|

पाँचथर : जिल्लामा सञ्चालित नवौं फाल्गुनन्द गोल्ड कपको उपाधि सुनसरी–११ ले जितेको छ। मोरङ–११ लाई २–० गोलले पराजित गर्दै सुनसरीले उपाधि जितेको हो। सुनसरीलाई जिताउन खेलको ६७ औं मिनेटमा तीर्थ बस्नेत र ७५ औं मिनेटमा सुरज सुनुवारले गोल गरे। ६७ औं मिनेटमा निशान लिम्बुले कर्नरबाट प्रहार गरेको बललाई तीर्थ बस्नेतले हेडमार्फत गोल गरे। त्यस्तै ७५ औँ मिनेटमा पुनः सुनसरीका सौजन याख्खाले कर्नरबाट प्रहार गरेको वललाई सुरज सुनुवारले गोल गरे।

खेल अवधिभर दबावमा रहेको मोरङका लागि भुवन बस्नेतले ६५ औँ मिनेटमा प्रहार गरेको बल पोलमा ठोक्किएर बाहिरियो भने बुद्धिमान राईले फ्रि किकमार्फत प्रहार गरेको बल भने सुनसरीका गोलरक्षक विवश चौधरीले उत्कृष्ट बचाउ गरे। बिजेता सुनसरीले ३ लाख रुपैयाँ र उपविजेता मोरङले नगद २ लाख रुपैयाँसँगै मेडल, ट्रफी र प्रमाणपत्र पाए। गोल्डकपमा उत्कृष्ट खेलाडी सुनसरीका हेमन्त थापामगर घोषित भए। उनले नगद ३५ हजार रुपैयाँ पाए।

सर्वाधिक गोलकर्ता पनि सुनसरीकै तीर्थ बस्नेत भए। उनले गोल्डकपमा कुल ५ गोल गरेका थिए। उनले १५ हजार रुपैयाँ पाए भने उदीयमान खेलाडी घोषित फिदिम स्पोर्टिङ क्लबका आकाश रानामगरले १० हजार रुपैयाँ पाए। उत्कृष्ट गोलरक्षक सुनसरीकै विवश चौधरी भए भने उत्कृष्ट डिफेन्डर मोरङका सुरेन्द्र खवास र उत्कृष्ट मिड फिल्डर मोरङकै बुद्धिमान राई भए। उत्कृष्ट प्रशिक्षक भने श्याम मानन्धर भए। उनीहरुले क्रमशः नगद १० हजार रुपैयाँ पाए। फिदिम स्पोर्टिङ क्लबका महासचिव पासाङ तामाङले प्रोत्साहन स्वरुप खेलाडी र प्रशिक्षकलाई नगदले सम्मान गरेको बताए।

गोल्डकपमा दुई विभागीय टिमहरु त्रिभुवन आर्मी, एपीएफ, आयोजक फिदिम स्पोर्टिङ क्लब, बिर्ता युनाइटेड क्लब झापा, मिसन युनाइटेड क्लब ताप्लेजुङ, युएफसी दार्जिलिङ भारत, डिभाइन ब्वाइज युनियन क्लब काठमाडौं र अग्नि रुपन्देही–११ ले पनि सहभागिता जनाएका थिए। गोल्डकप प्रत्येक वर्ष किरात धर्मका महागुरु तथा १६ औँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको स्मृतिमा फिदिम स्पोर्टिङ क्लवले आयोजना गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.