|

विराटनगर : उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले फागुन पहिलो सातामात्रै नयाँ सरकार गठन हुने बताएका छन्।

विराटनगर विमानस्थलमा आइतबार पत्रकारसँग कुरा गर्दै मन्त्री गच्छदारले संवैधानिक प्रक्रिया पुरा गरेर संघीय संसदले पूर्णता पाउने र त्यसपछि सरकार बन्ने बताएका हुन्। ‘सरकारका कारण नयाँ सरकार बन्न ढिलो भएको होइन, संवैधानिक अंगले पूर्णता पाउन संवैधानिक प्रक्रिया पूरा हुनुपर्छ,’ गच्छदारले भने, ‘केही समय धैर्य गर्नुपर्छ नयाँ सरकार फागुनको पहिलो साता बन्ने जस्तो देखिन्छ।’

उपप्रधानमन्त्री गच्छदारले बिहीबार बस्ने मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुखको टुंगो लगाउने तथा राष्ट्रियसभाको निर्वाचन मिति तोक्ने पनि जानकारी दिए। ‘प्रदेशको नाम र राजधानीको विषयमा अहिले कुनै छलफल भएको छैन’, उनले भने, ‘प्रदेशको नाम र राजधानी बनाउने अधिकार प्रदेशसभालाई छ त्यसकारण यस विषयमा यही सरकारले तत्काल केही निर्णय गर्ला जस्तो लाग्दैन।’

प्रमुख पार्टीहरुसँगको छलफल गरेरै प्रदेश प्रमुखको टुंगो लगाउने तयारी भएको उपप्रधानमन्त्री गच्छदारले जानकारी दिए। ‘ठूला पार्टीहरुसँग छलफल गरेरै प्रदेश प्रमुखको टुंगो लाग्छ, प्रधानमन्त्रीले यस्तो छलफल गरिरहनुभएको छ’ उनले भने, ‘संविधानले यही सरकारलाई प्रदेश प्रमुख तोक्ने अधिकार दिएको कारण प्रदेश प्रमुख पनि यही सरकारले तोक्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.