|

पुरानो र नयाँ नेपाली वर्णविन्यासका पक्षधरबीचको विवाद चुलीमा पुगेको छ । भाषाका प्रयोगकर्ता अन्योलमा छन् । स्कुले शिक्षक र विद्यार्थी हैरानीमा छन् । सरकारको निर्देशन मान्नुपर्ने वाध्यता बोकेका, तर हृदयको निर्देशन अन्यत्रै भएकाहरू पीडित छन् । भाषाका वास्तविक स्वभाव बुझेका भाषाविद्हरू रमिता हेरिरहेका छन् । नयाँ वर्णविन्यासका पक्षधरहरू आफ्नै कदमको औचित्य पुष्टी गर्न लागिपरेका छन्, तर उनीहरूको दाल गलिरहेको देखिँदैन । आमसञ्चारका माध्यमहरूमा उनीहरू कमजोर बहसकर्ताका रूपमा देखापरिरहेका छन् । भाषाका अधिकांश प्रयोगकर्ता पुरानै वर्णविन्यासमा अभ्यस्त छन् र त्यसैको पक्षमा उभिएका छन् । नयाँ वर्णविन्यासअनुसारका केही काम, प्रकल्प वा शब्दकोश निर्माणको ठेक्का पाएकाहरू त्यसैको पक्षमा बोलिरहेका छन् । आमपाठक भने यस प्रहसनका रमिते बन्न बाध्य छन् । म पुरानै वर्णविन्यासको पक्षमा आफ्नो अभिमत दिन यस आलेखमा उपस्थित भएको छु । प्रस्तावित नयाँ नेपालीको औचित्य नदेखेको पनि मेरो अभिमत हो ।

भाषा स्वभावतः परिवर्तनशील हुन्छ । भाषा आजको स्वरूपसम्म आउँदा धेरै ठाउँ परिवर्तित र संशोधित हुँदै आएको हो । वाङ्मयमा समयअनुसार नयाँ शब्दहरूले प्रवेश पाउँछन् र केही चलनचल्तीका शब्द विस्तारै अमानक अथवा लोप पनि भएर जान्छन् । कतिपय अवस्थामा सांस्कृतिक आदानप्रदानका कारण नयाँ शब्दहरूलाई पनि वाङ्मयले अङ्गीकार गर्दछ अथवा निर्यात पनि गर्दछ । तर यो समाज र संस्कृतिको साझा आवश्यकताले गर्दछ अथवा भाषा प्रयोगकर्ताको एक सामूहिक अवचेतनाको तहबाटै हुने हो, कुनै बैठक बसेर र संगोष्ठी गरेर हुने होइन । यो साझा सांस्कृतिक अभ्यास हो, कुनै गुट वा दलको अहंको कुरो होइन ।

भाषा परिवर्तनको आफ्नै सिद्धान्त वा परिपाटी हुन्छ । त्यसलाई समय, समाज र प्रयोगकर्ताले निम्त्याउँछन्, सदर गर्छन् बदर गर्छन् । प्रयोगकर्ताको सङ्ख्या बढाउन नसकेका भाषाहरू विकासको एक चरणसम्म आएर गतिकुण्ठित हुन पुग्छन्, जसका कारण केही शताब्दीको अन्तरालमा पनि त्यस्ता भाषाको प्रयोगात्मक स्वरूप उस्तै लाग्न सक्छ । यस्ता भषामा संस्कृत, ग्रिक वा लेटिन भाषाहरू आउँछन् । यी भाषाका प्रयोगकर्ता समयसँगै घट्दै गएको यथार्थलाई नकार्न सकिन्न । पछिल्लो समयमा फिनिस र आइसलेन्डिस भाषा पनि एकदमै कम परिवर्तन देखाएका भाषामा गनिएका छन् र फिन्लेण्ड र आइसलेण्डको समाजको देशबाहिरको समाजका वहुसङ्ख्यक भाषा प्रयोगकर्तासँगको घर्षण न्यून भएका कारणले यसो भएको हो भन्ने मत पनि प्रकट गरिएको छ ।

यथेष्ठ मात्रामा प्रयोगकर्ता रहेका भाषा र दिनदिन विस्तारित हुँदै गएका भाषाको स्वभाव, शब्दभण्डार र व्याकरणमा केही महत्त्वपूर्ण कारणले गर्दा मात्रै परिवर्तन आउने गर्छ । भाषाशास्त्री रेमन हिक्की भन्छन्, 'भाषाको परिवर्तन भनेको "इपिफेनोमेनन" अर्थात, आफैँ हुने प्रक्रिाया हो, तर कुनै नियोजित कार्य होइन ।' उनी लेख्छन्, 'यस्तो परिवर्तन प्रयोगकर्ताको इच्छाअनुसार हुने पनि होइन ।' विश्वप्रसिद्ध भाषाशास्त्री विलियम लोबोभ भन्छन्, 'भाषामा परिवर्तन आउने भनेको असामयिक र हचुवा हिसाबले हो र यसलाई उँधोबाट आएको परिवर्तन भन्न सकिन्छ ।' उनको आशय हो, परिवर्तन एक गैरप्राज्ञिक स्तरबाट आउने प्रकृतिक स्वभाव हो भाषाको, र भाषा-विमर्शमा तल्लो तहमा रहने आमप्रगोगकर्ता यसका कारक हुन् । अर्थको तहमा ल्याइने परिवर्तन चाहिँ, कहिलेकाहिँ सचेत मस्तिष्कबाट निस्रित हुन सक्छ भन्ने मत अर्का भाषाविद् इलिजाबेथ ट्रगेटको छ । तर हाल नेपाली भाषामा देखिएको विवाद अर्थको तहमा भन्दा पनि हिज्जेको तहमा बढी हो, जसको कुनै तुक छैन भन्ने कुरा स्थापित सिद्धान्तहरूले बताउने हुन् ।

भाषाशास्त्रीहरूको मत छ, लेख्य भाषा निकै क्लिष्ट तथा अरू भाषाको तुलनामा केही अनौठो प्रकृतिको भए पनि यसको प्रयोग सचेत र सानो समूहमा हुने भए त्यो भाषा खासै परिवर्तित् हुँदैन । आइसलेन्डिज र संस्कृत आज पनि प्रयोगमा रहेका भाषा हुन्, तर हरेक प्रयोगकर्ता यी भाषाको प्रकृतिप्रति सचेत भएर बोल्ने गर्दछ । तर अङ्ग्रेजी वा नेपाली भाषाका प्रयोगकर्ताको सङ्ख्या दिनानुदिन बढ्दै गएको देखिएको छ र प्रत्येक प्रयोगकर्ताले यी भाषालाई भाषावैज्ञानिक विशिष्टता र नियमको आँकलन गरेर प्रयोग गरिरहेको भने होइन । यस्ता भाषाहरूका संयुक्त व्यञ्जन क्रमशः हट्दै जाने र शब्दले सरलीकृत तथा लोकभाष्यको निकट रहने गरी परिवर्तनलाई अङ्गीकार गर्ने वैश्विक स्वभाव देखिएको हो । हिकीको बुझाइ छ, 'भाषिक परिवर्तनका आन्तरिक र वाहृय कारण हुन्छन् । आन्तरिक परिवर्तन एकरूपता र पूर्वानुमेयताका लागि गरिन्छ भने वाह्य परिवर्तन प्रयोगकर्ताको सामूहिक अवचेतनले सरलताको पक्षमा गर्ने हो ।' उच्चारणका वा ध्वनिका कारण निम्तिने परिवर्तनबारे भाषाशास्त्री जोन ओहाला भन्छन्, उच्चारणमा आउने परिवर्तन भनेको त्यस ध्वनिको एउटा संयुक्त वातावरणको कारण हो र त्यस्ता परिवर्तनले लेख्य भाषाको स्वरुपमा तात्त्विक परिवर्तन ल्याउँदैनन् । तर नेपाली भाषाका अहिलेको परिवर्तनका पक्षधरहरू यही ध्वनिको विषयलाई उछालिरहेका छन् । भाषाका वहुसङ्ख्यक प्रयोगकर्तालाई आफूले प्रयोग गरेको शब्दको मूल थाहा हुन्न र हुनु जरुरी पनि छैन । नेपाली भाषाकै हकमा कुरा गर्दा आमपाठकलाई कुन तत्सम, कुन तद्भवसँग मतलब छैन । पिँढीमा बग्दै आएको बाग्धारा उनीहरूको भाषा हो । त्यसको शास्त्रीय पक्ष भाषाशास्त्रीको कुरा होला ।

कुनै पनि भाषाको परिवर्तन मनोविनोदका लागि हुँदैन । आन्तरिक विरोधाभास, श्लेष, क्लिष्टता र अपवादलाई सामान्यीकरण र सरलीकरण गर्नका लागि भाषाले परिवर्तनलाई अङ्गीकार गर्दछ, र यस परिवर्तनका लागि आवश्यक बल भनेको प्रयोगकर्ताको अनायास विद्रोहबाट हुन जान्छ । यसमा भाषाशास्त्रीहरूको कुनै पनि भूमिका हुँदैन । निर्देशन पनि हुँदैन । भाषाशास्त्रीहरूको काम भनेको भाषामा हुने परिवर्तनलाई संश्लेषण गर्ने, विश्लेषण गर्ने र सैद्धान्तीकरण गर्ने मात्र हो । व्याकरण वाङ्मयले बनाउँछ, भाषाशास्त्रीहरूको संगोष्ठीले होइन ।

नेपाली भाषामा अहिले देखिएको परिवर्तनको खेल भाषा परिवर्तनको सामान्य सिद्धान्तलाई पनि नबुझिएको भन्ने कुराको प्रमाण हो । दोस्रो, डाँडा, काँडा, पाखा, पखेरा र प्रकृतिका नैर्सर्गिक ध्वनिबाट निस्रित नेपाली भाषाको अन्तर्ध्वनि कुनै शास्त्रीय अङ्कुशभन्दा निकै माथि र पृथक छ भन्ने कुराको न्यूनतम बोध पनि नभएको हो । संस्कृत मूलबाटै विकसित नेपाली भाषाको मौलिक पक्ष भनेकै यस लोकभाष्यबाट उठेको, त्यस प्रकृतिक मुर्च्छनासँगको निकटता हो, जसलाई परिवर्तन वा परिमार्जन गर्ने अधिकार यसको सैकडौँ प्रयोगकर्ताको सामूहिक अवचेतनलाई छ, तर प्रयोगकर्ता त्यसो गर्दैनन् । परिवर्तनलाई बाटो दिनुपर्छ, त्यो सुस्तरी आउँछ । आउन दिनु पनि पर्छ । तर, भाषामाथि आफूअनुकुलको परिवर्तन लाद्न खोज्नु भाषा परिवर्तनको न्यूनतम नैर्सर्गिक स्वभाव पनि नबुझ्नु हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • अहिलेकाे भाषाविवाद नेपाली भाषा सजिलाे बनाउने नाममा सिर्जित याैटा नाटकीय कल्पनाकाे कथाकाे मञ्चन हाे तर यसका पर्दापछाडि मातृघातक सुनियाेजित षड्यन्त्र लुकेकाे प्रस्टै छ । सनातन वैदिक धर्म संस्कृति समाप्त पार्ने शिक्षामा नैतिकता र पुरातन वाङ्मयले साँचेका मर्यादाका मूल्यहरुलाई समूल उच्छेदन गर्ने शान्त नेपालमा जतीय र धार्मिक द्वन्द्व सिर्जित गरी सम्पूर्ण सद्भाव नष्ट गर्ने र इसाइ धर्मलाई स्थापित गर्ने मूल उद्देश्यका साथ सुदूर अतीतबाट थालिएका षड्यन्त्रहरुकाे एक कडी अहिलेकाे भाषाविवाद हाे भन्ने मेराे ठम्याइ छ । वसन्कुमार शर्मा नेपालले अनाैपचारिक रुपमा भन्नुभएकाे भनी एक मित्रले मलाई सुनाए अनुसार यी विवादका सर्जकहरु बातले मान्ने भूत हाेइनन् लातका अधिकारी हुन् । टी भीका क्यामेरा र पत्रकारका अघिल्तिर त्याे कार्य सम्पन्न नगरेसम्म तिनका पछाडि लुकेर डलरका बाण चलाउनेहरु शान्त हुने देखिँदैन । मेरा मित्र महेश पाैड्यालकाे याे अालेख त्यही दिशातर्फकाे एक बाैद्धिक चपेटा हाे भन्ने ठान्दछु । विना पेनाल्टी यिनले चत्नेवाला छैनन् सबैलाई चेतना हाेस् बेलैमा ।