|

रौतहट : बढ्दो चिसो र शीतलहरका कारण रौतहटमा एक जनाको मृत्यु भएको छ। जिल्लाको गढीमाई नगरपालिका वडा नं. ४ सुन्दरपुर बस्ने ५६ वर्षीय महर्जन ठाकुर हजामको चिसोको कारण कठ्याङग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। उपचारका लागि गरुडास्थित अनामिका अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएकोे प्रहरीले जनाएको छ।

जिल्लाका सामुदायिक विद्यालयहरु पनि ५ दिनका लागि बन्द भएका छन्। शीतलहर चलेपछि विद्यार्थी विद्यालय आउन नसक्ने भएकाले जिल्लाभरका सामुदायिक विद्यालय ५ दिनका लागि बन्द गरिएको जिल्ला शिक्षा अधिकारी रामविनय सिंहले जानकारी दिए। पुस १७ गते सोमबारदेखि २१ गते शुक्रबारसम्मका लागि सबै सामुदायिक विद्यालयमा बिदा दिइएको उनको भनाइ छ। रौतहटमा ३५१ सामुदायिक र ४२ निजी विद्यालय सञ्चालनमा छन्।

चिसोका कारण सदरमुकाम गौरमा रहेका सरकारी कार्यालयमा आउने सेवाग्राहीहरुको संख्या न्यून छ। बिहान र बेलुकाको समयमा हावा चल्ने र बाक्लो हुस्सु लाग्ने गरेकोले जनजीवन प्रभावित बन्दै गएको छ। चिसोले न्यानो कपडाको व्यापार बढाएको छ भने कलकारखÞाना, उद्योग, सरकारी कार्यालयको कामकाज, यातायात सेवामा नकारात्मक प्रभाव परेको छ। वृद्धवृद्धा, बालबालिका, अपाङ्गता भएका र आर्थिक अवस्था कमजोर भएकाहरु बढी प्रभावित बनेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.