|

तनहुँ : तनहुँको आर्थिक उन्नति र विकासका लागि विभिन्न क्षेत्रमा होमस्टे, क्यानोनिङ, र्‍याफ्टिङ, धार्मिक पर्यटकीय क्षेत्र जस्ता कार्यहरु अगाडि बढाएर पर्यटक भित्र्याउन सबै तर्फबाट लागिरहेका छन्।

जिल्लामा विकसित क्षेत्रमा मात्रै पर्यटक पुग्ने नभई तनहुँका गाउँहरुमा पछिल्लो समय पर्यटक भित्र्याउनको लागि विभिन्न कार्यक्रम गर्न थालिएको छ। गाउँ र समाजको विकाससँगै उनीहरुले आम्दानी गर्ने थलोको रुपमा विकास गर्न थालेका हुन्।

यस्तै, गाउँमध्ये एक तनहुँको मिछुर्लुङ गाउँ मानिन्छ। आन्तरिक र बाह्य पर्यटकहरु भित्र्याएर गाउँको विकास गर्न मिछुर्लुङवासी उत्साहित भएका छन्। उनीहरुले गाउँमा नै होमस्टे सञ्चालनमा ल्याएर पर्यटक भित्र्याउनुको साथै गाउँको नै प्रचारमा जुटेका छन्।

त्यस्तै, जिल्लाका विभिन्न ठाउँहरुमा होमस्टे  सञ्चालन गर्दै एकातिर पर्यटकहरु भित्र्याएका छन् भने अर्कोतिर आर्थिक स्तरको उन्नतिसमेत गरेका छन्। यसरी गाउँले नै आर्थिक उन्नति गर्दै जाँदा जिल्लाकै आर्थिक उन्नती हुनेमा कुनै दुईमत छैन। 

उक्त होमस्टेबाट पर्यटकहरुले मनोरम दृश्यसँगै हिमश्रृंखलाको अवलोकन सहज रुपमा गर्न सकिनेछन्। माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि लगायतका हिमश्रृंखलाहरुको दृश्यका साथ होमस्टेमा रमाउन सकिन्छ।

त्यस्तै, बेरोजगार युवाहरुले होमस्टेमा बाआमाहरुलाई पर्यटक तान्ने कार्यमा सहयोग गरिरहेका छन्। नेपालमा उपयुक्त गन्तव्यको खोजी गर्दै आइरहेका विदेशी पर्यटकलाई खुसी पार्न सकिएको खण्डमा अझ बढी मात्रामा पर्यटक भित्र्याउन सकिने अनुमान त्यहाँका स्थानीयले गरेका छन्।

मगर समुदायको बस्ती रहेको मिछुर्लुङ गाउँमा पर्यटकको उपयुक्त  गन्तव्य बनेकोे छ। आफ्नो संस्कृति झल्किने परम्परा र भेषभुषामा सजिएर मौलिक खानाका साथै नाचगानबाट पर्यटकलाई आकर्षित गर्न यहाँका मगर समुदायहरु लागिपरेका छन्।

गाउँमा करिब ७५  घरधुरीमध्ये १० घर दलित समुदायका छन् भने बाँकी मगर जातिका रहेका छन्। उक्त गाउँमा १२ घरका सदस्य मिलेर होमस्टे सञ्चालन गरेका छन्। जसमा ११ घर मगर समुदायका छन् भने एक घर दलित समुदायका छन्।

उनिहरु होमस्टेको लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउदै अतिथि सत्कारमा तल्लिन रहेको पाइन्छ। मिछुर्लुङ पछिल्लो समय पहाडको मनमोहक दृश्यका साथै मनोरम हिमालहरु पनि नियाल्न सकिने हुँदा पर्यटकको उचित गन्तव्य बन्दै गएको मिछुर्लुङ होमस्टेका अध्यक्ष नरेन्द्र थापा मगरले बताए।

‘जङलमा विशेष प्रकारको ढुंगे पहरो छ, त्यसलाई लट्ठिले हिर्काउँदा बाजा जस्तो आवाज निस्कन्छ, त्यो आवाजले पनि पर्यटकको आकर्षण बढेको छ, त्यसैले ढुंगे पहरो पाहुनाको लागि आकर्षण केन्द्र बनेको हो,’ उनले भने ‘३५ मिटर दुरीको झरनामा क्यानोनिङको व्यवस्थासमेत गरिएको छ।’

आन्तरिक तथा बाह्य पर्यटक आउँदा फूलमालाले स्वागत गर्ने गरेका छन्। गाउँमा उत्पादन भएका विभिन्न परिकारहरु, पुराना घरमा बसेर रमाउने, परम्परागत नाचगानमा रमाउन, मनोरम दृश्य अवलोकन र हिमाल नियाल्न पाइन्छ। मगर समुदायको परम्परागत नाचगान, खाना, खाजा, सत्कारबाट पर्यटकलाई आकर्षित गरिरहेको छ।

समुदायले एकचोटि आएका पाहुनालाई फेरि आउने वातावरण बनाउन विभिन्न किसिमका सांस्कृतिक कार्यक्रम गर्ने गरेका छन्।

ग्रामीण क्षेत्र भएकाले होमस्टेसँग समन्वय गरेर विभिन्न संघसंस्थाले स्वास्थ्य शिविरको पनि सञ्चालन भइरहेको हुन्छ। काठमाडौंको तिलगंगा आँखा अस्पताल, हार्डखोर नेपाल र ट्रयाक हिमालयन मिलेर आँखा शिविर सञ्चालन गरी आँखासम्बन्धी स्वास्थ्य सेवासमेत दिइसकेको बताइएको छ।

०७१ देखि सञ्चालनमा आएको होमस्टे यो स्थानसम्म आइपुग्दा गाउँबासीमा आर्थिकस्तर वृद्धि हुनुका साथै व्यवसायप्रति प्रोत्साहित भएका छन्।

एक लाख रुपैयाँको बजेटमा होमस्टेको गेट निर्माणको लागि पिल्लर उठाइएको छ। त्यस्तै, ढुंगे पहरो जाने बाटो निर्माणका लागि ७५ हजार योजनामा परिसकेको र निर्माणका काम भइरहेको थापाले बताए। उनले पुर्वाधार आवश्यक परेको हुँदा विभिन्न एनजिओ÷ आइएनजिओलगायत सरकारी निकायबाट सहयोग पाउन सके सहज र छिटो निर्माण गर्न सकिने बताए। सफा र सुन्दर रमणीय वातावरण रहेको प्राकृतिक सौन्दर्यले भरिपूर्ण गाउँमा पिउने पानी र  विद्युतको सुविधा राम्रो रहेको छ।

तनहुँ पर्यटन बोर्डका अध्यक्ष हरिसिंह गुरुङले जिल्लाकै नमुनाको रुपमा रहेको होमस्टे भएकाले कालोपत्रे सडकबाटै उक्त सहजै पुग्न सकिने बताए। भिमाद नगरपालिकाबाट ४ किलोमिटर मात्रै दुरीमा होमस्टे रहेको र उक्त होमस्टेमा बासोबाससँगै ऋषिङ, कोटदरबार लगायतका ऐतिहासिक ठाउँहरुको समेत अवलोकन गर्न सकिने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.