|

इलाम : पूर्वी पहाडका किसानका लागि आम्दानीको मुख्य नगदेबाली अलैँचीको मूल्यमा सुधार आएपछि किसानहरु खुसी छन्। उत्पादन सुरु भएसँगै निरन्तर ओरालो लागेको अलैँची मूल्यमा केही वृद्धि भएपछि किसानको मुहारमा उत्साह थपिएको हो।

मूल्यमा निरन्तर गिरावटपछि किसान अलैँचीखेतीको विकल्प खोज्न लागेका थिए। मूल्यमा आएको सुधारले केही आशा पलाएको माईमझुवाका कृषक देशवीर गुरुङले बताए। अन्तर्राष्ट्रिय बजारमा अन्य मुलुकमा उत्पादित अलैँची सकिएकाले नेपालको उत्पादनले केही मूल्य पाउन थालेको व्यापारी बताउँछन्।

इलामसहित जिल्लाका बजारहरुमा  अहिले अलैँची प्रतिमन ३३ हजारदेखि ३७ हजार रुपैयाँसम्म कारोबार हुन थालेको छ। उच्च गुणस्तरको अलैँची प्रतिमन ३७ हजार रुपैयाँमा कारोबार हुन थालेको अलैँची व्यवसायी संघ इलामका अध्यक्ष विजय खाकीले बताए।

साता दिनयता अलैँचीको मूल्यमा सुधार आएको उनको भनाइ छ। अलैँची मूल्यमा सुधारले किसान र व्यापारीमा उत्साह थपेको छ। घटेको मूल्यमा प्रतिमन १२÷१३ हजार रुपैयाँ वृद्धि भएपछि किसान खुसी भएका हुन्। विगतका वर्षमा प्रतिमन एक लाख रुपैयाँसम्ममा विक्री भएको अलैँचीको मूल्य घटेर यो वर्ष सुरुआतमा २५ हजारको हाराहारीमा झरेको थियो।

नेपालको नगदेबाली निर्यातमा सबैभन्दा ठूलो हिस्सा अलैंचीले ओगटेको छ। ‘कालो सुन’ को नामले चिनिएको अलैंचीखेतीसँग किसानको प्रतिष्ठा जोडिएकाले पहाडमा यसलाई विशेष रूपमा हेर्ने गरिएको छ। जिल्लामा अलैंची निर्यातबाट बर्सेनि करोडौं रकम भित्रिने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.