|

  • रमेश रावत-

अछामः जीवनको उर्वर समयका १९ वर्ष भारतमा १९ रोजगारी गरेर फर्किएका अछामका गुमानसिंह बटाला अहिले जिल्ला सदरमुकाममा व्यावसायिक रूपमा च्याउ खेती गरिरहेका छन्। 

लामो समय भारतमा काम गरे पनि आर्थिक रूपमा सोचेजस्तो उपलब्धि नभएपछि आफ्नै गाउँमा केही काम गर्ने उद्देश्यले तीन वर्षअघि उनी स्वदेश फर्किए। नेपाल फर्किएसँगै बटालाले विभिन्न तालिमहरू लिएपछि च्याउ खेती सुरु गरेका हुन्। 

मंगलसेनमा एउटा कोठा भाडामा लिएर व्यवसाय गरिरहेका बटालाले अहिले एक सिजन (२ महिना)मा चार लाख रुपैयाँ आम्दानी हुने गरेको बताए। जिल्ला कृषि विकास कार्यालयको सहयोगमा २०७१ सालमा तालिम लिएका बटाला अछाममा च्याउ उत्पादन गर्ने एक मात्र व्यवसायी हुन्। च्याउ व्यवसायीको ७ नम्बर प्रदेश संयोजकसमेत रहेका बटालाले अहिले छ जना युवालाई रोजगारीसमेत दिएका छन्।

एउटै कोठामा ठूलो मात्रामा उत्पादन
अछाम सदरमुकाम मंगलसेनको एक घरको एउटै कोठामा ३०५ गोलामा च्याउ खेती गरिएको छ। उक्त गोलाका लागि दुई ट्रली परालमा ३०० किलो बिउ राखिएको छ। कोठाभित्र एकमाथि अर्को गरेर गोलाहरू भmुण्ड्याइएका छन्। 

प्लास्टिकले बेरिएका गोलाहरू कोठाभित्र टाँग्नका लागि बाँसलगायतका खम्बाहरूको प्रयोग गरिएको छ। करिब १५ वर्ग फिटको उक्त कोठामा च्याउ खेती गरिएको छ।

लगानीको ३ भाग आम्दानी
बटालाका अनुसार पराल, बिउ, कर्मचारी, घर भाडा, बजारीकरणलगायत एक सिजनमा अढाई लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म लगानी हुन्छ। उक्त लगानीबाट करिब दुई हजार ४०० किलो च्याउ उत्पादन हुने र उक्त च्याउ प्रति किलो ३०० रुपैयाँका दरले बिक्री हुने बटाला बताउँछन्। यसबाट आठ लाख रुपैयाँ बढी रकम आउँछ।

एक सिजनमा काम गर्ने छ जना कर्मचारीलाई १६ हजार रुपैयाँ प्रतिव्यक्तिका दरले ९६ हजार रुपैयाँ, दुई ट्रली परालको ढुवानीसहित २० हजार रुपैयाँ, बिउ ८० हजार रुपैयाँ, घर तथा जग्गा भाडा १८ हजार रुपैयाँ र बजारीकरणलगायतका क्षेत्रमा लगानी हुने बटालाले बताए।

व्यवसायी बटालाले बताएअनुसार अन्य जातको च्याउ बिउ राखेको २१ दिनमा ढुसी निस्किन्छ। बिउ राखेको ३२ दिनमा बजारमा बिक्री गर्न मिल्ने च्याउ छोटो समयमा नै तयार हुन्छ।

सामान्यतयाः च्याउका लागि ४५ दिनको एक सिजन मानिन्छ।

अछाममा बढ्दो माग
अछाममा सोचेभन्दा बढी माग आउने गरेको बटालाले बताए। जिल्ला सदरमुकाम मंगलसेन, व्यापारिक केन्द्र विनायक बजार, कमलबजार, साँफेबगर, जयगढ बजार, मुजाबगर, तुर्माखादलगायतका बजारमा गरी दैनिक रूपमा च्याउको माग बढ्दो मात्रामा रहेको बताइएको छ। जिल्लाभर दैनिक ६० किलो देखि एक क्विन्टलसम्म च्याउ बिक्री हुने बटाला बताउँछन्।

बटालाका अनुसार जिल्ला सदरमुकाम मंगलसेनमै एक दिनमा २० किलोदेखि ४० किलोसम्म बिक्री हुने गरेको छ।

युवा पुस्तालाई बटालाको सुझाव
पञ्चदेवल विनायक नगरपालिका– ७ पुुल्लेतोला स्थायी ठेगाना भएका ५१ वर्षका बटालाले १६ वर्षको उमेरदेखि भारतमा रोजगारी गरे। भारतमा गरेको कमाइबाट आफ्नो दैनिकी मात्र चलेको उनको भनाइ छ। आफू जस्तै स्वदेशमै केही काम गरी स्वरोजगार बन्न युवा पुस्तालाई उनले आग्रहसमेत गरेका छन्।

च्याउ खेती गर्न इच्छुक युवाहरूलाई आफू सहयोग गर्न तयार रहेको बताएका छन्। आफूले लिएको तालिमबाट सिकेका कुरा सिकाउने बताएका बटाला भन्छन्, ‘अब देश छाडेर बाहिर जानु भन्दा गाउँमै बसेर स्वरोजगार बन्न सकिन्छ।’

अहिले जिल्लाको एकै ठाउँमा मात्र उत्पादन गरे पनि जिल्लाका मुख्य व्यापारिक केन्द्रहरूमा च्याउ खेती गरी सफल व्यवसायीको रूपमा चिनिने बटालाको उद्देश्य छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.