैन तर पनि रोग, किराको समस्या समाधान भएपछि किसानको आकर्षण तोरी खेतीमा भने बढ्दै गएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।

सरकारले तेलहन बालीलाई प्रवद्र्धन गर्न थालेपछि तोरी खेतीतर्फ किसानको आकर्षण अहिले बढेको हो। बिक्रि बितरण गर्न र एैँचोपैँचो गर्न पनि सहज भएकाले आफूहरु तोरी खेतीतर्फ आकर्षित भएको निग्लिहवाका स्थानीय कृषक बाबुराम खड्काको बुझाइ छ। ‘हामीहरुका लागि मुख्य समस्या भनेकै मौसमी प्रतिकूलता हो’, कृषक खड्काले भने।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.