|

कावासोती : पुस १४ गते कावासोतीको गण्पति चलचित्र मन्दिरमा च्यारिटी सो गरिएको चलचित्र ‘फुर्के’ ले आइतबार विपन्न परिवारलाई सहयोग गरेको छ।  च्यारिटी सो बाट भएको आम्दानीबाट विपन्न परिवारलाई खाद्यान्न लगायतका सामग्री सहयोग गरिएको हो। 

कावासोती १६ पिप्रेनीमा मासिक ५ सय रुपैयाँमा ट्याङ्की  भाडामा लिएर बसेका ८० वर्षीय तिलक केसी र ७५ वर्षीय धनकली केसी दम्पतीलाई निर्माता देवेन्द्र खड्का( देव) ले चामल, लत्ता कपडालगायतका खाद्यान्नहरु वितरण गरेका हुन्।

वृद्धभत्ता र दुना टपरी बनाएर जीविकोपार्जन गर्दै आएका उनीहरु ‘फुर्के’को तर्फबाट सहयोग मिलेपछि खुशी भएका छन्। सहयोग पाएपछि केसीले भने 'हामी जस्तो दुखीहरुलाई चलचित्र ‘फुर्के’ले सहयोग गर्यो चलचित्र धेरै चलोस्।' त्यस्तै कावासोती १६ पिप्रेनीका अर्का विपन्न जौमाया गुरुङको परिवारलाई पनि चलचित्र ‘फुर्के’ले चामललगायतका खाद्यान्न वितरण गरेको छ।

अछाम जिल्लामा छायांकन भएको चलचित्र ‘फुर्के’मा जातीय विभेदविरुद्ध चेतनामूलक सन्देश देखाउन खोजिएको छ। निर्देशक भद्र भुजेलले आफू निर्देशित चलचित्र ‘फुर्के’को फस्टलुक रिलिजसँगै कावासोतीमा पुस १४ गते पहिलो पटक च्यारिटी सो गरेका हुन्। चलचित्रको फस्ट लुकमा ३ जना कलाकारलाई देखाइएको छ।

कमेडी जनरामा निर्माण गरिएको चलचित्रको प्रस्तुतकर्ता एमबी राउत हुन्। यस चलचित्रमा दीपक ढकाल, सुरेन्द्र बुढाथोकी, सुनिल सिंह, कसिस दाहाल, नैना राना, उतम केसी लगायतका कलाकारले अभिनय गरेका छन्।

देवेन्द्र खड्का (देव) र मानबहादुर राउतको लगानीमा निर्माण गरिएको चलचित्रमा सहनिर्माताको रुपमा कल्पना मरहठ्ठा शाही, प्रकाश बस्नेत छन् भने यसका कार्यकारी निर्माता बखत विष्ट हुन्। चलचित्रमा नवीन पन्तको लेखन, विष्णु बरालको छायांकन, सिर्जन बरालको नृत्य, रोशन बुढथापा र नरेन्द्र रावलको संगीत, सुवास देवकोटाको सम्पादन छ। यो चलचित्रलाई माघ १२ गते रिलिज गर्ने तयारी गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.