|
फोटो : www.wikihow.com

काठमाडौं : आफूले गरेको कामको बारेमा धेरैबेर सोचिरहने, काम बिग्रन्छ कि भनेर दोहोर्‍याएर हेर्ने वा कुनै विषयमा चाँडै डराउने बानी छ? एउटै काम दोहोर्‍याएर गर्ने वा आफूले गरेको काम बिग्रिएको शंका लागेर धेरै पटक दोहोर्‍याएर गरिरहने बानी छ भने यो एक किसिमको मानसिक समस्या हो। 

व्यक्तिलाई आफूले एउटै काम दोहोर्‍याएको छु भन्ने थाहा भए पनि बारम्बार एउटै विचार आइरहँदा मानिसमा छटपटी हुने र एउटै काम दोहोर्‍याएर गर्न मन लाग्ने हुन्छ। यसलाई मेडिकल भाषामा अप्सेसिक कम्पलसीप डिसअर्डर भनिने मानसिक रोग बिशेषज्ञ डा. अरुण कुँवर बताउँछन्।  

'यो एउटा यस्तो खालको मानसिक रोग हो, जसमा बिरामीलाई एउटै विचार, सोचाइ, दृश्य बारम्बार दिमागमा आइरहँदा छटपटी हुने र एउटै काम दोहोर्‍याएर गर्ने गर्छ। बिरामीले यो बानी हटाउन चाहदा चाहदै पनि सक्दैन जसलाई हामी अप्सेसिप कम्पलसिप डिसअर्डर भएको भन्छौं' उनले भने। लामो समयसम्म यस्तो व्यवहार गर्ने मानिसलाई पछि कडा खालको मानसिक समस्या देखा पर्ने र बिरामीले आत्महत्यासम्मको बाटो रोज्न सक्ने डा. कुँवर बताउँछन्। 

यस्तो समस्या देखिएका व्यक्तिले कुनै कुराप्रति नकारात्मक भावना राख्नुभन्दा पनि काम बिगारिन्छ कि भन्ने डरले दोहोर्‍याउने गर्छन्। 'प्राय एउटै कुरा दोहोर्‍याउने मात्रै नभएर यस्ता मानिस मन्दिर जाँदा पनि समस्या आउँछ। पुलमा हिंड्दा लडिन्छ कि भनेर मनमा छटपटी भइरहने, हतियारनजिक बस्दा अर्कालाई हान्ने सोँच आउने गर्छ, जुन गर्नु हुँदैन भन्ने थाहा हुँदा पनि पटक पटक मनमा सोच आइरहने हुन्छ' उनले भने। 

किन हुन्छ यस्तो?

धेरैले यस्तो समस्यालाई सामान्य रुपमा लिए पनि यो गम्भीर खालको मानसिक समस्या हो। खासमा यस्तो समस्या मस्तिष्कमा सेरोटोनिन भन्ने रसायनको गडबडीले हुन्छ। सेरोटोनिननले मस्तिष्कमा रहेका नशाहरुलाई जोड्ने काम गर्छ। नशामा यो रसायनको गडबडीले गर्दा मानिसमा एउटै काम दोहोर्‍याएर गर्न मन लाग्छ। यसबाहेक आफूले गर्न खोजेको काममा सफलता नपाउँदा पनि यस्तो समस्या आउने डा. कुँवरले बताए। उनले भने 'हाम्रो मस्तिष्कको नशामा सेरोटोनिन भन्ने रसायनको गडबडीले गर्दा मानिसमा यस्तो समस्या देखिने गर्छ।'

कस्तालाई हुन्छ यस्तो समस्या?

धेरै अनुशासन चाहने र अनुशासनमा बस्न रुचाउने, आफूले भनेको कुरा पूरा हुनैपर्छ भन्ने भावना भएका मानिसहरुमा यस्तो समस्या देखिने डा. कुँवरको भनाइ छ। यसका अलावा धेरै समय मनमा कुरा खेलाइरहने, कुनै कुरासँग चाँडै डराउने, सानो सानो कुरालाई पनि ठूलो मान्ने सोच भएकाहरुमा यस्तो मानसिक समस्या देखिने उनी बताउँछन्।

के हुन्छ उपचार? 

यो मानसिक समस्याको उपचार विरामीको अवस्था हेरेर औषधी वा मनोवैज्ञानिक परामर्शमार्फत गरिन्छ। यस्ता विरामीमा कुनै पनि कुरामा अस्वाभाविक रुपमा शंका गर्ने हुँदा बिरामीले कुन कुरामा धेरै ध्यान दिएको छ, त्यस कुरामा ध्यान नदिन प्रयत्न गरिन्छ। प्राय: सुरुकै अवस्थामा विरामी उपचारमा आए मनोवैज्ञानिक परामर्शमार्फत उपचार गरिने भए पनि धेरैले यस्ता समस्यालाई सुरुमा सामान्य रुपमा लिने हुँदा समयमा नै चिकित्सककोमा नपुग्ने हुँदा ग्रसित भइसकेपछि मात्र अस्पताल आइपुग्ने र त्यसबेला बिरामीमा कडा खालको मानसिक समस्या भइसकेको हुँदा औषधी नै सेवन गर्नुपर्ने हुन्छ। बिरामीको अवस्था हेरेर ६ महिनादेखि वर्ष दिनसम्म औषधी सेवन गर्नुपर्ने हुन्छ भने यस्ता रोग भएका कुनै बिरामीले जीवनभर नै औषधी सेवन गर्नुपर्ने हुन्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.